+
+
विचार :

आखिर राजनीति नाफा–घाटाकै व्यापार रहेछ

राजनीतिक दलका बडे–बडे नेतादेखि स्वतन्त्र भनिएका कयौँ व्यक्तिसम्म यो संसदीय राजनीतिले पैदा गरेको धमिलो पानीमा आफ्नो भागको माछा मार्न लागि परेका छन् ।

नरेश ज्ञवाली नरेश ज्ञवाली
२०७९ कात्तिक १ गते १०:१५

आदर्श राजनीतिको परिकल्पना धुमिल भइसकेको समयमा हामी मंसिरको चुनावका लागि कसलाई मत दिने भनेर सोचिरहेका छौँ । र, धुमिल भइसकेको राजनीतिक परिकल्पनाकै धमिलो पानीमा सबैले आ–आफ्नो च्याँखे थापेर माछा मार्न खोज्दै छन् । राजनीतिक दलका बडे–बडे नेतादेखि स्वतन्त्र भनिएका कयौँ व्यक्तिसम्म यो संसदीय राजनीतिले पैदा गरेको धमिलो पानीमा आफ्नो भागको माछा मार्न लागि परेका छन् ।

कोही धमिलो पानीमै आधा जीवन बिताएर राजनीतिक दलले टिकट नदिएको झोकमा पार्टी परित्याग गरी स्वतन्त्रका नाममा माछा मार्न हामफालेका छन् भने कोही अब राजनीति नगरीनहुने भयो भनेर धमिलो पानीमा विस्तारै मनोनयनमार्फत पाइला चाल्दै आइपुगेका छन् ।

कोही यस्ता पनि छन्, जो नाम, दाम, कामले भरिपूर्ण हुँदाहुँदै पनि ‘इतिहासमा नाम लेखाउन’ राजनीति गर्नैपर्ने रहेछ भनेर आफ्नो अहं तुष्टिका लागि निर्वाचनमा आइपुगेका छन् ।

पत्करभन्दा पनि हलुङ्गो राजनीतिक संस्कार बोकेका त्यस्ता नव-राजनीतिक ठेकेदारहरू कोही व्यापारी छन् त कोही पत्रकार । कोही आईएनजीओकर्मी छन् त कोही पूर्वआईजीपी । तर, ती सबैको एउटै साझा लक्ष्य छ– सांसद बन्ने । शक्तिमा पुग्ने । जनतामाथि शासन गर्ने । सांसद बन्नकै लागि यो हदसम्मको पागलपन बोकी राजनीतिको स्टेडियममा ट्याराथलनको रेस गर्न होमिएका शिकारु खेलाडीहरूलाई पक्कै पनि बालेन-सुनिताको बतासले छोएको हुनुपर्छ ।

तर, जो सचेततापूर्वक लामो समयदेखि राजनीतिमै होमिएका छन्, तिनले यो निर्वाचनका क्रममा कस्तो प्रदर्शन गरिरहेका छन् ? यो आलेख त्यसैमा केन्द्रीत हुनेछ ।

आजका दिनमा अमेरिकादेखि ब्राजिलसम्म र इटालीदेखि सेनेगलसम्म तथा युक्रेन हुँदै भारतसम्म कहीँ अनुदारवादीले शासन सत्ता आफ्नो हातमा लिएका छन् त कहीँ राजनीतिको रंगमञ्चमा हास्यकलाकारहरू देखा परेका छन् । यस्तोमा निर्वाचन एउटा ‘म्युजिकल चेयर’ प्रतियोगिता भन्दा बढी केही पनि हुन सकेको छैन । आउनुस्, हाम्रो देशको प्रतियोगिताका केही उदाहरण हेरौँ ।

कुरा कांग्रेसको

१. पश्चिम नवलपरासीबाट बिनोद चौधरीलाई नेपाली कांग्रेसले टिकट दियो । नेपालको एकमात्र खर्बपतिलाई मनोनयन गरी समानुपातिक सांसद बनाइनु गणतन्त्रको सबैभन्दा कुरूप पक्ष हो । हामीले भोग्दै आएको यो संसदीय व्यवस्थालाई झनै क्रुर र कुरूप बनाउन कांग्रेस यहीँ रोकिन चाहँदैन ।

पैसाको दममा राजनीति, राजनीतिको दममा सार्वजनिक नीति र नीतिको दममा आफ्नो ढुकुटी भर्न लागि परेका धेरै पात्रहरूको नाम लिन सकिन्छ । चितवन–२ मा उमेश श्रेष्ठ, मोरङ–३ मा सुनील शर्मा, संखुवासभामा दीपक खड्का, रसुवामा मोहन आचार्य, रामेछापमा कान्छाराम तामाङ र गोरखा–१ मा राजेन्द्र बजगाईं त केही प्रतिनिधि उम्मेदवार मात्र हुन् । यी सबै पात्रहरू चौधरीका अघिल्तिर सबै सामान्य लाग्छन् । चौधरीले निकै कलापूर्ण ढंगले आफ्नो पैसालाई राजनीतिक सत्तामा रूपान्तरण गरेका छन् ।

नरेश ज्ञवाली

उनी ०६४ मा एमालेको तर्फबाट सांसद भए । ०७४ मा कांग्रेस प्रवेश गरे र सांसद भए । चौधरी आजका दिन त्यस्ता मतदाताबीच निर्वाचनको परीक्षामा उभिएका छन्, जो यो व्यवस्थाको मार खप्न नसकेर निराशा र विक्षिप्तताले गर्दा एउटा खुट्टा आत्महत्याको डिलमा र अर्को खुट्टा खाडीको भीसामा टेकेर उभिएका छन् । अर्थात चौधरीका लागि अपवाद बाहेक यो निर्वाचन जिती सकिएको कर्मकाण्ड हो– पैसाको दममा ।

पैसाको बलमा सांसद पद हासिल गर्नु र पैसा नहुने त्यागी र योग्यहरू किनारीकृत हुनु बिडम्बनापूर्ण अवस्था हो । तर, व्यवहारमा यसैको निरन्तरता भइरहेको छ । कानुन र न्यायलाई आफू अनुकूल भोगचलन भइरहेको छ । यस्तो अभ्यासलाई थप कुरूप बनाउन दिलैदेखि काम भइरहेको छ ।

२. चौधरीको कुरा मेट्न नपाउँदै नाम आइपुग्छ– मिनेन्द्र रिजालको । रिजाल जति प्रष्ट ढंगले अंग्रेजी बोल्न र ‘ट्रिकल डाउन थ्योरी’ बारे व्याख्या दिन सक्छन् त्यति नै प्रष्ट ढंगले देउवाको आलोचनामा बोल्न सक्दैनन् । तर, मिडिया रिपोर्टहरू हेर्दा एउटा कुरा स्पष्ट हुन्छ– उनले पार्टी सभापति र आफ्ना पार्टीका मुल ठेकेदारको चित्त पक्कै दुखाएको हुनुपर्छ । त्यसैले अपेक्षित चुनावी टिकट तिनले पाएनन् । यहाँ बुझ्नुपर्ने साधारण कुरा के हो भने पार्टीमा चौधरीहरूलाई भित्र्याउन लालायित हुने रिजालहरूले आफ्नो टिकटको बली आज वा भोलि दिनै पर्थ्यो ।

३. सामाजिक भनिएको असामाजिक सञ्जालका भित्ताहरू यतिबेला विरह रागले लतपतिएका छन् । बडो उदात्त भावले ‘स्वर्णिम वाग्ले जित्नुपर्छ’ भन्नेहरू आरजुप्रति खनिएका छन् । जसले विश्वको विश्वव्यापी महिमा पाठ गरिरहेका थिए, उनीहरू नै वाग्लेको ‘अन्तरर्राष्ट्रिय व्यक्तित्व’को परिचर्चा गरिरहेका थिए ।

यस्तोमा देउवाले आफ्नै गुटका विश्व पौडेललाई चितवनका लागि उपयुक्त पात्र ठाने तर दोष आरजुको थाप्लोमा आइलाग्यो । यो त्यस्तै कुरा हो, जस्तो गाउँका रोगीको रोग निदान नहुनुको हप्की–दप्की गाउँकी विधवाले खेप्नुपर्छ ।

कांग्रेसका शुभचिन्तक पत्रकारहरू राम्रो गरी जान्दछन्, वाग्ले र पौडेलबीच कुटिल दाउपेचहरू पहिलेदेखि नै चलिरहन्थ्यो । यो प्रतिस्पर्धाको अन्तर्यमा– को ठूलो बौद्धिक ? भन्ने अहं लुकेको छ । वाग्ले र पौडेलको व्यक्तित्वमा जति भिन्नता छ, त्यति नै उनीहरूको चिन्तन प्रणालीमा समानता छ । दुवै दातृ निकायका रुचाइएका बौद्धिक हुन् ।

जसरी एउटै क्लासमा पढ्ने विद्यार्थीमा शिक्षक र विद्यालयको समान लगानी हुने गर्छ, त्यसैगरी दातृ निकाएका बौद्धिकमाथि उनीहरूको ठूलो लगानी हुने गर्छ । त्यसपछि के त… ? त्यसपछि त्यही हुन्छ, जुन बाबा आद्मको पालादेखि हुँदै आएको छ ।

कुरा एमालेको

१. घनश्याम भूसालले नेकपा (एमाले) परित्याग गरी रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिए । स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकासमेत जिताउन नसकेका भूसाल संघीय निर्वाचनमा आफ्नो जित सुनिश्चिताका लागि नै केही समययता वाम एकता गर्नुपर्ने बताउँदै आएका थिए ।

उनी विद्वान हुन्, इमान्दार हुन्, योग्य हुन् भन्नु एउटा पक्ष हो । तर, यो सँगै महत्वपूर्ण पक्ष के पनि हो भने उनी जस्ता नेता पनि एउटा टिकट पाउने र नपाउने परिस्थितिमा पार्टी त्याग्न तयार हुँदा रहेछन् । यो नै उनको पार्टीप्रतिको इमान्दारिताको जीवित उदाहरण हो ।

केपी ओलीको आलोचनाको जगमा उभिएको उनीसँग मजबुत धरातल हुन्थ्यो भने उनी फेरी पनि त्यही पार्टीमै रहेर त्यसको आलोचना गर्थे । तर, उनले न हिजो आफ्नो विचार समूहको रक्षा गरे न केपी ओलीको आलोचनाको धरातल जोगाउन सके ।

आज उनी माओवादीको काँध चढेर सांसद हुने दौडमा छन्– यही यर्थाथ हो । भूसाललाई थाहा थियो राजनीतिमा सत्ताविहीन हुनुको अर्थ छैन, त्यसैले उनी न माधव नेपालको नयाँ पार्टीतिर लागे न एमालेमै बस्न तयार भए । लाग्छ– उनका लागि एक मात्र सत्य सांसद बन्नु हो ।

२. अष्टलक्ष्मी शाक्यले निर्वाचनको टिकट पाउँदासमेत निर्वाचन नलड्ने उद्घोष गरिन् । शाक्य तिनै कर्मठ नेतृ हुन्, जसले पार्टी अध्यक्ष ओलीले गरेको संसद विघटनको विरोध गरेकी थिइन् । विरोध मात्रै होइन कडा विरोध गरेकी थिइन् । आदर्शको खडेरी परेको बेला शाक्यको कदमको प्रशंसा हुनुपर्ने तर त्यसो हुन सकेन । आफूले रोजेको भन्दा भिन्न स्थानबाट टिकट पाएपछि उनले चुनाव नलड्ने बताइन । काठमाडौं–८ र १० मा उनको चर्चा पछिसम्म चल्दै थियो र एमाले नेताहरू उनलाई काठमाडौं–८ बाट निर्वाचन लडिदिन अनुरोध गरिरहेकै थिए ।

प्रचण्डले भनेको ‘नयाँ जनयुद्ध’ गोरखामा आफ्नो जीत सुनिश्चित गराउने र भावी प्रधानमन्त्री हुने सपना भन्दा दुई पाइला अघिको प्रतित हुँदैन ।

३. नाम– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) लेख्नेले यो देशको घोर दक्षिणपन्थी, जातिवादी, धर्मनिरपेक्ष विरोधी, राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सघाउन हेटौंडामा सम्पूर्ण शक्ति लगाउने बाचा गर्‍यो । थापा राप्रपा नेपालको अध्यक्ष भए पनि उनी आफ्नो निर्वाचन चिन्ह तीर छोडेर एमालेको सूर्य चुनाव चिन्हबाट निर्वाचन लड्दै छन् ।

त्यस्तै झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चारमा एमाले र राजेन्द्र लिङ्देनको राप्रपाबीच एकता भएको छ । कमल थापा र लिङ्देन त्यस्ता दुई अनुहार हुन्, जो हिजोसम्म एउटै पार्टीमा थिए र स्वार्थ बाझिएपछि दुई पार्टीमा विभाजित भए । एमाले दुवैसँग उत्तिकै नजिक रहेको निर्वाचनका क्रममा उनीहरूबीच भएको तालमेलले थाहा हुन्छ ।

४. भिम रावलले टिकट नपाएसँगै अछाम एमालेको ठूलो पंक्तिले पार्टी कमिटिबाट राजीनामा दियो । नेतृत्वलाई दबाब दिन र सच्चिन बाध्य पार्नका लागि यो कति प्रभावकारी हुन्छ भन्न नसकिए पनि इतिहासमा यसको पक्कै महत्व हुनेछ ।

कुरा माओवादीको

१. नेपाली राजनीतिमा कुनै बेला क्रान्तिका नायक र हाल संसदीय राजनीतिका खेलाडी प्रचण्डको काखमा बाबुराम भट्टराईको नाति भएको एउटा तस्वीर ३१ भदौमा ट्वीटरमा सार्वजनिक भयो । तस्वीरले बोकेको सन्देश आममानिसका लागि जति अनपेक्षित थियो, प्रचण्ड–बाबुरामका लागि त्यति नै अनिवार्य थियो । त्यसपछि घटनाक्रम सिनेमाको दृश्यझै एकपछि अर्को गर्दै बढ्न थाल्यो– ८ असोजमा प्रचण्डले ‘म र बाबुरामजी नयाँ जनयुद्ध गर्ने निष्कर्षमा पुगेका छौँ’ भनी खुलासा गरे ।

त्यसपछि भट्टराईले १३ असोजमा आफू चुनाव नलड्ने मनस्थितिमा पुगेको सार्वजनिक गरे । त्यससँगै छोरी मानुषी यमी भट्टराई काठमाडौं–७ बाट र फणिन्द्र देवकोटाले गोरखा– २ (क) बाट टिकट पाउने निश्चित भो । दुवै माओवादी केन्द्रको चुनाव चिन्हमा चुनावमा होमिएका छन् । प्रचण्डले भनेको ‘नयाँ जनयुद्ध’ गोरखामा आफ्नो जीत सुनिश्चित गराउने र भावी प्रधानमन्त्री हुने सपना भन्दा दुई पाइला अघिको प्रतित हुँदैन ।

बाबुरामप्रति गरिएका अनेकौँ कटाक्ष र उनीप्रति प्रचण्डले देखाएको अनुदारताको अन्त्य हुने दिन ३१ भदौ थियो वा थिएन भन्न सकिँदैन, तर के भन्न सकिन्छ भने प्रचण्ड र बाबुरामको यो अनिवार्य आवश्यकता थियो । पार्टीमा एक्लो बादशाह रहेका प्रचण्डको महत्वकांक्षाका अघिल्तिर पछिल्लो महत्वकांक्षा सबैभन्दा सानो कृत्य थियो भने अर्कोतर्फ बौद्धिक हुँदाहुँदै पनि राजनीतिमा परित्यक्त हुने दिशामा अघि बढी रहेका बाबुरामका लागि छोरीलाई उचित धरातल प्रदान गर्नुको चुनौति थियो । दुवैले आफ्नो राजनीतिको सेफल्यान्डिङ गर्ने गरी म्याच फिक्सिङ गरेका छन्, तर खेलको अन्तिम परिणाम भने आउन बाँकी नै छ ।

२. हरिबोल गजुरेल, लेखनाथ न्यौपाने, दिपशिखा, रंजित तामाङहरूको मोल माओवादी केन्द्रमा त्यति छँदै छैन जति बिना मगरहरूको छ । कञ्चनपुर–१ त्यसैको उदाहरण हो । बिना मगर प्रचण्डकी बुहारी हुन्, त्यसो त उनी पूर्व खानेपानी मन्त्री पनि हुन् तर उनी खानेपानी मन्त्री भएर बुहारी भइन् वा बुहारी भएर खानेपानी मन्त्री भइन् सबैलाई थाहा छ ।

कुरा मधेसको

ओलीको आलोचकको छवि बनाएका उपेन्द्र यादव संसद विघटनको विपक्षमा थिए । तर, मंसिरको निर्वाचनले उनलाई संसद विघटनकारीको पक्षमा ल्याई पुर्‍यायो । कारण थियो– संसद विघटनको विरोध गर्नेले भन्दा संसद विघटन गर्नेले ४ सिट बढी दिनु । एकाएक ओलीसँग सिट बाँडफाँटको फोटो सार्वजनिक गरेर उनी नैतिकतालाई खल्तीमा राखेरै चुनावी मैदानमा होमिएका छन् ।

राजनीतिक दलहरूले राजनीतिको नाममा आफ्नो हातमाथि पार्न जे–जस्तो काम गरेका छन्, त्यसले संसदीय राजनीतिको कुरूपतालाई नै निर्लज्ज ढंगले उदाङ्गो पारिदिएको छ । आफू, आफ्ना र आफन्तसम्मको राजनीतिक स्वार्थको काँध चढेका सबै राजनीतिक दलका नेताहरूको प्रवृत्तिले टिकट नपाएर खिन्न बनेका खिमलाल देवकोटाको उक्तिलाई स्मरण गराई दिन्छ– ‘जतिसुकै आदर्शका कुरा गरेतापनि आखिर राजनीति नाफा–घाटाको व्यापार नै रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?