+
+
टिप्पणी :

एउटा कमेडियनमाथि राज्यको अपूर्व प्रतिशोध

एउटा कलाकारको भूमिकामा अपूर्वले पुर्‍याउन नसकेको विवेकलाई बलजफ्ती ‘नियतवश’ पुष्टि गर्ने राज्यको यो मिहिनेतको अन्तर्य आपत्तिजनक छ ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७९ कात्तिक ३ गते १८:५६

नेवाः समुदायको भावनामा आँच पुर्‍याएको भनेर यसअघि पक्राउ परेर नियमित हाजिर भइरहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई सोमबार प्रहरीले पुनः पक्राउ गरेपछि केही गम्भीर प्रश्न उठेका छन् । स्ट्याण्ड अफ कमेडीमा लोकप्रिय युट्युब च्यानल ‘कमेडी सर्कल’मा उनले दिएको प्रस्तुतिका कारण नेवाः समुदायको भावनामा आँच पुगेको भनेर उनीविरुद्ध जाहेरी परेको थियो । सोही जोहरीको आधारमा १० दिन थुनामा बसेर छुटेका उनलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

यसबीचमा उनले आफ्नो प्रस्तुतिका कारण एउटा समुदायको भावनामा चोट पुगेको भनेर भिडियो हटाएर माफी मागिसकेका छन् । तर, अहिले प्रहरीले अपूर्वलाई सोही कसूरमा पुनः पक्राउ गर्दै प्रहरी हिरासतमा राखेको छ । उनी विरुद्ध विभिन्न चार वटा छुट्टाछुट्टै मुद्दा चलाउने र पाँच वर्षसम्म जेल सजाय माग गर्ने प्रहरीको तयारी छ ।

जिल्ला सरकारी वकिल कार्यालयले बुधबार दायर गरेको अभियोगपत्रमा जातीय भेदभाव गरेको, अपमानजनक वा अमानवीय व्यवहार गरेको, सामाजिक रीतिथितिमा खलल पुर्‍याएको र सार्वजनिक शान्तिमा खलल पुर्‍याएको जस्ता आरोप लगाइएको छ ।

भोलिपल्ट सरकारी बिदा रहेको जानकारी हुँदाहुँदै प्रहरीले उनलाई सोमबार पक्राउ गरेर दुःख दिने नियत राखेको आशंका सर्वत्र छ । प्रहरीले समातेको छ, अदालतले सजिलै हिरासतमा राख्न अनुमति दिएको छ र सरकारी वकिलको कार्यालयले ‘चियाको कपमा आँधी ल्याउने’ गरी सामाजिक रितिथितिमा खलल पुर्‍याएको जस्तो गम्भीर प्रकृतिको मुद्दा चलाउन सहमति दिएको छ ।

यसले एक व्यक्तिले क्षमा समेत मागिसकेको अभिव्यक्तिको कसूर माथि समेत सिंगो राज्य संयन्त्र कतिसम्म अनुदार बन्नसक्छ भन्ने देखाउँछ । सँगै यो कति गम्भीर मुद्दा हो र उनलाई पुनः पक्राउ गरिएको हो भनेर अनुसन्धान अधिकृतलाई सोध्ने आवश्यकता अदालत र सरकारी वकिलले पनि ठानेनन् । यसले त जस्तोसुकै अभियोगमा पक्राउ परेको भए पनि अभियुक्तलाई २४ दिन ‘हिरासतको हावा खुवाउने’ प्रहरीको अभिलाषा मात्रै पूरा भएको देखिन्छ ।

राज्यका अनुसन्धान निकायले कुनै व्यक्ति वा संस्थाबाट गल्ती नियतवश भएको हो कि अञ्जानवश भनेर पनि हेर्न सक्नुपर्छ । विधिशास्त्रले पनि यस्तो मान्यता राख्छ । अभिव्यक्तिमा भएको कमजोरी सुधार्ने तरिका भनेको व्यक्तिको बोल्न पाउने अधिकार माथि प्रतिबन्ध होइन । यसले त राज्य शक्तिको दुरुपयोग गर्दै एकजना अपूर्वलाई तर्साएर हजारौंको आलोचनात्मक चेतमाथि डण्डा चलाउन खोजिएको हो भने त्यो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र तर्साउने प्रपञ्च मानिनेछ ।

अपूर्वमाथि कठोर कानुनी उपचार खोजिनुको अर्थ नेपाली समाजको सामाजिक सहिष्णुताप्रति बेवास्ता गरिनु पनि हो । अन्यायमा परेको व्यक्तिसँग दुईवटा बाटो हुन्छ– न्याय वा बदला । जब सरोकारवाला निकायले समयमै न्याय दिन सक्दैन तब उ बदलाको बाटोतिर लाग्छ । न्याय यस्तो कानुनी प्रक्रिया हो जहाँ गल्ती गर्नेलाई दण्डित गरेर न्याय दिइन्छ । आफूले गरेको कुनै कामको सजायको रूपमा कसैलाई हानि वा चोट पुर्‍याउने कार्य बदला वा प्रतिशोध हो । न्यायले गल्ती सच्याउने लक्ष्य राख्छ । बदलाले गल्तीलाई महामारी जस्तै फैलाउँछ र प्रतिशोधको कहिल्यै नसकिने दुश्चक्र सिर्जना गर्छ । न्यायले दुवै पक्षलाई नजिक ल्याउँछ र गल्तीलाई सच्याउँछ । राज्यले कुनै पनि व्यक्ति वा समुदायलाई न्यायको विकल्प बन्द गरेर प्रतिशोधको बाटो देखाउनुहुँदैन । अमेरिकी लेखक डगलस होर्टन भन्छन्– प्रतिशोध साध्दा दुई चिहान खन्नुस्, एउटा आफ्नो लागि पनि ।

हामीले कल्पना गरेको लोकतन्त्रले कसूर हेरेर सजाय र न्याय दिने मान्यता राख्छ । तर न्याय प्रणालीको यो आधारभूत मान्यताको खिलाफमा गएर चालिएको कदम अन्यायतिर मुखर भइरहेको छ । अपूर्वले माफी मागिसकेका छन्, गल्ती दोहोर्‍याएका पनि छैनन् । एउटा कलाकारको भूमिकामा अपूर्वले गरेको त्रुटि र उनले पुर्‍याउन नसकेको विवेकलाई बलजफ्ती ‘नियतवश’ पुष्टि गर्ने राज्यको यो मिहिनेतको अन्तर्य आपत्तिजनक छ ।

अपूर्वको प्रस्तुतिको स्तर, उनले दिन खोजेको सन्देश, शैली स्तरीय छैन, कतिपय सन्दर्भहरू प्रश्नयोग्य पनि छन् । तर, उनले आफूले गरेको गल्तीको तुलनामा धेरै सजाय भोगिसकेका छन् र सिंगो समाजलाई समेत यसले एउटा सन्देश दिइसकेको छ । तर पनि यो मुद्दालाई अझ तन्काउने प्रहरीको कदमले समाजलाई बलजफ्ती ध्रुवीकृत गर्ने र सामाजिक सहिष्णुता धमिल्याउन खोज्नेहरूको सेवा गरिरहेको छ । कुनै निश्चित समुदायका पात्रलाई प्रतिशोध साधेर सजायको भागी बनाउँदा साम्प्रदायिक आगोमा घिउ थपिने मात्रै हो । सामान्य त्रुटिमा कसैलाई च्याप्ने र कसैलाई कठोर दण्ड दिने राज्य संयन्त्रको व्यवहारले सामाजिक सहिष्णुता बिथोल्ने काम गरिरहेको हुन्छ ।

करिअरका लागि संघर्षरत एकजना कलाकारले कलाको मञ्चमा दिएको अभिव्यक्तिमा भएको त्रुटिलाई अदालती प्रक्रियामा पुर्‍याएर कठोर सजायमार्फत न्याय निरुपण गर्ने बहादुरी लोकतान्त्रिक समाजमा सामान्य अभ्यास बन्न दिनुहुन्न । यसले शासकीय दुराशयलाई मलजल गर्छ र यसको निकास भनेको निरंकुश र अधिनायकवादी सोचको मलजल नै हो । माफी नै काफी हुने मुद्दामा प्रहरीको यो अतिरिक्त चासो र सक्रियता संदिग्ध लाग्छ ।

हो, अहिले ‘कमेडी’ का नाममा भइरहेका अभ्यास सामाजिक सञ्जाल र डलर कमाउने मोहले थप छताछुल्ल बनाइरहेको छ । कलाकारिता, पत्रकारितालगायतका पेशाबाट समाजले गर्ने विश्वास, अपेक्षा र त्यसले सिर्जना गर्ने विशेष सुविधाका पनि आफ्नै सीमा छन् । अपूर्वसहित यी पेशामा रहेका सबैले यसमा गम्भीर समीक्षा गर्नु जरुरी छ ।

यसले पेशाकर्मीको चेतना र कलाको स्तर माथि समीक्षाको माग गर्छ । यो सबै पेशाकर्मीका लागि एउटा गम्भीर पाठ पनि हो । तर, कुनै पनि कलाको स्तर माथि सोही विधाका समालोचकले गर्ने टिप्पणी र पाठक–श्रोताको प्रतिक्रियाले नै प्रारम्भिक स्तरका यस्ता कमजोरीहरूमा सुधार ल्याउँछ । फेरि हाम्रो सामाजिक सहिष्णुताको धरातल सुरुवाती करिअरको चरणमा संघर्ष गरिरहेको एउटा कमेडियनको व्यंग्य सहनै नसक्ने कमजोर पनि छैन ।

मुलुक चुनावमा होमिएको छ । तर, चुनावको मुखमा उम्मेदवारहरूको यो मुद्दामा मौनता रहस्यमय लाग्छ । यही बेला हो ‘कम्फर्ट जोन’मा बसेर राजनीति गर्ने अवसरवादी अनुहारहरू चिन्ने । सत्तापक्षले यो घटनाको जिम्मा लिनुपर्छ । प्रतिपक्षले प्रश्न गर्नुपर्छ । कुनै सामान्य त्रुटिको आडमा नागरिकको मुख थुन्न खोज्ने शासकीय चरित्रले देशलाई सही बाटोमा हिंडाउन सक्दैन । सभ्य समाजमा नागरिकमाथि राज्यले बदला लिने वा प्रतिशोध साध्ने कल्पना गरिन्न । हाम्रो फौजदारी न्याय प्रणालीको लक्ष्य पनि यो हुँदै होइन ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?