+
+

विप्लवको एक गुमनाम महाधिवेशन

रामकुमार डिसी रामकुमार डिसी
२०७९ कात्तिक १ गते ९:०८

१ कात्तिक, काठमाडौं । दलहरुलाई चुनावले छपक्कै छोपिरहेका बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भने महाधिवेशनमा होमियो । कपिलवस्तुको शिवगढी (विप्लवको गृह)मा २५ गते उदघाटन भएको महाधिवेशन सोमबार सकियो । नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा विप्लवले ‘ड्रोन’मार्फत ब्यानर उडाएर महाधिवेशनको उदघाटन गरेका थिए ।

तर, चुनावी माहोलका बीचमा भएको महाधिवेशन खासै चर्चामा आएन । आम सञ्चार माध्यममा पनि खासै ‘स्पेस’ पाएको देखिएन । लगभग छायामा परेको महाधिवेशन हलले विप्लवको राजनीतिक प्रतिवेदन पारित गरेको छ । टुटफुट र विभाजनको शृंखलामा जेलिदै आएको विप्लवको पार्टीले आगामी कार्यदिशा कस्तो तय गर्ला भन्ने सामान्य चासो भएको भए पनि त्यसमा समेत आकर्षित गर्न सकेको देखिएन ।

तर, ६८ महिनाअघि काठमाडौंको खुल्ला मञ्चमा भएको यो पार्टीको आठौं महाधिवेशनले चर्चा पाएको थियो । २०७३ साल फागुन १ मा आयोजित महाधिवेशनले विप्लवले अघि सारेको ‘एकीकृत जनक्रान्ति’को कार्यदिशालाई अनुमोदन गरेको थियो, जसबाट धेरैको चासो उनीप्रति बढेको थियो ।

यसपटकको महाधिवेशनको भने चर्चा भएन । किन होला ? यो प्रश्नमा विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कार्यालय सचिव समेत रहेका केन्द्रीय सदस्य असल क्षेत्रीले यसमा मिडियालाई दोष लगाए । ‘बिग मिडियाहरु काठमाडौंका मात्रै मिडिया भए,’ क्षेत्रीले भने, ‘गाउँसम्म पुग्ने मिडिया भएनन् । बरु यसमा मिडियाको कमजोरी भन्नुपर्यो । मिडिया त तल जनतासम्म गाउँसम्म पुग्नुपर्यो नि ।’ उनले आफूहरु काठमाडौं आएर महाधिवेशन निर्णयको प्रचार गर्ने बताए ।

उसो त विप्लवले नवौं महाधिवेशन काठमाडौंमै गर्ने घोषणा गरेका थिए । तर, अन्तिम समयमा आएर समय र स्थान समेत परिवर्तन गरिएको थियो । असोज १ गते खुलामञ्चमा गर्ने भनिएको महाधिवेशन सारेर कपिलवस्तु पुर्याउनुको स्पष्ट जवाफ पनि नेताहरुले दिएका छैनन् ।

घट्दो शक्ति

२०६९ मा तत्कालीन एकीकृत माओवादीभित्र ठूलो विभाजन भयो । मोहन वैद्य, रामबहादुर थापा ‘बादल’, देव गुरुङ, पम्झा भुसाल, खड्कबहादुर विश्वकर्मा, हितमान शाक्य लगायतका प्रभावशाली नेताहरुले माओवादीबाट बाहिरिएर नेकपा–माओवादी गठन गरेका थिए, जसमा मुख्य भूमिका विप्लवको थियो । वैद्यलाई अध्यक्ष र बादललाई महासचिव बनाएर आफू सचिवमा बसे ।

महत्वाकांक्षी स्वभावका विप्लवले एक वर्ष पुग्दानपुग्दै २०७० मंसिरमा वैद्यको नेतृत्व क्षमतामाथि प्रश्न उठाएर उक्त पार्टी विभाजन गराए । वैद्यलाई उनले प्रायः कम्युनिष्टहरुले प्रयोग गर्ने शास्त्रीय शब्दावली प्रयोग गर्दै जडसूत्रवादी र संकिर्ण भएको आरोप लगाएका थिए । कपिलवस्तुमा पनि विप्लवले त्यसलाई दोहोर्याए । ‘किरण कमरेडलाई नेतृत्व बनाएर हामीले नेपालमा एउटा नयाँ  क्रान्ति संगठित गर्ने चाहना राखेका थियौं,’ उनको भनाइ थियो, ‘किरणको नेतृत्वमा विद्रोह हुँदा माओवादी पक्तिको ठूलो हिस्सा क्रान्तिको पक्षमा गोलबन्द थियो । त्यसको नेतृत्व ठिक समयमा ठिक ढंगले हुन नसक्दाखेरी कयौं चिजहरु यता र उता हुने स्थिति भयो ।’

नेत्रविक्रम चन्द (विप्लव)

वैद्यले नसकेकाले नै आफूले फेरि विद्रोह गर्नुपरेको दावी विप्लवको थियो । ‘नेपालको क्रान्तिलाई अगाडि लिएर जाने चाहना थियो,’ उनले भने, ‘त्यसो गरेको भए हामी आज अर्कै ठाउँमा हुन्थ्यौं । तर, त्यो सम्भव बनेन । त्यो नबनेपछि हामीले अर्को विद्रोह गर्नुपर्यो ।’

वैद्यमाथि क्रान्ति  गर्न नसकेको आरोप लगाएका विप्लवले २०७१ मा दाङको तुलसीपुरमा (२०७१ पुस २३–२६) मा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले ‘एकीकृत जनक्रान्तिको कार्यदिशा’ अघि सारेका थिए । वैद्यभन्दा क्रान्तिकारी देखिन उनीमाथि दबाव थियो । उनले काठमाडौंमा भएको आठौं महाधिवेशनबाट पनि त्यसलाई अनुमोदन गराए । उनको त्यो कार्यदिशाको सार ‘किसान, मजदुर, मध्यमवर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई एकीकृत ढंगले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने’ थियो ।

त्यो कार्यदिशालाई कार्यान्वयन गर्ने भन्दै पार्टीलाई भूमिगत गराएर हिंसात्मक गतिविधि संचालन गरे । अख्तियार प्रमुख लोकमान सिंह कार्कीदेखि एनसेल टावर निशानामा परे । हिंसात्मक घटना बढाउँदै लगेपछि २८ फागुन २०७५ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगायो ।

त्यस क्रममा उनको पार्टीका केन्द्रीय नेतासहित १३ जनाकोे मृत्यु भयो । सरकारले सयौंलाई पक्राउ गर्यो उनको पार्टीमा उनीपछिका नेता खड्कबहादुर विक नै प्रक्राउ परे । सरकारको कडिकडाउबाट रक्षात्मक स्थितिमा पुगेका विप्लवले २० फागुन २०७७ मा ओली सरकारसँगै तीन बुँदे सहमति गरेर शान्तिपूर्ण गतिविधि गर्ने प्रतिवद्धता जनाए ।

विप्लवले अघि सारेको कार्यदिशा अनुसार उल्टै क्षति भएपछि उनको पार्टीभित्र अन्तरविरोध बढ्दै गयो । गत वैशाखमा भएको स्थानीय तहको चुनावमा भाग लिने निर्णय गरेपछि भने त्यो उत्कर्षमा पुग्यो । नेता धर्मेन्द्र बास्तोलाले विप्लवमाथि कारवाही गर्र्दै २३ बैशाखमा नेकपा (बहुमत) गठन गरे ।

कपिलवस्तुको शिवगढीमा गुमनाम रुपमा सम्पन्न महाधिवेशनका निर्णय भने काठमाडौं पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने केन्द्रीय कार्यालयका सचिव असल क्षेत्रीले बताए ।

उनको पार्टीले विप्लवले अघि सारेको कार्यदिशालाई खारेज गरिदियो । त्यस्तै विप्लवले प्राथमिकता दिएर उठाइरहेको वैज्ञानिक समाजवादका लागि जनमत संग्रहको नारालाई पनि त्याग्ने निर्णय बास्तोलाको पार्टीले गर्यो । यसबाट विप्लव झन् कमजोर भए ।

बास्तोला समूहले बहुमत केन्द्रीय सदस्यहरु आफूहरुतिर आएको दाबी गरेको छ । हाल नेकपा बहुमतमा रहेका नेता गुणराज लोहनीका अनुसार अठौं महाधिवेशनबाट चुनिएका ६० जना केन्द्रीय सदस्यमध्ये हाल विप्लवको पार्टीमा २८ जना मात्रै छन् । ६० मध्ये ३ जनाको मृत्यु भएको र बाँकी सबैले विप्लवको साथ छाडेकाले उनी अल्पमतमा रहेको दाबी लोहनीको छ ।

सफल भएको विप्लवको दाबी

यी सबै कारणबाट रक्षात्मक बन्दै गएका विप्लवले भने आफू सबैतिर सफल भएको दाबी गरेका छन् । ‘हामीले भ्रष्टाचारीहरुलाई सुत्न दिएनौं,’ महाधिवेशन हलका कार्यकर्तालाई उत्साहित पार्ने कोसिस गर्दै विप्लवले भनेका छन्, ‘जतिले नेपाल राज्यको ढुकुटी उडाएका थिए, तिनी कसैलाई पनि हामीले शान्तसँग बस्न दिएनौं । वर्ग संघर्ष र राष्ट्रिय संघर्ष एकैचोटी मिसिएको संघर्ष हामीले चलायौं ।’

उनले आफूले अघि सारेको कार्यदिशा पनि सफल भएको दाबी गरेका छन् । ‘हामी नवौं महाधिवेशनबाट सबै मान्छेलाई चुनौती दिएर भन्न सक्छौं–रगतको मुल्य चुकाएर आएका छौं । हामी सामान्य तरिकाले आएका छैनौं । हाम्रो एकीकृत जनक्रान्ति रगतमाथि उभिएको क्रान्ति छ,’ उनको दाबी छ ।

त्यस्तै ओली सरकारसँग गरेको तीन बुँदे सम्झौताको समेत उनले महाधिवेशन स्थलमा बचाउ गरे । ‘तीनबुँदे कुनै आत्मसमर्पण होइन,’ विप्लवको भनाइ छ, ‘तीन बुँदे कुनै कायरताको कुरा होइन । तीन बुँदे एकीकृत जनक्रान्तिको सफलता हो । नेपाली क्रान्तिलाई क्षति पुग्ने गरी कहीँ पनि सहमति गरिएको छैन ।’

‘एकीकृत जनक्रान्तिको विचार’लाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेका विप्लवले महाधिवेशनमार्फत् अबको कार्यदिशा पनि त्यसैलाई बनाएका छन् । उक्त कार्यदिशा कार्यान्वयन गर्न संगठन बनाउने र त्यसै अनुसार परिचालित हुने विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमा लेखेका छन् ।

यसबारे केन्द्रीय सदस्य क्षेत्री भन्छन्, ‘नेपाली क्रान्ति र नेपालको कम्युनिष्ट आन्दोलन एउटा रक्षात्मक अबस्थामा रहेका बेला नेपालको क्रान्तिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामामा संस्लेषण हामी गरेका छौं । एकीकृत जनक्रान्ति नै हाम्रो नवीन कार्यदिशा हो । त्यसलाई अहिले समृद्ध गर्ने काम भएको छ ।’

कपिलवस्तुको शिवगढीमा गुमनाम रुपमा सम्पन्न महाधिवेशनका निर्णय भने काठमाडौं पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने क्षेत्रीले बताए ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?