+
+

अपराधी खोज्ने कुकुर

अंगद सिंह अंगद सिंह
२०७९ कात्तिक ७ गते ८:१५

‘मिसन जोजो ।’ अर्थात् प्रहरीले एउटा रहस्यमयी अपराध अनुसन्धानको लागि राखेको नाम । राजधानी सहरमा भएको यस्तो अपराध घटना, जसको छेउटुप्पो पत्तो लगाउन प्रहरीलाई निकै कठिन भइरहेको थियो । त्यही स्थितिमा उनीहरुले कुकुरको मद्दत लिए । कुकुरको नाम थियो, जोजो ।

गोंगबु चोक नजिकै सडकमा सुटकेसभित्र क्षत–विक्षत अवस्थामा मान्छेको लास भेटिएको थियो, जसको टाउको र खुट्टा नै थिएन । उक्त लास कसको हो ? हत्या कसले गरेको हो ? यी प्रश्नहरुको हल गर्दै अपराधीसम्म पुग्न उनै जोजोले प्रहरीलाई साथ दियो ।

घटना २०७७ साउन २५ गतेको थियो । गोंगबु चोकबाट गणेश मन्दिर छिर्ने बाटोको नवज्योति मार्गमा सडकको दाहिने किनारमा रगतले लत्पतिएको सुटकेस फेला प¥यो । सुटकेसमा टाउको र खुट्टा विनाको शव भेटियो । टाउको नभएकाले प्रहरीलाई अनुसन्धानको बाटो पहिल्याउन समस्या भयो । शवको अन्य भाग खोज्न तथा दोषी पत्ता लगाउन प्रहरीले विशेष तालिम प्राप्त ट्रयाकर कुकुर ‘जोजो’को सहारा लियो ।

सुटकेस सुँघाएर छाडिएको जोजो तीन सय मिटर पर रोकियो । जहाँ अर्को जेब्रा झोला भेटियो । झोला खोलेर हेर्दा टाउको र खुट्टा भेटियो । टाउको फेला परेपछि प्रहरीलाई शवको पहिचान गर्न सहज भयो ।

प्रहरीले अपराधी पत्ता लगाउने जोजो र ह्याण्डलर सई शंकरप्रसाद शर्मालाई सम्मान गर्यो । जोजो २०७४ सालमा बेलारुसबाट नेपाल ल्याइएको थियो ।

०००

‘तुफान’ । जर्मन शेफर्ड जातको यो कुकुरले सुदूरपश्चिमको एउटा अपराधमा प्रहरीलाई निर्णायक साथ दियो । घटना २०७८ असोज १९ गतेको थियो ।

कञ्चनपुरको चम्पापुरमा एक पुरुषको शव फेला प¥यो । ती पुरुषको हत्या कसले ग¥यो वा कसरी भयो ? प्रहरीलाई यसको निचोडसम्म पुग्न तुफानले सघायो । मृतकको कपडा सुँघाइ छाड्दा तुफानले शव भेटिएको स्थानबाट ५०० मिटर दक्षिण धानबारीसम्म गयो । धानबारीमा बँदेल मार्न धराप थापिएका विद्युतीय सामान फेला परे । प्रहरीले ती सामानलाई तुफानलाई सुँघाए । तुफान त्यहाँबाट तीन जनाको घरघरमा पुग्यो । तुफान पुगेको घरका तीनै जना व्यक्तिले पछि अपराध स्वीकार गरे ।

०००

‘पप्पी’ । जर्मन शेफर्ड जातको यो कुकुरले हराइरहेको एउटा मान्छेको स्थिति पत्ता लगाउन प्रहरीलाई सहयोग ग¥यो । घटना २०७८ चैत २९ गतेको हो । काठमाडौंको शंखरापुर नगरपालिका–७ का हरिबहादुर श्रेष्ठ घरबाट हराए । परिवारले खोजीका लागि प्रहरीलाई खबर ग¥यो । प्रहरीले ट्रयाकर विषयको तालिम प्राप्त जर्मन शेफर्ड जातको ‘पप्पी’ नामक कुकुरको प्रयोग ग¥यो ।

सबुत प्रमाणको रुपमा घटनास्थलमा रगतजस्तो पदार्थ सुँघाई पप्पीलाई छाडियो । पप्पीले ट्रयाक गरेर शाली नदी किनारमा रगतजस्तो देखिने ढुङ्गामा गएर उभियो । पप्पी त्यसपछि अगाडि बढेन । प्रहरीले पछि उनी खोलामा खसेको आकलन गर्यो । खोज्दै जाँदा उनी खोलामै डुबेको अवस्थामा फेला परे ।

०००

यी केही दृष्टान्त हुन्, जसले समाजमा व्याप्त अपराध अनुसन्धानका लागि कुकुरले कसरी साथ दिइरहेको छ भन्ने कुरा छर्लङ्ग पार्छ । सिकार, सुरक्षा र साथीका लागि ढुंगेयुगबाटै मान्छेले कुकुरसँग नाता जोड्यो । अहिले हल्काफुल्का मनोरञ्जनदेखि गहन अपराध अनुसन्धानसम्ममा कुकुरले दर्बिलो साथ दिंदै आएको छ ।

२०७८ पुस २३ गते तनहुको व्याँस नगरपालिका–११ को दरौपँधेरामा पोखरा महानगरपालिका–८ पृथ्वीचोक बस्ने ३४ वर्षीय किरणकुमार गुरुङको घटनाको अनुसन्धानमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको केनाइन शाखाबाट ट्रयाकर विषयमा तालिम प्राप्त कुकुर ‘कुशल’ परिचालन गरियो । घटनास्थलमा पाइएको प्रमाण सुँघाई हेर्दा कुशल घटनास्थलबाट चार किलोमिटर पर दमौलीबजारसम्म पुगेर व्यास नगरपालिका–११ दरौपँधेरा घर भएका पुजन तिवारीलाई संकेत गर्यो । प्रहरीले पक्रेपछि तिवारीले अपराध स्वीकार गरे ।

२०७१ असोज १४ गते राति लमजुङको पिप्ले–४ भोटेओडारमा अर्जुनप्रसाद रेग्मीसहित तीन जनाको हत्या अभियोगमा घटनास्थलमा प्राप्त सबुतको गन्ध सुँघाएर कुकुर परिचालन गर्दा ‘ज्वाला’ नामको कुकुरले संकेत गरेपछि प्रहरीले अभियुक्त राममणि रेग्मीलाई पक्राउ ग¥यो । उनले पनि प्रहरीसँगको बयानमा आफूले अपराध गरेको स्वीकार गरे ।

अपराध पहिल्याउने कुकुर

प्रहरीसँग भएका तालिम प्राप्त कुकुरले कुनै पनि घटनामा संलग्न अभियुक्तलाई मात्रै पत्ता लगाउने होइन, लागुऔषधको खोजी र पहिचान, हातहतियार तथा विष्फोटक पदार्थको खोजी, विपद् व्यवस्थापन तथा उद्धारको काम पनि गर्छन् । र, कुकुरलाई साथ लिएका यस्ता मिसन सफल भएका छन् ।

नेपाल प्रहरी केनाइन कार्यालय, महाराजगञ्जकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. देउती गुरुङ अपराध अनुसन्धानमा तालिम प्राप्त कुकुरले निकै सघाएको बताउँछिन् । ‘प्रहरीलाई हम्मेहम्मे परेका कतिपय अपराधका घटनामा कुकुरको साथ खोजिएको छ,’ उनी भन्छिन्, ‘त्यस्ता अपराधको प्रवृत्ति र पात्र पहिल्याउन कुकुर सफल भएका छन् ।

तालिम प्राप्त कुकुरको माध्यमबाट नेपाल प्रहरीले जटिल घटनामा पनि सफलता हात पारेको छ,’ गुरुङ भन्छिन्, ‘तालिम प्राप्त कुकुरले अनुसन्धान अधिकृतलाई हम्मेहम्मे परेका जधन्य अपराधका घटनामा अपराधीलाई पक्रिन सहज बनाइदिएको छ ।’

तालिम प्राप्त कुकुरको माध्यमबाट प्रहरीलाई अपराधीसम्म पुग्न सहज भएको र सजिलै अपराधी पत्ता लाग्ने भएका कारण प्रहरीले सातै प्रदेशमा प्रदेश केनाइन शाखा स्थापना गरेको उनी बताउँछिन् ।

क्राइमसिनदेखि अपराधीसम्म पुग्ने माध्यम

नेपाल प्रहरीसँग भएका कुकुरले जघन्य अपराधका घटनामा प्रहरीलाई निकै ठूलो सहयोग गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतो ।

‘प्रहरीसँग भएका कुकुरले घटनास्थलदेखि अभियुक्तसम्मको काम निकै बफादारीपूर्वक गरिरहेका छन्,’ महतो भन्छन्, ‘विशेष तालिम प्राप्त कुकुर घटनास्थल, क्राइमसिन र अपराधीसम्मको सम्बन्ध सेतु हो ।’

प्रविधि र विज्ञानको विकाससँगै अपराधी ‘एड्भान्स’ बन्दै गइरहेको अवस्थामा प्रहरीलाई जटिल लागेका तथा अनुसन्धानलाई टुंगोमा पुर्याउन नसकिएका घटनामा कुकुरको प्रयोगले निकै सहज भएको महतो बताउँछन् ।

‘तालिम प्राप्त कुकुरको सुँघ्न सक्ने क्षमता र काम गर्ने कलाले प्रहरीलाई अपराधीसम्म पुग्न निकै सहज भएको हो । कुकुरको प्रयोगले अपराधी पक्रिन सहज हुनुका साथै र अपराध गरे एक न एक दिन सजाय भोग्नुपर्छ भन्ने मानसिकता पनि विकास भएको छ । त्यसका लागि तालिम प्राप्त कुकुरको संख्या थप्ने योजना बनाइरहेका छौं,’ ब्युरोका प्रवक्ता महतो भन्छन् ।

प्रहरी कुकुरको प्रयोगबाट जघन्य अपराधका घटनाका दोषीलाई पक्राउ गर्न सफल भएकाले कुकुरप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको एसएसपी गुरुङ बताउँछिन् । ‘अपराध गरेको मान्छे त्यसै डराइरहेको हुन्छ । त्यसमाथि कुकुरले पत्ता लगाएका अभियुक्तले सहजै अपराध स्वीकार गरेका छन् । कुकुरले गरेको कामप्रति विश्वास बढ्दै गएका कारण अहिले जघन्य अपराधका घटनामा कुकुरको माग बढिरहेको छ,’ उनले भनिन् ।

प्रहरीसँग सात प्रजातिका ९५ कुकुर

नेपाल प्रहरीसँग सात प्रजातिका ९५ कुकुर रहेका छन् । प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा कुकुर राखेको छ ।

नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागुऔषधसम्बन्धी काम गर्ने पाँच, अपराधीको खोजी गर्ने पाँच, विपद् व्यवस्थापन सम्बन्धी १६ र तालिमरत सात गरी ३८ कुकुर रहेका छन् ।

त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमान सुरक्षा कार्यालयमा सात, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा ६, विराटनगर विमानस्थलमा चार, मधेश प्रदेश प्रहरी कार्यालय लालगढमा तीन, जनकपुर विमानस्थलमा तीन, वीरगञ्ज–रक्सौल सिमानामा तीन, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सात, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा आठ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा चार, कर्णाली प्रदेश प्रहरी कार्यालय कोहलपुरमा ६ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा ६ वटा विशेष तालिम प्राप्त कुकुर रहेका छन् ।

देशभर लागुऔषध सम्बन्धी २५, लोकेसन ट्रयाकर सम्बन्धी १७, उद्धार सम्बन्धी ११, विपद् व्यवस्थापन सम्बन्धी ३५ र तालिमरत सात कुकुर रहेको नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जले बताएको छ ।

प्रहरीसँग भएका कुकुरमध्ये सबैभन्दा बढी जर्मन शेफर्ड प्रजातिका कुकुर रहेका छन् भने त्यसपछि ल्याब्राडोर र बेल्जियन शेफर्ड रहेका छन् । केनाइन कार्यालयको तथ्यांक अनुसार  जर्मन शेफर्ड ४०, ल्याब्राडोर २०, गोल्डेन रिट्रिभर १४ बेल्जियन शेफर्ड १३, बिगल चार,  क्रोकर स्पाइनियल तीन, डच सेफर्ड एक तालिम प्राप्त कुकुर रहेका छन् ।

जर्मन शेफर्ड र बेल्जियन शेफर्ड बढी प्रभावकारी

वरिष्ठ प्रहरी उपरीक्षक गुरुङका अनुसार अध्ययन अनुसन्धानमा सबैभन्दा बढी प्रभावकारी जर्मन शेफर्ड र बेल्जियन शेफर्ड रहेका छन् । तर अहिले नेपाल प्रहरीले जर्मन शेफर्ड भन्दा बढी प्राथमिकता बेल्जियन शेफर्डलाई दिइरहेको छ । कुकुरको ज्यान जति ठूलो भयो त्यति नै त्यसको आयु कम हुने गुरुङ बताउँछिन् ।

उनका अनुसार जर्मन शेफर्डको औसत आयु आठदेखि १३ वर्ष हुन्छ । उसको ज्यान भारी र ठूलो भएका कारण पनि उसले बढ्दो उमेरसँग राम्ररी काम गर्न सक्दैन ।

बेल्जियन शेफर्ड प्रजातिको कुकुर जर्मन सेफर्ड भन्दा सानो र आयु बढी हुने भएकाले त्यसलाई प्राथमिकता दिइरहेको केनाइन कार्यालयको भनाइ छ । अपराध अनुसन्धानमा खटिने कुकुरले ६ देखि आठ वर्षसम्म काम गर्न सक्छ ।

अपराध अनुसन्धानमा खटिने प्रजातिका कुकुर विदेशबाट ल्याउनुपर्ने भएकाले नेपालको हावापानीमा घुलमिल हुन नसकेका कारण छिटो रोग लाग्ने तथा अशक्त हुने गुरुङ बताउँछिन् ।

कामको प्रकृतिअनुसार समूह वर्गीकरण

अपराधीको खोजी तथा पहिचानमा ट्रयाकर डग

प्रहरीले अपराधको प्रकृतिअनुसार कुकुरलाई तालिम दिने गरेको छ । अपराधीको खोजी तथा पहिचानका लागि प्रहरीले ट्रयाकर डगको प्रयोग गर्ने गरेको छ ।

गुरुङका अनुसार हत्या, अपहरण, चोरी र लुटपाटजस्ता घटनामा संलग्न व्यक्तिको खोजी तथा पहिचानका लागि ट्रयाकर डगको प्रयोग गरिन्छ । त्यस्ता घटनामा ट्रयाकर डग प्रयोगको पहिलो सर्त घटनास्थलको सुरक्षा रहेको गुरुङ बताउँछिन् ।

घटनास्थल सुरक्षित रहेमा, आवश्यक सबुत प्रमाण भएमा, प्राप्त सबुत सम्बन्धी व्यक्तिमाथि शंका लागेमा, शंका गरेको व्यक्ति पक्राउ परेको तर मुख्य अभियुक्तको पहिचान वा सनाखत हुन नसकेमा र घटनामा संलग्न व्यक्ति पक्राउ परेको तर घटना–अभियुक्तबीचको सम्बन्ध खुल्ने किसिमको सबुत प्रमाण प्राप्त नभएको अवस्थामा ट्रयाकर डगको प्रयोग गरिन्छ ।

लागूऔषध खोजी एवं पहिचानमा ड्रग डिटेक्सन डग

लागूऔषधजन्य सामग्रीको अवैध ओसारपसार, बिक्री वितरण तथा प्रयोग हुनबाट रोक्न र त्यसको प्रयोगबाट हुने सम्भावित खतरालाई न्यूनीकरण गर्न प्रहरीले ड्रग डिटेक्सन डगको प्रयोग गर्छ ।

विमानस्थल, बसपार्क, होटल तथा रेष्टुरेन्ट, सीमा नाका, पर्यटकीयस्थल तथा भीडभाड हुने स्थान र शंकास्पद स्थानमा प्रहरीले ड्रग डिटेक्सन डगको प्रयोग गर्छ ।

हातहतियार तथा विष्फोटक पदार्थको खोजी गर्न आर्मस एण्ड एक्सप्लोसिभ डग

विष्फोटकजन्य पदार्थको अवैध ओसारपसार, बिक्री वितरण तथा प्रयोग हुनबाट रोक्न र मानवीय तथा भौतिक क्षति हुन नदिन आर्मस एण्ड एक्सप्लोसिभ डगको प्रयोग गरिने केनाइन कार्यालयले बताएको छ ।

विशिष्ट व्यक्तित्वको भ्रमण तथा आवागमन, भीडभाड हुने सभा–समारोहमा, बम तथा विष्फोटक पदार्थ राखेको शंकास्पद स्थानमा र विमानस्थल, बसपार्क तथा सीमानामा आर्मस एण्ड एक्सप्लोसिभ डगको प्रयोग गरिन्छ ।

खोजी तथा उद्धार कार्यमा सर्च एण्ड रेस्क्यु डग

प्राकृतिक विपद् मात्रै नभई मानवजन्य आपराधिक क्रियाकलाप, अपहरण तथा शारीरिक बन्धकलगायत हराइरहेका मान्छेको खोजी तथा उद्धार गर्ने कार्यमा सर्च एण्ड रेस्क्यु डग प्रयोग गरिने गुरुङ बताउँछिन् ।

‘बाढी पहिरो जस्ता प्राकृतिक विपद्मा परी हराएका, पुरिएका अपहरणमा परेका, बन्धक बनाइएका व्यक्तिको खोजी गर्न सर्च एण्ड रेस्क्यु डगको प्रयोग गरिन्छ,’ उनी भन्छिन् ।

यसरी दिइन्छ कुकुरलाई तालिम

नेपाल प्रहरीले थाइल्याण्ड, बेलायत, जर्मन, अमेरिकालगायत देशबाट कुकुरका छाउरा ल्याउने गरेको छ । विदेशबाट ल्याइएका छाउरालाई ६ महिना पुगेपछि उसलाई आधारभूत तालिममा सहभागी गराइन्छ । विभिन्न प्रजातिका कुकुरलाई आधारभूत तालिम दिएपछि उसको क्षमता अनुसार वर्गीकरण गरेर अपराध अनुसन्धानमा प्रयोग गरिने वरिष्ठ प्रहरी उपरीक्षक देउती गुरुङ बताउँछिन् ।

आधारभूत तालिममा कुकुरलाई अनुशासित बनाउने, मान्छेसँग घुलमिल हुन सिकाउने र बाँकी एक वर्षसम्म सम्बन्धित अपराध अनुसन्धान सम्बन्धी तालिम दिने गरिन्छ ।

अपराध अनुसन्धानमा तालिम प्राप्त कुकुरलाई एक जनाले मात्रै तालिम दिने र ह्याण्डलसमेत एक जनाले नै गर्छन् । तर अहिले प्रहरीले सहायक ह्याण्डलर समेत राख्ने व्यवस्था गरेको छ ।

कसरी पुग्छन् अभियुक्तसम्म कुकुर ?

कुकुरमा सुँघ्ने क्षमता निकै बढी हुन्छ । सुँघ्ने क्षमताकै आधारमा कुकुरले अपराधी पत्ता लगाउने गुरुङ बताउँछिन् । ‘मान्छेपिच्छे फरक–फरक गन्ध हुने भएका कारण कुकुर सजिलै अपराधीसम्म पुग्छ,’ उनी भन्छिन् ।

घटनास्थलमा भएका सबुत प्रमाण भएको मान्छेको गन्ध सुँघेर कुकुरले अपराधी पत्ता लगाउने गुरुङ बताउँछिन् । अपराधीले घटनास्थलमा सबुत प्रमाण नछाडे पनि पाइलाको गन्धका कारण कुकुर सजिलै अपराधीसम्म पुग्ने उनको भनाइ छ ।

सुँघ्ने क्षमताले अब्बल कुकुर

नेपालमा पाइने भोटे प्रजातिको कुकुरको सुँघ्ने क्षमता १५० मिलियन हुन्छ भने जर्मन शेफर्ड, बेल्जियन शेफर्ड र ल्याब्राडर प्रजातिका कुकुरमा ३०० देखि ३५० मिलियनसम्म हुन्छ । यही सुँघ्न सक्ने क्षमताका कारण बेल्जियन शेफर्ड र जर्मन शेफर्ड जस्ता तालिम प्राप्त कुकुर सहजै अपराधीसम्म पुग्छन् ।

प्रहरीको भन्दा बढी खर्च

प्रहरीको रासन भत्ता सुगम दुर्गम अनुसार फरक–फरक हुने गर्छ । सुगममा मासिक रासन खर्च  करिब पाँच हजारदेखि ६ हजारसम्म हुन्छ । यसरी हिसाब गर्दा पाँच हजारमा दिनको १६६ रुपैयाँ पर्न आउँछ भने छ हजारले दैनिक २०० रुपैयाँ । प्रहरी कर्मचारी भन्दा कुकरले बढी रासन भत्ता पाउँछन् ।

तर प्रहरीको अपराध अनुसन्धानमा प्रयोग गरिने कुकुरले दैनिक ६०० देखि ७०० रुपैयाँसम्म खाना खान्छ । कुकुरको खाना उमेर र काम अनुसार फरक पर्ने गुरुङ बताउँछिन् । ठूलो कुकुरलाई बिहान बेलुका दैनिक दुई छाक खाना दिइन्छ भने सानो उमेरकालाई तीन छाक खाना दिइन्छ ।

तालिम प्राप्त र अनुसन्धानमा खटिने कुकुरलाई ‘गड फुड’ खुवाइन्छ । एउटा स्वस्थ कुकुरले एक पटक ६०० ग्रामदेखि एक किलोसम्म खाना खान्छ । कुकुरको स्वास्थ्य उपचार तथा स्याहारका लागि सरकारले समेत बजेट छुट्याएको हुन्छ ।

छोराछोरीभन्दा बढी माया

विदेशबाट स–साना कुकुरका छाउरा ल्याएर पाँच–छ महिनाबाट तालिम दिन सुरु गर्ने गरेको प्रहरीलाई सुरुमा तालिम दिन गाह्रो पर्ने गरेको ह्याण्डलर बताउँछन् ।

११ वर्षदेखि केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा कुकरलाई तालिम दिने तथा ह्याण्डलर हवल्दार भीमप्रसाद गौतम प्राणीलाई मानवजस्तो काम गर्न सक्ने बनाउनु र भनेको मान्न सक्ने बनाउनु निकै चुनौतीपूर्ण भएको बताउँछन् ।

‘अवोध प्राणीलाई तालिम दिएर अपराध तथा अपराधी पत्ता लगाउन सक्ने बनाउनु निकै चुनौतीपूर्ण काम हो,’ गौतम भन्छन्, ‘तर कुकुर तालिममा अब्बल भएर अपराधी पत्ता लगाउन सक्ने बन्दा निकै खुसी लाग्छ । तालिम दिन गरेका दुःख र प्रयासले काम गर्न थप प्रेरणा दिन्छ ।’

गौतमले कुकुरलाई ट्रयाकर गर्न, सर्च एण्ड रेस्क्यु, विष्फोटक पदार्थको पहिचान तथा खोजी र लागुऔषध सम्बन्धि तालिम दिने गरेका छन् ।

कुकुरलाई तालिम दिन अपराधी पत्ता लगाएपछि बाहिरका मान्छेले सोचेजस्तो सजिलो नभएको बताउँछन् अर्का ह्याण्डलर कृष्ण सेन ।

‘कुकुरलाई तालिम दिएर मान्छेभन्दा राम्रो काम गर्न सक्ने बनाउनु निकै चुनौतीपूर्ण काम हो,’ उनी भन्छन्, ‘तर कुकुरले अपराध तथा अपराधी पत्ता लगाउन थालेपछि सबै कुरा बिर्सेर काम गर्न झन् उत्साह थपिन्छ ।’

१३ वर्षदेखि केन्द्रमा रहेर कुकुरलाई तालिम दिई अब्बल बनाइरहेका वरिष्ठ प्रहरी हवल्दार सेन घरपरिवार तथा छोराछोरीलाई भन्दा बढी समय कुकुरलाई दिने हुँदा छोराछोरीको भन्दा बढी माया लाग्ने बताउँछन् ।

‘सानो छाउरादेखि रेखदेख पालनपोषण तथा तालिम दिएर मान्छेभन्दा राम्रो काम गर्ने बनाउने र घटनास्थलदेखि अपराधीसम्म पुग्दा पनि कुकुर आफूसँगै रहने हुनाले छोछोरीकोभन्दा बढी माया लाग्छ,’ अनलाइनखबरसँग उनी भन्छन् ।

तर कुकुरले अपराध तथा अपराधी पत्ता लगाउँदाको क्षण र सफलताले आफूहरुको हौसला बढाउने उनी बताउँछन् ।

२०३२ सालमा केनाइन शाखा स्थापना

नेपाल प्रहरीले २०३२ सालदेखि कुकुर सेक्सन स्थापना गरेर अपराध अनुसन्धानका लागि कुकुर पाल्न थालेको हो । केनाइन शाखाको स्थापना हुनुअघि नेपाल प्रहरीले दुई जना प्रहरी अधिकृतलाई कुकुरबारे तालिम लिन मलेसिया पठाएको थियो । त्यसपछि २०३२ सालबाट प्रहरीले व्यवस्थित रुपमा अपराध अनुसन्धानमा कुकुरको प्रयोग गर्न थालेको हो ।

२०२६ सालमा मलेसियाबाट ल्याइएको दुईटा र नेपालमा खरिद गरिएको दुई गरी चार  तालिम प्राप्त कुकुरबाट प्रारम्भ भएको केनाइन सेवामा अहिले सात प्रजातिका ९५ कुकुर रहेका छन् भने वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा १६५ जनाको दरबन्दी कायम गरेर अपराध अनुसन्धानमा प्रहरीले कुकरको प्रयोग गर्दै आइरहेको छ ।

रिटायर भइसकेका कुकुरलाई तालिम केन्द्रमै राखेर नमरुन्जेलसम्म पाल्ने गरेको एसएसपी गुरुङ बताउँछिन् । रिटायर कुकुरको स्याहारसुसार सेवामा रहँदाजस्तो नभए पनि सामान्य खानाको व्यवस्था र स्वास्थ्योपचार हुने गरेको छ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?