+
+
Shares

चाडपर्वमा सुपथ मूल्य पसलबाट ३० करोडको कारोबार

खाद्यले दसैं, तिहार र छठ पर्व लक्षित गरी ३० भदौदेखि १० कात्तिकसम्म सुपथ मूल्य पसल सञ्चालन गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी २ माघसम्म निरन्तरता दिने भएको छ।
  • सुपथ मूल्य पसलबाट २० करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ र चामल र तेलको माग उच्च रहेको छ।
  • साल्ट ट्रेडिङ कर्पोरेसनले ४२ स्थानमा सञ्चालन गरेको पसल १० कात्तिकदेखि बन्द गरेको छ र ९ करोड ४५ लाख रुपैयाँ बराबर कारोबार गरेको छ।

१२ कात्तिक, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वका लागि सञ्चालन गरेको सुपथ मूल्य पसल आगामी २ माघसम्म निरन्तरता दिने भएको छ ।

खाद्यले दसैं, तिहार र छठ पर्व लक्षित गरी ३० भदौदेखि १० कात्तिकसम्म सुपथ मूल्य पसल सञ्चालन गरेको थियो ।

कम्पनीका बिक्री शाखा प्रमुख भीमबहादुर थापाले वर्षभरि सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको महत्त्वाकांक्षा ध्यानमा राख्दै हाल यो योजनालाई निरन्तरता दिन लागिएको बताए ।

सुपथ मूल्य पसल सञ्चालन र व्यवस्थापनका लागि २ करोड ५२ लाख रुपैयाँ बजेट स्वीकृत गरिएकोमा कम्पनीसँग अझै १ करोड ३३ लाख ३६ हजार बजेट बाँकी छ ।

यही बजेटका आधारमा कम्पनीले २ माघसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको कम्पनीका बिक्री शाखा प्रमुख थापाले जानकारी दिए ।

थापाका अनुसार यस वर्ष चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट २० करोड ६० लाख ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बिक्री भएका सामानमध्ये चामल र तेलको माग उच्च थियो ।

थापाले ५० हजार ८ सय ११ लिटर तेल बिक्री हुँदा चामलको बिक्री पनि उल्लेख्य मात्रामा भएको बताए । यस अवधिमा १६ हजार ८ सय २६ क्विन्टल चामल बिक्री भएको छ भने १ सय ५२ क्विन्टल दाल बिक्री भएको छ ।

खाद्यका यी सुपथ मूल्य पसलमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको थियो । यस्तै बासमती र मार्सी चामलमा किलोको १० रुपैयाँ छुट दिँदा खाने तेल (तोरी, सनफ्लावर, भटमास), आटा, पिठो, चिउरा र मैदामा किलोको ७ रुपैयाँ छुट दिइएको थियो ।

बिक्री विभाग प्रमुख थापाले यस वर्ष सार्वजनिक बिदा धेरै परेका कारण उपभोक्तालाई खरिद गर्न पर्याप्त समय नमिलेको बताए । विशेषगरी काठमाडौं उपत्यकामा बिदाका दिनमा पनि पसल सञ्चालन गरिए पनि उपभोक्ताहरूमा सरकारी कार्यालय बन्द हुन्छन् भन्ने धारणाले गर्दा केही हदसम्म बिक्रीमा असर परेको उनको भनाइ छ ।

यद्यपि, समग्रमा २० करोड रुपैयाँभन्दा बढीको कारोबार हुनु सन्तोषजनक रहेको थापाले उल्लेख गरे ।

यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यका सहित देशभरिका ४२ स्थानमा सञ्चालनमा रहेका सुपथ मूल्य पसल १० कात्तिकदेखि बन्द गरेको छ ।

कर्पोरेसनले बागमती प्रदेशमा १४ स्थायी पसल र तीन वटा मोबाइल भ्यान सहित कुल १७ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको थियो ।

कर्पोरेसनका बजार प्रबन्धक प्रज्ज्वल प्रधानका अनुसार यस अवधिमा कर्पोरेसनले ९ करोड ४५ लाख रुपैयाँ बराबर कारोबार गरेको छ ।

सुपथ मूल्य पसलमा चिनी, नुन, खानेतेल, चामल, गेडागुडी, चिउरा, आटा, मैदा, पिठो र घिउ लगायत सामग्रीमा उपभोक्ताले सहुलियत प्राप्त गरेका थिए । सरकारले तोकेको सहुलियत दरमा यी वस्तुको अत्यधिक बिक्री भएको प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?