+
+

बढ्दो तापक्रमको प्रभाव डडेलधुरामा पनि, किसानलाई चुनौती

भावना पौडेल भावना पौडेल
२०७९ असोज ३१ गते १९:३४

३१ असोज, डडेलधुरा ।  ‘पहिले–पहिले चिसो छल्न तराइका बासिन्दा पहाड उक्लन्थे । तर अहिले भने त्यसो देख्न पाइँदैन । बरु पहाडकै बासिन्दा बस्नका लागि उपयुक्त हुन्छ भन्दै तराइ झर्न थालेका छन् ।

उ बेलाको तराइको र अहिलेको डडेलधुराको हावावानी खासै फरक नभएको अनुभव छ डडेलधुराको अमरगढी नगरपालिका –५ का ८१  वर्षीया भुवनेश्वरी साउदको । ‘यहि हुर्केर यहि पढेलेखेको, यहाँको चिसो पचाउने शक्ति पनि हामीसँग छ, तर अहिले भने गर्मीले पंखा चलाउनु पर्ने अवस्था आयो ।’

सुन्दर अनि रमणीय डडेलधुराको सुन्दरता पनि हावापानीमा पछिल्लो केहि वर्षयता निकै नै फरक पाएको बताउने उनी हावापानीमा फेरबदल पाउँदा चिन्तित छिन् ।

‘पहिले यहाँ वर्षै पिच्छे हिउँ पर्ने गर्थ्यो र पानी पर्दा पानीसमेत छोइ नसक्नु हुन्थ्यो । तर अहिले भने गर्मी बढ्दै गएको छ’, उनी भन्छिन्, ‘पानी पर्दा र हिउँ पर्दा आफ्नो बालबच्चालाई कसरी बचाउने भन्ने चिन्ता त्यो बेला हुन्थ्यो तर अहिले भने त्यो अवस्था रहेन ।’

डडेलधुराकै अमरगढी नगरपालिका–४ का ६५ वर्षीया हरिकला सुनार पनि डडेलधुराको मौसममा निकै फरक पाएको बताउँछिन् । ५/६ वर्षको तुलनामा केहि वर्ष यता यहाँको मौसम बिस्तारै तातो हुन थालेको उनको अनुभव छ ।

अहिले पानी पर्दा पनि खासै जाडो नहुने र पुस, मंसिरको महिनामा समेत पहिलेको तुलनामा जाडो घट्दै गएको उनी बताउँछिन् । ‘पहिले यहाँ बस्ती पनि निकै पातलो थियो, घरहरु थोरै थिए तर अहिले घरहरु थपिए, मानिसको संख्या पनि बढ्दै गयो गर्मी धेरै हुन थालेको छ ।’

किसानलाई समेत तापक्रमले निम्तायो चुनौती

बढ्दै गएको तापक्रमले गर्दा डडेलधुराका किसानलेसमेत चुनौती खेप्नु परेको छ । कृषि पेशालाई नै अंगालेर बसेका यहाँका किसान पानी नपर्दा समस्यामा पर्ने गरेका गन्यापधुरा गाउँपालिका–१ क दत्तराज अवस्थीले बताए ।

पानीको सतह कम भएको र खेतसम्म नपुगेका कारण पाइपबाट खेतमा पानी सिंचाइ गर्दा घण्टौं समय लाग्दा किसानहरूले समस्या झेल्नु परेको थियो ।

डडेलधुराका केही ठाउँका किसानहरूले आकाशेपानीको भरमा धान रोपाइँ गर्ने गरेका छन् ।

तर, पछिल्ला वर्षमा समयमा पानी पर्दा किसानले रोपाइँ गर्न समस्या भोग्ने गरेका छन् ।  साउनमा रोपेको धान पनि पानी नपरेपछि सुक्ने गरेको किसानको गुनासो छ ।

कृषिज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टका अनुसार डडेलधुरामा ६ हजार हेक्टर क्षेत्रमा धानखेती हुने गरेको छ ।

किन बढेको छ तापक्रम ?

तापक्रम डडेलधुरामा मात्र होइन, विश्वभरमै बढ्दो छ । वन बिनाश, फोहरमैला, बढ्दो शहरीकरण, पक्की घरहरु निर्माण हुनु र जथाभावी डोजर चलाउनु जस्ता कारणले गर्दा विश्वकै तापक्रम बढिरहेको र त्यसको असर डडेलधुरामा पनि परेको जल तथा मौसम विज्ञान कार्यालय डडेलधुराले जनाएको छ ।

जल तथा मौसम विज्ञान कार्यालय डडेलधुराका प्रमुख श्याम सुनारका अनुसार ५ वर्षको डडेलधुराको मौसम सम्बन्धी तथ्याङ्क हेर्ने हो भने पाँच वर्ष पहिले र अहिले मौसममा निकै फेरबदल भएकोछ । सन् २०१७ को मे महिनामा अधिकतम तापक्रम २९.० डिग्री सेल्सियस र जनवरीमा न्युनतम –०.३ डिग्री सेल्सियस रहेको छ । वर्षा भने जुलाईमा सबैभन्दा बढी ६४७ मिलिमिटर भएको छ ।

सन् २०१८ को जुनमा सबैभन्दा धेरै ३०.५ अधिकतम तापक्रम थियो भने जनवरीमा सबै भन्दा कम –०.१ न्युनतम तापक्रम थियो । २०१८ को अगस्टमा सबैभन्दा बढी ४२७.९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय डडेलधुराको तथ्याङ्मा छ।

सन् २०१९ को मे महिनामा ३१.२ अधिकतम तापक्रम थियो भने जनवरीमा –०.७ न्युनतम तापक्रम थियो र सेप्टेम्वर महिनामा सबैभन्दा बढी २५६.९ मिलिमिटर वर्षा भएको छ ।

सन २०२० को मेमा पनि डडेलधुरा जिल्लामा सबैभन्दा बढी ३१.२ अधिकतम तापक्रम थियो । न्युनतम तापक्रम जनवरीमा –१.५ मिलिमिटर भएको थियो भने वर्षा सबैभन्दा बढी जुलाईमा ४२९.७ मिलिमिटर भएको थियो ।

सन २०२१ को तथ्याङ्क हेर्ने हो भने सेप्टेम्बरमा सबैभन्दा बढी २८.५ अधिकतम तापक्रम थियो। न्युनतम तापक्रम जनवरीमा १.९ थियो । सन २०२१ कै अक्टुवरमा सबैभन्दा बढी वर्षा ४२०.१ मिलीमिटर भएको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२२ को जुलाईसम्मको तथ्याङ्कहेर्दा जुनमा ३२.० अधिकतम तापक्रम थियो भने फेब्रुअरी महिनामा –०.९ न्युनतम तापक्रम थियो । वर्षा भने जुलाईमा २२५.८ मिलीमिटर भएको जल तथा मौसम विज्ञान कार्यालय डडेलधुराको तथ्याङ्मा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?