+
+

मादल बनाउनेलाई भ्याइ–नभ्याई

अनिल खत्री अनिल खत्री
२०७९ कात्तिक ५ गते १२:०७

५ कात्तिक, गुल्मी । तिहार पर्वसँगै गुल्मीमा मादल बनाउनेहरुलार्ई भ्याइनभ्याई भएको छ । तिहारमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्ने र पुरानो मर्मत गर्न आउने हुँदा गुल्मी सदरमुकाम तम्घासमा मादल बनाउनेहरुको व्यस्तता बढेको हो ।

तम्घासमा गल्कोटे मादल नामले व्यवसाय गर्दै आएका डिलबहादुर नेपाली दुई वर्षसम्म कोरोना महामारी गर्दा थलिएको व्यवसाय यस वर्ष भने चम्किएको बताउँछन् । ‘तिहार आइसकेकाले बिहानदेखि रातिसम्म व्यस्त भइन्छ,’ नेपाली भन्छन्, ‘दुई/चार हजार कमाइ पनि भएको छ ।’ नेपालीले वर्षौंदेखि यही पेसाबाट परिवारको खर्च चलाउँदै आएको बताए ।

तीज र तिहारमा धेरै मादल खपत हुने गर्दछ । उनका अनुसार एउटा मादल तयार गर्न २/३ दिन लाग्ने गर्दछ । एउटा मादलको समान्यतया २५ सयदेखि ५ हजार रुपैयाँसम्म (आकार अनुसार) पर्ने गर्दछ । एक सिजनमा डेढ लाखसम्मका मादल बिक्री गर्ने गरेको नेपाली बताउँछन् । चाडपर्व बाहेक अन्य समयमा भने कामको धेरै चाप नहुने उनले बताए ।

दमाहा, ट्याम्को, ढोलक लगायतका नौमती बाजासमेत बनाउने गरेको उनको अनुभव छ । काठ, बाख्राको छाला, भैंसी र गोरुको छाला, अंगार, खरी लगायतका सामग्री मिसाएर मादल तयार पार्ने गरिन्छ ।

मादलबाट कमाइ राम्रै हुने भए पनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेसाप्रति ध्यान दिने नगरेको नेपालीले बताए । अरुले त घृणा गर्ने गरेको त सुनेको थिएँ आफ्नै छोराले पनि यो काम गर्न हुन्न भन्छ,’ नेपालीले भने ।

मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको मादल बनाउनेहरुको भनाइ छ । खिर्रो, मौवा, मलेतो, घ्वारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने मादल बनाउनेहरुको अनुभव छ ।

तम्घासमा तयार भएको मादल गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, पाल्पा, प्युठानमा समेत पुग्ने गर्दछ । पछिल्लो समय मादल भन्दा पनि साउण्ड सिस्टमबाट देउसीभैलो खेल्ने प्रचलनले मादल व्यवसायमा असर पर्ने गरेको व्यवसायीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?