+
+

कञ्चनपुरका २ उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनक विष्ट जनक विष्ट
२०७९ कात्तिक ३ गते १८:२६
तत्कालिन नगर विकास समितिका अध्यक्ष पल्टु राना (बाँया) र मदन दमाई ।

३ कात्तिक, धनगढी । कञ्चनपुरको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा खरिद बिक्रीमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले नगर विकास समितिका तीन जना पूर्वअध्यक्ष, समितिमा कार्यरत कर्मचारी, मालपोत कार्यालयका कर्मचारी, विचौलिया र जग्गा खरिद गर्ने व्यक्ति समेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले बुधबार दायर गरेको उक्त मुद्धामा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका दुई जनासमेत प्रतिवादी बनाइएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा उम्मेदवारी दिएका पल्टु राना र क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका मदन दमाईं पनि प्रतिवादी बनाइएका हुन् ।

अख्तियारका अनुसार जग्गा खरिद बिक्री घोटालाको घटना हुँदा राना नगर विकास समितिको अध्यक्ष थिए भने मदन दमाइ विचौलियाको भूमिका थिए ।

उम्मेदवारद्वय राना र दमाईंविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम बिगोसहित थप कैद सजायको मागदाबी गरिएको छ । तत्कालीन अध्यक्ष रानालाई ३७ लाख ९२ हजार बिगोसहित कसुर तथा सजाय मागदाबी गरिएको छ भने बिचौलिया बनाइएका दमाईंलाई पनि ३७ लाख ४६ हजार आठ सय ८० रुपैयाँ बिगोसहित कसुर तथा सजाय मागदाबी गरिएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

चुनावको संघारमा भ्रष्टाचारको मुद्दा दायर भएसँगै उनीलाई झट्का लागेको छ । नगर विकास समितिका तत्कालीन अध्यक्ष पल्टु रानाले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै कर्मचारीबाट आएको फाइलअनुरूप काम गरेको बताए ।

बिचौलियाको आरोपसमेत लागेका मदन दमाईंले चुनावको मुखमा बदनाम गर्ने मनसायले मुद्दा दायर भएको बताए । ‘मैले त समितिले निर्णय गरेको जमिन किनेको हुँ,’ उनले भने, ‘कर्मचारी र समितिका पदाधिकारी जानुन् ।’

मुख्य निर्वाचन अधिकृत कार्यालय कञ्चनपुरका सहायक निर्वाचन अधिकृत ताराप्रसाद शर्माले कुनै उम्मेदवारविरुद्धमा भ्रष्टाचार वा अन्य मुद्दा लाग्दैमा उम्मेदवारी खारेज नहुने बताए ।

‘मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म उम्मेदवारी यथावत रहन्छ,’ उनले भने, ‘दोषी प्रमाणित भए मात्रै उम्मेदवारी खारेज हुन्छ ।’

माओवादी केन्द्रका नेता समेत रहेका नगर विकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइलीसँग साढे ८ लाख बिगो र थप कैद सजायको माग दाबी गरिएको छ । अर्का तत्कालीन अध्यक्ष पुष्कल चौधरीसँग पनि तीन लाख ७४ हजार बिगो र कैद सजाय माग दाबी गरिएको छ ।

तत्कालीन सदस्य सचिव चन्द्रप्रसाद चौधरी, नायब सुब्बा पुष्पराज भट्ट, अमिन तुलादत्त जोशी, तत्कालीन प्रमुख मालपोत अधिकृत कृष्णकुमार निरौला, मालपोत अधिकृत विशनसिंह थापा, अशोककुमार भण्डारी, शंकरबहादुर विष्ट, शाखा अधिकृत दलजित भट्ट, जयबहादुर विष्ट, घनश्यामदत्त विष्ट, नायब सुब्बा गणेशबहादुर ऐरविरुद्ध पनि बिगो र सजाय माग दाबी गरिएको छ ।

यस्तै तत्कालीन नायब सुब्बा नयनसिंह कुँवर, भीमसिंह रावल, खरिदार नरेन्द्रबहादुर ऐर, नमराज भट्ट, तत्कालीन प्रमुख नापी अधिकृत मोहनचन्द ठकुरी, पुष्पराज जोशी, समितिबाट प्रथम तहमा जग्गा खरिद गर्ने लिलावती धामी, जयबहादुर कामी, महेश विष्ट, नवराज ऐर, जानकी चन्द, महेशप्रसाद दाहाल, बेलुदेवी कामीविरुद्ध पनि बिगो र सजायको माग दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

हाल जग्गाधनी कायम रहेका अनिता गुप्ता, लक्ष्मी विष्ट, गितादेवी सिंह, फुन्नी कपाडी, जानकी कुमारी हमाल, पद्यमादेवी ओझा, मानबहादुर थापा, गुमादेवी पन्त र लक्ष्मी देवी बडुवालविरुद्ध पनि विशेष अदालतमा सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

तत्कालीन कर्मचारीसँग न्यूनतम डेढ लाखदेखि ६४ लाखसम्म बिगो माग दाबी गरिएको देखिएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?