+
+

सडकमा बेवारिसे जीवन बिताउँदै आएकालाई रोल्पा नगरपालिकाले गर्‍यो व्यवस्थापन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते ९:२४

४ कात्तिक, रोल्पा । सदरमुकाम लिवाङमा लामो समयदेखि बेवारिसे जीवनयापन गर्दै आएकाहरूलाई रोल्पा नगरपालिकाले व्यवस्थापन गरेको छ ।

दुई महिला र दुई पुरुषलाई व्यवस्थापन गरेको रोल्पा नगरपालिकाले जनाएको छ । सडक मानवको रुपमा व्यवस्थापन गरिएका चारै जना मानसिक सन्तुलन गुमाएका व्यक्तिहरु हुन् ।

मानसिक सन्तुलन गुमाएका उनीहरु रोल्पा नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट आई सदरमुकाम लिवाङमा लामो समयदेखि बेवारिसे जीवन बिताउँदै आएका थिए ।

उनीहरुमध्ये रोल्पा नगरपालिका वडा नं. ९ का एक पुरुषलाई दुई वर्षअघि नै नगरपालिकाले व्यवस्थापन गरेको थियो । यस वर्ष २ महिला र १ पुरुषसहित थप ३ जनालाई व्यवस्थापन गरिएको छ ।

यस वर्ष रोल्पा नगरपालिका वडा नंं ३ को १ महिला र १ पुरुष तथा माडी गाउँपालिका वडा नं २ की एक महिलालाई मानव सेवा आश्रम बुटवलमा व्यवस्थापन गरिएको रोल्पा नगरपालिकाका उपप्रमुख गीता आचार्यले जानकारी दिइन् । उनीहरुको व्यवस्थापन गरे वापत आश्रमलाई नगरपालिकाले १ लाख ५० हजार उपलब्ध गराएको थियो ।

मानसिक सन्तुलन गुमाएर घर छाडेपछि उनीहरुलाई आफन्त तथा परिवारले समेत बेवास्ता गरेका थिए । घर छाडेर लामो समयदेखि सदरमुकाम लिवाङ बजारको सडकमै जीवन बिताउदै आइरहेका उनीहरु खाने, बस्ने तथा सरसफाई जस्ता सामान्य कुराबाट समेत बन्चित रहँदै आएका थिए ।

नगरपालिकाले हेरचाह र पालनपोषण गर्ने आफन्तको अभावमा कुपोषणको संक्रमणमा परेका २ बालकहरुलाई समेत व्यवस्थापन गरेको छ । रोल्पा नगरपालिका वडा नं. ४ का दाजुभाइ उनीहरुको पालनपोषण, रेखदेखसहित पढाउने गरी नितेन मेमोरियल स्कूल काठमाडौंमा भर्ना गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । विद्यालयसँग समन्वय गरी त्यहाँसम्म उनीहरुलाई पुर्याउने काममा नगरपालिकाले सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?