+
+

गठबन्धनले जिते अहिले टिकट नपाउनेहरुलाई अवसरै अवसर हुन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते १५:०२

५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले बहुमत ल्याएमा अहिले टिकट नपाएका नेताहरुले अवसरै अवसर पाउने बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा उनले आफूहरुले जितेर बहुमतको सरकार बनेमा अहिले अवसर नपाएकाहरुलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने बताएका हुन् ।

‘म सबै साथीहरुलाई के अपिल गर्न चाहन्छु भने हेर्नुस् गठबन्धनले जितेर बहुमत आएर सरकार बन्यो भने अवसरै अवसर हुन्छ’, उनले भने, ‘अहिले टिकट नपाउनुभएको या टिकट वितरणमा भन्याजस्तो नभएकोले मन खुम्चिएका साथीहरुलाई पनि भोलि हामी बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन्, संवैधानिक नियुक्ति, राजदूतहरु के के हुन्छन् के के । हारियो भने चाहिँ हामी सबैको हालत खराब ।’

चुनावपछि अवसर पाउँदा अहिले असन्तुष्ट हरु पनि खुशी हुने प्रचण्डले बताए । ‘त्यसकारण अवसरै अवसर प्राप्त गर्ने, अहिले भाँचिएका अलिअलि थिचिएका, अलि अलि अध्यारो अनुहार भएका साथीहरु पनि सरकार बनेपछि नियुक्ति पाइसकेपछि उज्याला हुन्छन्’ प्रचण्डले भने ।

सत्तारुढ गठबन्धनका दलभित्र, एकअर्का दलबीच भएका समस्या थाती राखेर चुनावमा होमिन प्रचण्डले आग्रह गरे ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच कुनै समस्या नरहेको प्रचण्डले बताए । ‘हामी यो देखाउन चाहन्छौं कि, गठबन्धनका हामी नेताहरु एक ढिक्का छौं, हाम्रो विषयमा कुनै दरार अहिले छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?