+
+

दोस्रो भिडन्तमा आङदेम्बे र नेम्वाङ

दीपक बोहोरा दीपक बोहोरा
२०७९ कात्तिक ७ गते १५:२३

७ कात्तिक, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा पुरानै प्रतिस्पर्धी पाँच वर्षपछि फेरि आमनेसामने भएका छन् । नेकपा एमालेका बसन्तकुमार नेम्वाङ र नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे ४ मंसिरको चुनावमा सांसद बन्न प्रतिस्पर्धामा छन् । कांग्रेस सहमहामन्त्री आङ्देम्बेलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थन छ भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा छ ।

दुबैले जिल्लाको विकास निर्माणलाई आफ्नो प्राथमिकतामा राखेका छन् र आफूले चुनाव जित्ने दावी गरेका छन् । कांग्रेस नेता आङ्देम्बेले चुनाव जितेमा आफू मन्त्री हुने भन्दै प्रचार गरेका छन् भने एमाले नेता नेम्वाङले आफूले मन्त्री हुँदा सुरु गरेको योजना अधुरै रहेकाले त्यसलाई पूरा गर्न आफैंले जित्नुपर्ने बताएका हुन् ।

‘यसअघि संविधान सभा सदस्यको हैसियतमा संविधान निर्माणमा महत्वपूर्ण योगदान दिएको छु,’ आङ्देम्बे भन्छन्, ‘अहिलेसम्म निर्माणको काम गर्ने ठाउँमा हालसम्म नपुगेकाले पाँचथरे जनताले सोचेअनुरुप काम गर्न सकिन, यो पल्ट त्यो अवसर आएको महसुस गरेको छु ।’

पाँचथरका विभिन्न रुटमा साइक्लिङ लगायतका साहसिक खेलको सम्भावना रहेको, जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा विकास गरेर ठूलो रोजगारीको सम्भावना रहेको आङ्देम्बेले बताएका छन् ।

एमाले नेता बसन्तकुमार नेम्वाङले यसअघिका अधुरा योजना पूरा गर्नको लागि उम्मेदवारी रहेको बताउँछन् । ‘म मन्त्री हुँदा आएका योजना अधुरा मात्र होइन अपुरो पनि रहेका छन् । म मन्त्रीबाट बाहिरिएपछि ती योजनाहरुले गति लिन पाएका छैन । ती योजना पूरा गर्न र समृद्ध पाँचथर निर्माण गर्नको लागि मेरो उम्म्मेदवारी हो’, उनले भने ।

राँके–रवि–भेडेटार सडक खण्ड कालोपत्रे योजना पूरा गर्ने र पाँचथरका घरघरमा बिजुली पुर्‍याउने पनि आफ्नो एजेण्डा रहेको नेम्वाङले बताए ।

तमोर करिडोर सडक सम्पन्न गर्ने, मध्यपहाडी लोकमार्गको अधुरो काम पूरा गर्न पनि आफूले जित्नु पर्ने दाबी उनको छ ।

पाँचथरको अंक गणित

२०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा पाँचथरको एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र सबैमा बाम गठबन्धनका उम्मेदवार निर्वाचित भएका थिए । प्रतिनिधिसभामा एमालेका नेम्वाङ निर्वाचित हुँदा एउटा प्रदेशसभामा एमाले र अर्कोमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा कांग्रेसका आङ्देम्बे नेम्वाङसँग १० हजार भन्दा बढी मतान्तरले पराजित भएका थिए ।

२०७४ सालमा नेम्वाङले ३८ हजार ६१६ मत पाउँदा आङ्देम्बेले २८ हजार ३५ मत प्राएका थिए । तर अघिल्लो पटक निर्वाचित नेम्वाङ एक्लै प्रतिस्पर्धामा हुँदा पहिले पराजित आङ्देम्बेले माओवादी केन्द्रको साथ पाएका छन् ।

३० वैशाखको स्थानीय तहको निर्वाचनमा दलहरुले वडास्तरमा पाएको मत हेर्दा पाँचथरमा एमाले नै पहिलो हो । तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले पाएको मत एक ठाउँमा राख्दा एमालेको भन्दा १२ हजार मत बढी हुन्छ ।

वडातहमा एमालेले ३० हजार ९५८, नेपाली कांग्रेसले २५ हजार ६५, नेकपा माओवादी केन्द्रले ११ हजार ८०८, एकीकृत समाजवादीले २ हजार १६१, जनता समाजवादी पार्टीले २ हजार ६४३ र राप्रपाले १, ९०९ मत पाएका छन् ।

जिल्लाका ८ स्थानीय तहमध्ये ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ भने एमाले र माओवादीले एक–एक पालिका जितेका छन् । कांग्रेसले कुम्मायक, तुम्मवेवा, फालेलुङ, फाल्गुनन्द र हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकाको नेतृत्व जितेको छ ।

त्यस्तै माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिका र एमालेले याङवरक गाउँपालिकाको नेतृत्व जितेको छ ।

नेम्वाङ २०४८ र २०५६ र २०७४ मा सांसद भइसकेका नेता हुन् । उनी केपी शर्मा ओलीका पालामा भौतिक पूर्वाधार मन्त्री हुँदा गरेको कामले जिल्लामा लोकप्रिय छन् । आङदेम्बेले भने यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?