News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले सरकार टिक्नेमा आशंका उब्जिएको बताउनुभयो।
- अध्यक्ष नेपालले अब चुनावमा जान बाहेक विकल्प नभएको र चुनाव गराउन सरकार सक्षम होला कि भन्ने प्रश्न उठेको उल्लेख गर्नुभयो।
- उनले पार्टीलाई लोकतन्त्र, गणतन्त्र र देशको सार्वभौमसत्ता रक्षा गर्न केन्द्रित भएर निर्वाचन तयारीमा जुट्न निर्देशन दिनुभयो।
१२ कात्तिक, काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव गराउने बेला सम्म पनि यो सरकार टिक्दैन कि भन्ने आशंका उब्जिएको बताएका छन्।
काठमाडौंमा बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीकै अभिव्यक्तिले सरकार कति दिन टिक्छ भन्ने आशंका उठाएको टिप्पणी गरेका हुन्।
‘अब चुनावमा जाने बाहेक विकल्प छैन । तर, चुनाव सम्भव होला, चुनाव गराउन यो सरकारले सक्ला? प्रश्नहरू गम्भीर रूपमा उठेका छन्,’ उनले भने, ‘प्रधानमन्त्री चुनौतीको सामना गर्छु पनि भनिरहनुभएको छ । बेलाबखत दिक्दारी पनि पोखिरहनु भएको छ। यस्तोमा यही सरकार रहिरहन्छ कि के हुन्छ? भन्ने प्रश्न पनि उठेका छन्।’
उनले लोकतन्त्र, गणतन्त्र र मुलुकको हितमा केन्द्रित भए वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ रहने पनि स्पष्ट पारे। अध्यक्ष नेपालले सबै अवस्थामा पार्टीको ध्यान देशको सार्वभौमसत्ताको रक्षा कसरी गर्ने, विदेशीहरूको खेलमैदानबाट हुनबाट देशलाई कसरी जोगाउने ? गणतन्त्रको रक्षा कसरी गर्ने भन्नेमा केन्द्रित रहेको जिकिर गरे।
उनले अब सबै परिस्थितिको सामना गर्दै निर्वाचनमा जुट्नु पर्ने पनि बताए। ‘चुनावको तयारीमा जुट्ने, चुनावमा राम्रो परिणाम ल्याउने । त्यो आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ उनले भने। अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए।
प्रतिक्रिया 4