+
+
नवौं राष्ट्रिय खेलकुदमा ब्याडमिन्टन :

स्वर्ण जित्दा पनि खुसी छैनन् प्रिन्स

जुनियरको अन्तर्राष्ट्रिय वरीयता खस्किए पनि उनले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेर आफू नेपालको नम्बर वान् नै रहेको प्रमाणीत गरेका छन् । तर शीर्ष खेलाडीहरुको अनुपस्थितिले प्रिन्सको जीतयात्रा यति सहज भयो कि उनलाई प्रतिस्पर्धा नै खल्लो लाग्यो ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक २ गते १९:३५

२ असोज, पोखरा । पोखरा रंगशालाको ब्याडमिन्टन कभर्डहलमा प्रिन्स दाहालले नेपाल पुलिस क्लबका लागि ब्याडमिन्टनको पुरुष एकलमा स्वर्ण जिते । तर, उनले तीन वर्षअघि आयोजित राष्ट्रिय खेलकुदको अघिल्लो संस्करणमा शीर्ष वरीयताका रत्नजीतलाई हराएका दीपेश धामीजति स्वर्णको स्वाद लिन सकेनन् ।

नेपाली ब्याडमिन्टनमा पछिल्लो एक दशकदेखि एकछत्र राज गरेका रत्नजीत तामाङ, विकास श्रेष्ठ र दीपेश धामी अहिले नवौंमा सहभागी छैनन् । उनीहरु तीनै जना केहि महिनाअघि मात्रै अमेरिका पलायन भएका छन् । दीपेश अहिले नेपालको शीर्ष वरीयताप्राप्त खेलाडी हुन् ।

शीर्ष खेलाडीहरुको अनुपस्थितिले प्रिन्सको जीतयात्रालाई सहज बनायो । तर, यति सहज भयो कि उनलाई प्रतिस्पर्धा नै खल्लो लाग्यो । एक महिनाअघि मात्रै विभागीय टोली पुलिसमा आबद्ध भएका प्रिन्सले महशुस गरेका छन्, ‘टक्कर गरेर जित्नु पो जित !’

जुनियर विश्व वरीयतामा ऐतिहासिक शीर्ष वरीयतामा पुगिसकेका प्रिन्सले मंगलबार सम्पन्न फाइनलमा आफ्नै क्लबका विष्णु कटुवाललाई २१–१२, २१–९ को सेट स्कोरमा हराए । ‘दाइहरु हुँदा अझ प्रतिस्पर्धा हुन्थ्यो । जित र हार जस्तो भए पनि प्रतिस्पर्धा राम्रो हुन्थ्यो । दवाव हुन्थ्यो,’ प्रिन्सले भने, ‘उहाँहरु नहुँदा स्पाइरिङ पार्टनर पनि भएनन् र धेरै प्रतिस्पर्धा पनि भएन ।’

कोरोना महामारीयता अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगिता खेल्न नपाउँदा प्रिन्सले जुनियर विश्व वरीयताको शीर्ष स्थान गुमाउनुपरेको थियो । तर, अब उनी जुनियरमा केन्द्रित हुने छैनन् । किनभने उनको जुनियर अवधि केहि महिनामात्र बाँकी छ । यस्तो समयमा राष्ट्रिय खेलमा जितेको स्वर्णले सिनियरतर्फ उनको आत्मविश्वास बढाउनेछ । ललितपुरको पिनाकल एकेडेमीमा अध्ययनरत प्रिन्स हाल जुनियर विश्व वरीयताको ३५औं स्थानमा छन् ।

प्रिन्सले सिनियरतर्फ जित हासिल गर्न थालेको डेढ वर्ष भयो । २०७७ मंसिरमा सिन्धुपाल्चोकमा आयोजित राष्ट्रव्यापी ब्याडमिन्टनमा उनले तत्कालीन शीर्ष वरीयताका रत्नजीतलाई एकल स्पर्धामा पहिलोपल्ट हराएका थिए । त्यसयता उनले दीपेश धामीलाई पनि हराइसकेका थिए ।

जुनियरको अन्तर्राष्ट्रिय वरीयता खस्किए पनि उनले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेर आफू नेपालको नम्बर वान् नै रहेको प्रमाणीत गरेका छन् । प्रतियोगिताको प्रदर्शनका आधारमा पाउने अंकका आधारमा वरीयता निर्धारण हुने भएकाले प्रिन्सलाई सिनियरतर्फ नेपालको शीर्ष वरीयतामा पुग्न अझै धेरै प्रतियोगिता जित्नुपर्छ ।

निरन्तरको तयारीले स्वर्ण जित्न सफल भएको उनी बताउँछन्, ‘खुशी छु, यसका लागि तयारी पनि गरेको थिएँ । राष्ट्रिय खेलकुदमा यसपल्ट जित्नुपर्छ भनेर लागेको थिएँ, सफल भएँ ।’

ओलम्पिक सोलिडारिटी स्कलरसिप प्राप्त गरेका उनी पछिल्लो महिना त्यसैका लागि मलेसियामा थिए । मलेसियाको अभ्यासले आफ्नो खेलस्तर बढेको उनको अनुभव छ । ‘ओलम्पिकको तयारीका लागि मलेसिया गएको थिएँ । त्यसले यता पनि सहयोग गर्यो,’ प्रिन्सले भने ।

अबको लक्ष्य सिनियरतर्फको उपाधि र ओलम्पिक

१९ वर्षका प्रिन्स अब सिनियरतर्फको वरीयतामा उक्लने छन् । जुनियर वरीयतामा पाएको उचाइलाई सिनियर वरीयतामा कायम राख्न उनले धेरै मिहिनेत गर्नु पर्नेछ । उनले भने ‘अब जुनियरको समय पनि सकिन लाग्यो । त्यसैले सिनियरतर्फ बढी केन्द्रित हुन्छ ।’

२०२४ को पेरिस ओलम्पिकका लागि ओलम्पिक सोलिडारिटी स्कलरसिप पाए पनि उनले ओलम्पिकमा स्थान सुरक्षित गरिसकेका छैनन् । त्यसैले उनको अबको लक्ष्य सिनियरतर्फ उपाधि जित्ने र ओलम्पिकमा छनोट हुने छ । लक्ष्यमा पुग्न अहिलेको मिहिनेत मात्र पर्याप्त छैन भनेर उनले बुझेका छन् ।

‘सिनियर प्रतियोगिताहरुमा राम्रो गर्दै उपाधि जित्दै जानेछु । ओलम्पिक खेल्ने लक्ष्य छ,’ लेफ्ट ह्यान्ड स्म्यासमा बलियो रहेका प्रिन्सले भने ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?