+
+

नवौं राष्ट्रिय खेलकुदका ९ स्टार

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक ६ गते १९:१९

६ कात्तिक, काठमाडौं । ३६ खेल, ६ हजार १२७ खेलाडीबीच ३९६ स्वर्णका लागि प्रतिस्पर्धा । गण्डकी प्रदेशमा एक सातासम्म चलेको नवौं राष्ट्रिय खेलकुदले नेपालको खेलकुद धेरै हदसम्म चलायमान भयो ।

कतिपय खेलको त लामो समयपछि राष्ट्रिय स्पर्धा हुँदा खेलाडीमा बेग्लै रौनक थियो ।

राष्ट्रिय खेलकुद नेपालको बृहत खेलकुद मेला हो । यो अन्तर्राष्ट्रिय सहभागिताको मुख्य आधार पनि हो । राष्ट्रिय खेलकुद खेलाडी उत्पादनको थलो पनि हो ।

यसअघि नै सफलता देखिसकेका खेलाडीहरुका लागि पनि राष्ट्रिय खेलकुदले आफ्नो सफलता फराकिलो बनाउने अवसर हो ।

यसपटक गण्डकी प्रदेशको ८ जिल्लामा भएको नवौं राष्ट्रिय खेलकुद विशेषतः कास्कीमै केन्द्रित थियो । आधाभन्दा बढी खेल पोखरामै भए । रा

ष्ट्रिय खेलकुदमा केहि स्टार खेलाडी पनि थिए जसबाट सर्वोत्कृष्ट प्रदर्शनको अपेक्षा पहिलेदेखि नै थियो । केहि त्यस्ता सुपरस्टार पनि छन्, जो राष्टिय खेलकुदको समयमा मात्र चर्चामा आउँछन् ।

हामीले नवौं राष्ट्रिय खेलकुदमा उच्चस्तरको प्रदर्शनलाई निरन्तरता दिँदै स्वर्ण जित्ने खेलाडी र टिमबारे उल्लेख गरेका छौं ।

डुवाना लामा, पौडी (९ स्वर्ण १ रजत)

नेपाली पौडीकी सुपरस्टार गौरिका सिंह अस्वस्थताका कारण धेरै इभेन्टबाट नाम फिर्ता लिनुपरेपछि राष्ट्रिय खेलकुदमा अर्का खेलाडीका लागि अवसर आउनु स्वभाविक थियो । डुवानाले त्यही अवसरलाई उपयोग गरिन् ।

फिस्टेल एकेडेमीमा रहेको दूरीका कारण विवादास्पद पौडी पोखरी (सर्ट कोर्ष)मा डुवानाले ५ राष्ट्रिय कीर्तिमानसहित ९ स्वर्ण र १ रजत जितिन् । पौडी एउटा त्यस्तो खेल हो जहाँ एकै खेलाडीले दर्जनबढी स्पर्धामा सहभागी हुन पाउँछन् ।

३५ स्वर्णका लागि भएको प्रतियोगितामा डुवाना एक्लैले जितेको स्वर्ण प्रतियोगिताकै सर्वाधिक संख्या हो । यसअघि उनले तीन वर्ष अगाडि आठौं राष्ट्रिय खेलकुदमा ५ स्वर्ण र ६ रजत जितेकी थिइन् । तीन वर्षअघि १३ वर्षको उमेरमै उनले १३औं दक्षिण एसियाली खेलकुदमा २ रजत र ३ कांस्य जितेर भावी स्टारका रुपमा संकेत गरिसकेकी थिइन् ।

त्रिभुवन आर्मी क्लबका लागि खेलेकी डुवानाले २०० मिटर इन्डिभिज्युअल मिड्ले, ५० मिटर ब्रेस्टस्ट्रोक, २०० मिटर फ्रिस्टाइल, ४०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रेस्टस्ट्रोक, ८०० मिटर फ्रिस्टाइल रिले, ४०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्रेस्टस्ट्रोक र मिक्स ४०० मिटर रिलेमा स्वर्ण जितिन् । यस्तै ५० मिटर बटरफ्लाइमा रजत जितिन् ।

जयरानी थारु, एथलेटिक्स (५ स्वर्ण)

सातौं राष्ट्रिय खेलकुदमा इटहरिमा खाली खुट्टा दौडिएकी जयरानी स्वर्णको प्रतिक्षामा थिइन् । आठौं राष्ट्रिय खेलकुदमा केशरी चौधरीको छायामा परेर उनले स्वर्ण पहिरिन पाइनन् ।

त्रिभुवन आर्मीकी यी २१ वर्षीया यी खेलाडी नवौं खेलकुदकै रानी हुन् । खेलको राजा मानिने एथलेटिक्सअन्तर्गत पोखरा रंगशालामा जयरानीको प्रदर्शन शतप्रतिशत थियो । अर्थात् उनले आफू सहभागी सबै इभेन्टमा च्याम्पियन बनिन् । तीमध्ये तीन स्पर्धामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधारिन् ।

बर्दियामा जन्मिएकी उनी गत असारमा आयोजित ४४औं राष्ट्रिय एथलेटिक्समा पनि ३ स्वर्ण जितेर सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन् । ट्रयाक र फिल्ड गरी दुई क्षेत्र हुने भएकोले एथलेटिक्स खेलाडीले धेरै इभेन्टमा प्रतिस्पर्धा गर्ने अवसर पाउँछन् ।
यो अवसरलाई सदुपयोग गर्दै जयरानीले व्यक्तिगततर्फ ४०० मिटर र १०० मिटर हर्डल्स तथा लङजम्पमा कीर्तिमानसहित स्वर्ण जितिन् । ४ गुणा १ सय मिटर रिले र ४ गुणा ४ सय मिटर रिलेमा अन्य खेलाडीसँग मिलेर आर्मी टिमका लागि स्वर्ण जितिन् । ४ गुणा ४ सय मिटरमा आर्मी टिम दोस्रो भएको थियो । एपीएफका खेलाडीले गल्ती गर्दा उनीहरुलाई स्पर्धाबाट बाहिर निकालियो । दोस्रो भएको आर्मीलाई स्वर्ण दिइयो ।

दुई हर्डल्स विधामा मात्र स्वर्ण जित्ने लक्ष्य राखेकी जयरानीले ५ स्वर्ण स्वर्ण जितेपछि नसोचेको सफलता पाएको बताउँदै अब नेपालका लागि खेल्ने र ओलम्पिकमा पुग्ने सपना बनाएकी छन् ।

उनी एथ्लेटिक्स महिलातर्फ उत्कृष्ट खेलाडी समेत बनिन् । उनले देशका लागि अन्तर्राष्ट्रिय स्तरमा मेडल जित्ने सम्भावना देखाएकी छन् ।

राजु राई, जिम्न्यास्टिक (७ स्वर्ण, १ रजत)

दुई महिनाअघि माल्दिभ्समा आयोजित एसियन बडिविल्डङ तथा फिजिक च्याम्पियनसिपमा कांस्य विजेता राजु राईलाई जिम्न्यास्टिक खेलाडीका रुपमा धेरै कमले चिन्छन् । किनभने उनको चर्चा राष्ट्रिय खेलकुदको समयमा मात्र हुने गर्छ । नेपालमा जिम्न्यास्टिकको राष्ट्रिय प्रतियोगिता कमै हुने गरेको छ ।

तर, राजु राई पछिल्लो एक दशकदेखि जिम्न्यास्टिकका अविछिन्न च्याम्पियन हुन् । उनले सातौं राष्ट्रिय खेलकुदमा ७ र आठौंमा ५ स्वर्ण जितेका थिए । पोखरामा सम्पन्न प्रतियोगितामा राजुले सहभागी ८ स्वर्धामा ७ स्वर्ण जिते । एउटा स्पर्धामा दोस्रो भए ।

शिवराज पार्की, एथ्लेटिक्स (३ स्वर्ण, १ रजत)

एथलेटिक्स खेलमा लागेकाहरु सामान्यतः उमेर बढ्दै गएपछि लामो दूरीतिर ढल्किन्छन् । तर, शिवराज पार्की यस्ता अपवाद हुन् जसले मध्यम दूरीको आफ्नो विधा छाडेर स्प्रिन्ट सुरु गरे र आफूलाई प्रमाणित गरे । उनी १०० मिटर दौडमा च्याम्पियन बन्ने सबैभन्दा पाका धावक हुन् ।

लामो दूरीका स्थापित धावक गोपीचन्द्र पार्कीका कान्छा भाइ शिवराजले गत असारमा काठमाडौंमा भएको ४४औं राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिपमा १०० र २०० मिटरमा स्वर्ण जितेका थिए । त्यही लयलाई उनले नवौं राष्ट्रिय खेलकुदमा पनि निरन्तरता दिन सके । पोखरामा उनले १०० र २०० मिटरका साथै ४ गुणा १०० मिटर रिलेमा पनि स्वर्ण जिते । ४ गुणा ४०० मिटर रिलेमा उनीसहितको एपीएफ टिमले रजत जित्यो ।

आठौंमा १०० र २०० मिटरमा स्वर्ण जितेका आशिष चौधरीलाई पछि पार्दै शिवराज नयाँ स्टारका रुपमा उदाएका हुन् । उनले १०० मिटरमा आशिषलाई आन्तरिक छनोटमै पछि परेका थिए भने २०० मिटरतर्फ सँगै प्रतिस्पर्धामा रहेका आशिषलाई पछि पारेर स्वर्ण जिते ।

नवौंको अन्तिम दिन बिहीबार शिवराज र गोपीचन्द्र दुवै दाजुभाइले स्वर्ण जित्दै उत्साह मनाएका थिए ।

४५औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता समेत रहेको नवौंसहित लगातार दुई राष्ट्रिय प्रतियोगितमा स्प्रिन्टमा स्वर्ण जितेपछि अब शिवराजको लक्ष्य दक्षिण एसियाली खेलकुद र एसियन गेम्समा प्रतिस्पर्धा गर्ने रहेको छ । साथै उनले दुवै इभेन्टमा राष्ट्रिय कीर्तिमान बनाउने र नेपाललाई मेडल दिलाउन सपना राखेका छन् ।

तारादेवी पुन, भारोत्तोलन

तारादेवी पुन नेपालको ‘स्ट्रङगेस्ट’ खेलाडी हुन् । यो अर्थमा कि उनी खेलकुदमा फलाम उचाल्ने खेलमा सबै भन्दा धेरै तौल उचाल्न सक्छिन् । अहिलेसम्म उनलाई चुनौती दिने कोही देखिएको छैन । ४० वर्षको उमेरमा पनि उनको जोशमा कुनै कमी आएको छैन ।

नवौंमा तारादेवीले आफ्नो नाममा अर्को स्वर्ण थपिन् । यो थप स्वर्ण मात्र होइन, निरन्तरता र मिहिनेतको प्रतिफल पनि हो ।

एक होइन दुई होइन तीन होइन । लगातार ६ पटक राष्ट्रिय खेलकुदमा सहभागी हुँदै शतप्रतिशत नतिजा दिनु चानचुने कुरा होइन । त्यो पनि दुई वर्षको अन्तरमा राष्ट्रिय खेलकुद नभएको अवस्थामा त यो निरन्तरता झन् अचम्म र लोभलाग्दो नै छ ।

उमेरले चार दशक काटेकी तारादेवी पुनले राष्ट्रिय खेलकुद खेल्न थालेको साढे दुई दशक भइसक्यो । उनले पहिलो पटक २०५४ मा भएको चौथो राष्ट्रिय खेलकुदमा भलिबलतर्फ स्वर्ण जित्दा नजन्मेका भलिबल खेलाडीले समेत नवौँ राष्ट्रियमा भलिबलमा स्वर्ण जित्ने भइसके ।

नेपाल पुलिस क्लबकी खेलाडी तारादेवीले २०५४ सालमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट खेल्दै भलिबलबाट स्वर्ण जितेकी थिइन् ।

२०५८ यता भारोत्तोलन खेलमा लागेकी उनले २०६५ सालमा काठमाडौंमा भएको पाँचौं, २०६८ मा धनगढीमा भएको छैठौं, २०७३ मा विराटनगरमा भएको सातौं र २०७६ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितिन् ।

नवौं अन्तर्गत पोखराको उद्योग वाणिज्य संघको हलमा भएको ताराले तीन राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । उनले क्लिन एन्ड जर्कमा १०२ केजी, स्न्याचमा ७० केजी उचालेर राष्ट्रिय कीर्तिमान बनाइन् । यस्तै कुल १७२ केजीका साथ उनले तेस्रो कीर्तिमान बनाइन् । १०० भन्दा बढी भार उचाल्ने उनी नेपालकी एकमात्र महिला खेलाडी हुन् ।

प्रिन्स दाहाल, ब्याडमिन्टन (२ स्वर्ण १ कास्य)

जुनियर विशव वरीयताको शीर्ष स्थानमा पुगेर सनसनी मच्चाएका प्रिन्स राष्ट्रिय खेलकुदमा स्वर्णको पर्खाइमा थिए । नवौंमा दुई स्वर्ण जितेर उनले त्यो भोक पनि पूरा गरे ।

केहि महिनापछि सिनियर करिअर सुरु गर्न लागेका प्रिन्स घरेलु प्रतियोगितामा पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बनेका हुन् । त्यसो त जुनियरमै हुँदा पनि उनले नेपालका राष्ट्रिय स्तरको प्रतियोगितामा सिनियर खेलाडीलाई हराउन थालिसकेका थिए ।

नम्बर वान् खेलाडी दिपेश धामी र पूर्व नम्बर वानहरु रत्नजीत तामाङ र विकास श्रेष्ठ विदेश पलायन भएकाले प्रिन्सलाई सहज भयो । उनले पोखराको ब्याडमिन्टन कभर्डहलमा पुरुष एकल र डवल्समा स्वर्ण जिते । एक महिनाअघि मात्रै नेपाल पुलिस क्लबमा आबद्ध भएका प्रिन्ससहितको टिमले कांस्य जित्यो ।

२०२४ को पेरिस ओलम्पिको लागि ओलम्पिक सोलिडारिटी स्कलरसिप पाएका प्रिन्स हालै मलेसियामा प्रशिक्षण लिएर फर्केका थिए ।

नविता श्रेष्ठ, टेवलटेनिस (२ स्वर्ण र १ रजत)

टेबलटेनिस महिलातर्फ नविता श्रेष्ठले दशकयता दबदबा राख्दै आएकी छन् । नेपाल पुलिस क्लबकी नविता श्रेष्ठले नवौं राष्ट्रियमा पनि त्यो लयलाई कायम राखिन् ।

प्रतियोगिताअघि डेंगु संक्रमण हुँदा प्रदर्शन सन्तोषजनक नरहे पनि उनले महिला एकलतर्फ आफ्नै नन्द एलिना महर्जनलाई हराएर स्वर्ण जितिन् । राष्ट्रिय खेलकुदमा उनको यो लगातार चौथो स्वर्ण हो ।

उनले २०६८ मा धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुददेखि नै लगातार स्वर्ण जितिरहेकी छन् । २०६७ मा पहिलोपल्ट राष्ट्रिय च्यम्पियन बनेकी नविता समग्रमा ९ पल्टकी राष्ट्रिय च्याम्पियन हुन् ।

यस्तै नविता सम्मिलित पुलिसले महिला टिम इभेन्टमा पनि स्वर्ण जित्यो । महिला डबल्समा भने नविताको जोडीले रजत मात्र जित्यो । मिक्स्ड डवल्समा भने नेपाल नम्बर एक स्यान्टू श्रेष्ठसँग खेलेकी उनी क्वाटरफाइनलमै पराजित भइन् ।

अभिलाषा विष्ट, टेनिस (४ स्वर्ण)

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत लनटेनिसमा अभिलाषा विष्टले सर्वाधिक ४ स्वर्ण जितिन् । त्रिभुवन आर्मी क्लबकी अभिलाषाले सहभागी गरेको चारवटै स्पर्धामा स्वर्ण जितेकी हुन् ।

उनले महिला सिंगल्स, महिला डबल्स, महिला टिम इभेन्ट र मिक्स डबल्स गरी चार इभेन्टमा स्वर्ण जितेका हुन् । महिला सिंगल्समा उनले आफ्नै क्लबकी इरा रावतलाई सोझो सेटमा हराएर स्वर्ण जित्दा महिला डबल्समा आइरा महर्निषा रावतसँग मिलेर स्वर्ण जितेकी हुन् । मिक्स डबल्समा प्रनव खनालसँग मिलेर स्वर्ण जितिन् ।

एपीएफ फुटबल टिम

राष्ट्रिय खेलकुदमा टिम गेम भन्दा पनि व्यक्तिगत प्रतिस्पर्धाको धेरै चर्चा हुन्छ । तर, दर्शक तान्ने र अधिकांश देशमा खेलिने खेलहरु भने सामूहिक खेल नै हुन् ।

नवौं राष्ट्रिय खेलकुदमा नेपाल आर्मी टिम च्याम्पियन बने पनि उसले दर्शक तान्ने टिम गेममा स्वर्ण जित्न सकेन । फुटबल र भलिबल दुवैको महिला र पुरुष स्पर्धामा एपीएफले स्वर्ण जित्यो ।

फुटबलको पुरुषतर्फ एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मीलाई सडेन डेथमा ९६(५० हराएर स्वर्ण पदक जित्यो ।

महिला फुटबलमा र महिला भलिबलमा एपीएफले पुलिसलाई हरायो । पुलिसले भने क्रिकेटको महिला र पुरुषमा स्वर्ण जित्यो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?