+
+

प्रदेशसभाको एउटा टिकटले काठमाडौं–१० मा कांग्रेस–माओवादी आमनेसामने

शीर्ष तहमा भएको सहमति विपरीत कांग्रेसले प्रदेशसभा क्षेत्र नछाडेपछि माओवादी केन्द्रले पनि अन्तिम समयमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभाको अर्को क्षेत्रमा पनि उम्मेदवार उठाएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ कात्तिक २ गते २०:१७

२ कात्तिक, काठमाडौं । सत्ता गठबन्धनका दलहरु साझा उम्मेदवार बनाएर चुनावमा होमिएका छन् । एउटा दलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिँदा अर्को दलले प्रदेशसभामा उम्मेदवार उठाएको छ ।

उम्मेदवारहरु पनि सम्भव भएसम्म एकसाथ घरदैलो गर्छन् । बागी उम्मेदवारी दिएकाहरुलाई दलहरुले फकाएर वा धम्क्याएर पनि उम्मेदवारी फिर्ता लिन लगाएका छन् ।

तर काठमाडौं क्षेत्र नम्बर १० मा त्यस्तो छैन । नेपाली कांग्रेस र माओवादी केन्द्र अलग अलग रुपमा प्रतिस्पर्धामा होमिएका छन् । काठमाडौं–१० को प्रदेशसभा (क) लाई दिएर सुरु भएको विवादमा दुबै दलले संघ र प्रदेश दुबैतर्फ उम्मेदवार उठाएका छन् ।

क्षेत्र भागवण्डा गर्दा काठमाडौं–१० को प्रतिनिधिसभा क्षेत्र कांग्रेसले पायो । प्रदेशतर्फ (क) माओवादीको उम्मेदवार हुने र (ख) मा एकीकृत समाजवादीले लिने सहमति भयो । तर शीर्ष तहमा भएको सहमति लागू भएन ।

तालमेलको मोडालिटी बनाउँदा अघिल्लोपटक जितेको आधारमा क्षेत्र पाउने पनि एउटा आधार थियो । त्यसअनुसार प्रदेशसभाको (क) आफूहरुले पाउनुपर्ने कांग्रेस नेताहरुको अडान रह्यो । प्रतिनिधिसभामा राजेन्द्रकुमार केसीले उम्मेदवारी दिँदा प्रदेशसभातर्फ (क) मा पुकार महर्जनले मनोनयन दर्ता गरे ।

उनी २०७४ मा निर्वाचित भएका थिए । अघिल्लो पटक चुनाव जितेका आधारमा (क) मा उम्मेदवारी दिएको कांग्रेसेले प्रदेशसभाको (ख) एकीकृत समाजवादीलाई छाडेको छ ।

अघिल्लो पटक जितेको आधारमा (ख) मा एकीकृत समाजवादीलाई छोडेको छ । २०७४ सालमा (ख) मा रमा आलेमगर विजयी भएकी थिइन् र हाल एकीकृत समाजवादीमा रहेकी उनी आफैं उम्मेदवार छिन् ।

शीर्ष तहमा भएको सहमति विपरीत कांग्रेसले प्रदेशसभा क्षेत्र नछाडेपछि माओवादी केन्द्रले पनि अन्तिम समयमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभाको अर्को क्षेत्रमा पनि उम्मेदवार उठाएको छ । माओवादीले प्रतिनिधिसभा सदस्यमा स्थायी कमिटी सदस्य अञ्जना विशंखेलाई उम्मेदवार बनाएको छ । प्रदेशतर्फ (क) मा दिलीप महर्जन र (ख) मा गणेश कुुँवर उम्मेदवार छन् ।

अब यो क्षेत्रमा सत्ता गठबन्धनबाटै प्रतिनिधिसभा र प्रदेशसभा सबै क्षेत्रमा दुई/दुई जना उम्मेदवार भएका छन् । प्रदेश (क) मा अघिल्लोपटक कांग्रेसबाट निर्वाचित पुकार र वाम गठबन्धनबाट पराजित माओवादीका दिलीप आमने सामाने भएका छन् ।

पार्टीकै निर्णय अनुसार टिकट पाएर उम्मेदवारी दर्ता गरेको पुकार बताउँछन् । ‘प्रदेश क मा मैले जितेको हुँ । गठबन्धनले बनाएको मापदण्ड अनुसार त मैले टिकट पाउनु पर्ने हो’, पुकारले अनलाइनखबरसँग भने, ‘नेताहरुलाई त्यो मापदण्ड अनुसार मलाई उठ्न भन्नुभयो । मित्रवत प्रतिस्पर्धा गर्न भन्नुभएको छ ।’

चुनावी अभियानमा होमिएका माओवादी नेताहरु पनि मित्रवत प्रतिस्पर्धा गर्ने बताउन थालेका छन् ।

तालमेलका लागि भएको सहमति अनुसार कांग्रेस पछि नहटेसम्म संवादको औचित्य नरहेको माओवादीले जनाएको छ । ‘कांग्रेसले बेइमानी गरेकाले हामीले संघ र प्रदेशमा सबै उम्मेदवार उठाएका हौं । हाम्रो उम्मेदवारी फिर्ता हुँदैन,’ माओवादी नेता हिमाल शर्माले भने, ‘पहिले भएको सहमति कार्यान्वयन गर्ने हो भने छलफल हुनसक्छ । होइन भने अब मित्रवत प्रतिस्पर्धा नै हुन्छ ।’

कांग्रेसले अन्य क्षेत्रमा पनि बेइमानी गरेको उनको दाबी छ । शीर्ष तहमा भएको सहमति अनुसार काठमाडौं क्षेत्र नम्बर ३ (ख) र ६ (ख) मा माओवादीको भागमा क्षेत्र परेको थियो । दुबै क्षेत्रमा कांग्रेसले आफ्नै उम्मेदवार खडा गरेको छ । काठमाडौं ३ को (ख) मा कांग्रेसले विमल ठकुरीलाई उम्मेदवार बनाएको छ भने काठमाडौं ६ (ख) मा विष्णुभक्त तिमिल्सिना उम्मेदवार छन् ।

माओवादीले ३(ख)मा महेश्वर फुयाँल र ६ (ख) मा प्रकाश फुयाँललाई उम्मेदवार बनाएको छ । आफूहूलाई छुट्याइएका क्षेत्रमा कांग्रेसले उठाएका उम्मेदवार फिर्ता नहुन्जेल संवादको औचित्य नरहेको माओवादी नेता शर्मा बताउँछन् ।

तर सहमति खोज्ने भन्दै आफू जित्ने भन्दै दुबै दल प्रतिस्पर्धातर्फ उन्मुख भएका छन् । २०७४ मा एमाले र माओवादीको वाम गठबन्धन हुँदा समेत जितेकाल कांग्रेस ढुक्क देखिन्छ । तालमेल नभएपनि कांग्रेसले जित्ने पुकार दाबी गर्छन् । ‘विवाद भएको (क) मा हो । उहाँहरुले केन्द्र र प्रदेश (ख) मा पनि उठाइदिनुभयो,’ काठमाडौं १० मा कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका पुकार भन्छन्, ‘अब मित्रवत् प्रतिस्पर्धा हुन्छ । एकअर्कामा गाली नगरी चुनावमा जान्छौं ।’

माओवादी नेताहरु पनि चुनाव जित्ने दाबी गर्छन् । अघिल्लो पटक वाम गठबन्धन हुँदा त नजितेको चुनाव एक्लै कसरी जितिन्छ भन्ने प्रश्नमा एक नेता भन्छन्, ‘एमालेको उम्मेदवार हेर्नुस्, कांग्रेसका केसीलाई दिएर चुर्लिको असन्तुष्टि बुझ्नुस् ।’

यो क्षेत्रमा एमालेले प्रतिनिधिसभा सदस्यमा हिमेस केसीलाई उम्मेदवार बनाएको छ । सुरुमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउन तयारी गरिएको भए पनि उनी आफैंले नचाहेपछि केसीले टिकट पाएका हुन् ।

स्थानीय चुनावको अंकगणित

काठमाडौं क्षेत्र नम्बर १० मा यस क्षेत्रमा पर्ने दक्षिणकाली र चन्द्रागिरी नगरपालिकाको पुरै भाग पर्दछ । कीर्तिपुर नगरपलकाकोे १ नम्बर वडा बाहेक अरु ९ वटा वडा यस क्षेत्रमा पर्दछन् । तीन वटै पालिकामा कांग्रेस विजयी भएको थियो ।

कीर्तिपुर, चन्द्रागिरी र दक्षिणकालीमा प्रमुख पदमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कीर्तिपुरमा त कांग्रेसले ऐतिहासिक जित यसपटक निकालेको थियो । मेयरसहित १० मध्ये ७ वडाध्यक्ष सहित कांग्रेसले ३४ पद आफ्नो पक्षमा पारेको थियो ।

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा पनि यो क्षेत्रमा कांग्रेस पहिलो शक्ति हो । कांग्रेसले २४ हजार ६७५ मत पाएको छ भने एमालेको मत १८ हजार ८३८ छ । माओवादी केन्द्र ४ हजार ९४२ मत सहित तेस्रो स्थानको मत ल्याएको थियो ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?