+
+

हाइप्रोफाइल बुवाहरुबीच छोरीलाई भोट मागिरहेका यी सर्वसाधारण बुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १९:५९

६ कात्तिक, काठमाडौं । बाबुराम भट्टराई होउन् या रोमी गौचन, शिवपुजन राय होउन् या आफताब आलम । पिताहरुलाई लाग्छ, सन्तानका लागि केही गरौं ।

गनेचुनिएका नेताहरु नै आफ्ना छोराछोरीलाई डोर्‍याउँदै भोट माग्न हिँडिरहेका बेला काठमाडौं २ का कृष्ण गौतम पनि आफ्नी छोरीलाई लिएर भोट माग्दै हिँडिरहेका छन् । तर उनी अरुजस्ता ‘गन्यमान्य बुवा’ होइनन्, आफ्नो पेशा गरिखाने सर्वसाधारण ट्रेकिङ गाइड हुन् ।

कृष्णकी छोरी सोविता गौतम काठमाडौं २ मा सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्ती तथा एमालेका मणिराम फुयालसँग प्रतिस्पर्धामा छिन् । सभामुख भइसकेकी माओवादी नेतृ अनि काठमाडौंको जिल्ला राजनीतिमा दह्रो नाम बनाएका फुयालका बीच अचानक यी २७ वर्षे युवतीको बारेमा गफगाफ सुरु भएको छ ।

कानुन व्यवसाय, मिडिया हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा हाम फाल्दै गर्दा उनको चर्चा राजधानी शहरको सम्भावित प्रभावशाली उम्मेदवारकै रुपमा चल्दैछ । उनी त्यही ठाउँमा चुनाव लड्दैछिन्, जसले केही महिनाअघि ठूला दलहरुका बीचबाट स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र शाहलाई चुनाव जितायो ।

तर काठमाडौं २ ले शहरका ‘कोर एरिया’ र घनाबस्ती समेट्दैन । त्यसैले नाङ्लेभारे, जहरसिंह पौवालगायत पाखापखेरामा सारी, ब्लाउज र स्पोर्टस् जुत्तामा ठाँटिएर ठमठम भोट माग्न हरेक दिन घरबाट बुवासँगै निक्लनु सोविताको दिनचर्या भएको छ । अर्मानीको पातलो ज्याकेट, काठमान्डु ब्रान्डको ट्र्याक सुट, अनि गोल्डस्टारको ट्रेकिङ सुजमा छोरीसँग मत माग्न बिहानै निस्कन्छन् कृष्ण ।

ठमेलमा एक कम्पनी खोलेर ट्राभल टुर गराइरहेका कृष्ण हिजोआज कम्पनीको कामबाट केही दिन छुट्टी लिएर छोरीका लागि गाडी चलाइरहेका छन् । ट्राभल कम्पनीकै गाडीमा घुमिरहेकी उम्मेदवार छोरी भने ‘टुरिस्ट’ नभएको उनको जिकिर छ । उनको संकेत यसअघि रोल्पाबाट चुनाव लड्दै आएकी ओनसरी घर्तीप्रति हुन सक्थ्यो ।

खासमा कृष्णलाई सुरुमा देख्दा हामीले ठानेका थियौं, उनी चुनाव अभियानका एक कार्यकर्ता हुन् । उनले हाँस्दै सकारे पनि, ‘हो हो, म यतिबेला यसको कार्यकर्तै हुँ । अरु बेला चाहिँ स्वतन्त्र नागरिक ।’ उनकी पत्नी सरकारी जागिरे छिन् । छोरी सोविताभन्दा मुनि एक छोरा छन् ।

०४६ को जनआन्दोलनका बेला भर्खरै काठमाडौं छिरेका थिए कृष्ण । ०६२/६३ को दोस्रो जनआन्दोलनमा कोटेश्वर क्षेत्रमा अरुसँग जुलुसमा हिँड्दा गोली चलेको पनि देखे। भोलिपल्ट राजा ज्ञानेन्द्रले हात उठाएको घोषणा गरिहाले । केही महिनापछि देश गणतन्त्रमा गयो ।

तर क्रान्तिको कसम खाएका दलका नेताहरुले व्यवहारमा गणतन्त्रको अभ्यास नगरेको, बरु अर्को नाममा राजतन्त्रकै वंशवादी व्यवहार गरेको कृष्णको गुनासो छ । ‘हामीले गणतन्त्र नै चाहेका थियौं, तर यस्तो गणतन्त्र होइन’, उनले भने, ‘जनताले अवसर नपाउने, शक्तिशालीका छोराछोरीले मात्रै अवसर पाउने भए केका लागि यो परिवर्तन ? त्यही भएर ठूला दलका नेताहरुको गतिविधि देखेर जनताले विकल्प खोज्न थालेका छन् ।’

हुन पनि यो चुनावको तयारी हेर्दा आदर्श र भ्रमका सबै पर्दाहरु च्यातिने लक्षण छन् । प्रधानमन्त्री भइसकेर नयाँ शक्ति बनाउने घोषणा गरेका बाबुराम भट्टराई यसअघिका चुनावमा सिंगो राष्ट्र बनाउने, बदल्ने एजेन्डा अघि सार्थे, देश दौडाहा गर्थे । अब यी हाइप्रोफाइल बुवाको संसार भन्नु नै काठमाडौं–७ भएको छ ।

त्यसैले पार्टी, संगठन र कार्यकर्ताप्रतिको अभिभावकत्व बिर्सेर यसपल्ट उनी खुम्चिएका छन् छोरीका टोल भेलाहरुमा । भट्टराई आफ्नी पत्नी तथा नेतृ हिसिला यमीसहित हरेक दिन छोरी मानुषी यमी भट्टराईलाई जिताउन घरदैलोदेखि फेसबुक, ट्वीटरसम्म सक्रिय छन् ।

पत्नी हिसिला यमी पनि काठमाडौं–७ भन्दा दायाँबायाँ गर्ने स्थितिमै छैनिन् । मञ्चमा बाबुराम र हिसिला, पोडियममा मानुषी भाषण गर्दै हुन्छिन् । हिजोआज मानुषीका भाषणमा दोहोरिने वाक्य हुन्, ‘म काठमाडौं ७ कै हुँ । बाल्यकाल यतै बित्यो, स्कुल यतै ।’

मानुषीलाई चिन्ने एक लेखकले अनलाइनखबरसँग भने, ‘उहाँले भनेका वाक्य कस्तो कृत्रिम सुनिएका । त्रिविमा स्ववियु सचिव हुनुभएको अस्तिमात्रै हो । अहिले वर्षैभरि तालाबन्दी हुँदा उहाँले कहिल्यै मुख खोलेको सुनिएन । अचेल बुवाआमाको हात समाएर प्रचारमा जाँदा उहाँलाई कस्तो अप्ठेरो नलागेको ?’

खैर, यसको जवाफ कुनै बेला उनले नै देलिन् । तर छोराछोरी बोकेर चुनावमा जाने हाइप्रोफाइल बाबुराम-हिसिलामात्रै होइनन् । कांग्रेस नेता रोमी गौचनले आफ्नो टिकट पुस्तान्तरण गरे आफ्नै घरमा । उनका २९ वर्षे छोरा योगेश गौचन थकाली प्रतिनिधिसभामा मुस्ताङमा कांग्रेसबाट उम्मेदवार बन्दा अरु आकांक्षी चकित परे ।

पूर्वसांसद तथा माओवादी नेता शिवपुजन रायकी छोरी मधुमाला राय सर्लाही ४ बाट स्वतन्त्र प्रतिस्पर्धामा छिन् । शिवपुजन हिजोआज छोरीका लागि दिलोज्यान दिएर भोट मागिरहेका छन् ।

रौतहटमा इँटाभट्टामा जिउँदै मान्छे पोलेको अभियोगमा थुनिएका पूर्वसांसद आफताब आलमले जेलबाटै छोरा फिरदोस आलमलाई आफूले लड्दै आएको रौतहट २ बाट उम्मेदवारी थमाउने वातावरण बनाएका छन् ।

जसपा नेतृ रेणु यादवका छोरा अभिषेक यादव आमाकै दल जसपाबाट सप्तरी ४ (ख) बाट प्रदेशसभामा उम्मेदवार छन् । मधेश आन्दोलन हाँकेर नेता बनेका उपेन्द्र यादव उनै रेणुको दल जसपाका केन्द्रीय अध्यक्ष हुन् । उपेन्द्रले अस्ति विराटनगर महानगरको उपमेयरमा छोरा अमरेन्द्र यादवलाई अघि सारे । छोरा पराजित भए ।

यी केही प्रतिनिधि नाममात्रै हुन् । देशैभरि गणतन्त्रका वंशवृक्षहरुको तामझाम बेग्लै छ । राजनीतिक दलमा लागेर अवसरका आकांक्षीहरुको मौका कुन बेला, कुन हाइप्रोफाइल परिवारले खोसिदिने हो, पत्तै छैन ।

कृष्ण गौतमलाई यी सबै नामहरुबारे जानकारी रहेनछ खासमा । आन्दोलनहरुमा हिँडे पनि आफैंले राजनीति गरुँ भनेर सोचेनन् उनले । आफूलाई एउटा नागरिकको हिसाबले मनमा जे लागे पनि कुनै पहलकदमी लिने सोच थिएन कृष्णको ।

छोरीले अकस्मात् राजनीतिमा लाग्ने निर्णय गरेपछि भने घरमा एक किसिमको आश्चर्य र विस्मय दुवै भएको उनी सकार्छन् । ‘जे भए पनि छोरीको निर्णय हो, सानैदेखि आफूले चाहेको कुरा हुनैपर्ने जिद्दी गर्थी’, उनले भने, ‘हामीलाई त उसले सोचेको राम्रै होला भन्ने लागेको छ । त्यसैले साथ दिने सोच बनायौं ।’

म्यागेसेसे पाएका विख्यात भारतीय पत्रकार रविश कुमारले सोविता गौतमको दृष्टिकोण र प्रस्तुतिको प्रशंसा गर्दै चार महिनाअघि काठमाडौंस्थित ‘हिमाल मिडिया मेला’ मा बोल्दा सोविताको राजनीतिक यात्रा सुरु भइसकेको थिएन । उनी थिइन्, एक उदाउँदी पत्रकार । यी बीचका महिनाहरुमा अकस्मात् उनको यात्रा मोडिएको छ ।

यसरी नै नयाँ पुस्ता राजनीतिमा हाम फाल्ने क्रममा छ । नेताकै छोराछोरी पनि आइरहेका छन् । कृष्ण यसलाई आफैंमा नराम्रो मान्दैनन् । तर राजाकै छोराछोरीले लाभ पाएझैं वातावरण बन्नुचाहिँ उनले सुखद मानेका छैनन् ।

‘आफ्नै प्रयास र संघर्षले आउनुपर्‍यो, बुवाआमाको ब्याज खानेगरी होइन’, उनी छोराछोरीहरुलाई पनि प्रश्न र सुझाव दिन्छन्, ‘पार्टीको नाममा पनि वंश परम्परा नै चलाउने हो भने त राजतन्त्र भन्दा के फरक भयो ?’ उनले यस्तो प्रवृत्तिविरुद्ध आफ्नी छोरीमात्रै होइन, अरुका सन्तान पनि ओर्लनुपर्ने बताउँछन् ।

चुनाव हो, मतबाकसको बाहिर शुभलाभ लेख्दैमा सबै भोट आफ्नो पक्षमा झरिहाल्छन् भन्ने केही छैन । जितियो भने त सक्किगो, हारियो भने के गर्ने ? हामीले यो प्रश्न सोध्यौं, उम्मेदवार सोवितालाई । उनले नतिजा जे आए पनि आफ्नो यात्रामा रोकावट नआउने प्रतिवद्धता जनाइन् । काठमाडौं २ का नागरिकका लागि समर्पित भएर काम गरिराख्ने योजना उनले सुनाइन् ।

सोवितामा धेरथोर हडबडी हुनु स्वाभाविक हो । यसै पनि यो उनका लागि पहिलो चुनाव हो । तर बुवा कृष्ण भने स्थिर देखिन्छन् । उनलाई छोरीको यात्राबारे कुनै शंका छैन । ‘राजनीतिमा केही गरुँ भनेर छोरीले चाहना गरी, एउटा बाबुको नाताले आफूले सक्नेजति योगदान गरुँ भनेर उसको पछाडि हिँडेको छु’, अनलाइनखबरसँग कृष्णले भने, ‘उसका लागि मैले ग्राउन्डमा निकै राम्रो परिस्थिति देखें । यही लहर अन्तिमसम्म रहे यसले केही गर्छे ।’

उनले यसो भन्दै गर्दा मुसुमुसु हाँसिरहेकी सोविता अकस्मात भावुक बनिन् । यी एक आम पिताले छोरीको टाउकोमा हात राखिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?