+
+

अन्तःशुल्कमा सरकारको विभेदले बन्द भए ५ स्टिल उद्योग

अर्थमन्त्रीसंग ठूला घरानाको चलखेलले यो अवस्था : उद्योगी

टोपराज शर्मा टोपराज शर्मा
२०७९ कात्तिक ८ गते १७:५६

८ कात्तिक, बुटवल । कच्चा पदार्थ आयातमा सरकारले बढाएको अन्तःशुल्कका कारण बिलेटबाट फलामे डण्डी उत्पादन गर्ने रुपन्देहीका ५ उद्योग बन्द भएका छन् ।

सरकारले स्पन्ज आइरन नर बिलेट आयातमा लगाएको विभेदकारी अन्तःशुल्कका कारण १२ अर्ब लगानी भएका स्टिल उद्योग बन्द भएको उद्योगीको गुनासो छ ।

भारत तथा तेस्रो मुलुकबाट बिलेट आयात गरी फलामे डण्डी बनाउँदै आएका रुपन्देहीका पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, रत्ना आइरन, फेरो स्टिल र गोयन्का स्टिल पूर्ण रूपमा बन्द भएका छन् ।

एसआर स्टिल साउन १ गतेदेखि बन्द भएको हो भने अरु उद्योग असोजदेखि बन्द भएका हुन् । यी उद्योग बन्द भएसंगै उद्योगमा कार्यररत दुई हजार मजदुरको रोजगारी गुमेको छ ।

लागत महंगो पर्न गएपछि मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर उद्योग बन्द गर्नुपरेको एभरेष्ट रोलिङ मिलका सञ्चालक अरुण गोयनकाले बताए ।

‘सरकारको विभेदकारी नीति र बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्मासंग ठूला घरानाका स्टिल उद्योगीको चलखेलले उद्योग बन्द गर्नुपर्ने अवस्था आयो’, गोयनकाले भने, ‘अन्तर्राष्ट्रिय प्राक्टिस अनुसार तयारी वस्तुमा अन्तःशुल्क लगाउनुपर्ने हो तर यहाँ उल्टो भएको छ ।’

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८–०७९ को बजेट ल्याउँदा नै फलामे डण्डी उत्पादन गर्ने कच्चा बिलेट र एमएस वायरमा भन्सार र अन्तःशुल्क थपिदिएको थियो ।

बिलेट आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार बिन्दुमै प्रति मेट्रिक टन २ हजार ५ सय रुपैयाँ लाग्दै आएको अन्तःशुल्कलाई बढाएर ३ हजार ५ सय कायम गरेको छ । त्यस्तै एमएस वायरको साविकको ५ प्रतिशत भन्सार महशुललाई वृद्धि गरी १० प्रतिशत पुर्‍याइएको छ । त्यस्तै भन्सार बिन्दुमै लगाइँदै आएको प्रति मेट्रिक टन २ हजार ५ सय रुपैयाँ अन्तःशुल्कलाई बढाएर ४ हजार ५ सय पुर्‍याइएको छ ।

यो व्यवस्थाले नेपालमा सञ्चालित ३० वटा स्टिल (डन्डी) उद्योगहरुमध्ये स्पञ्ज आइरन तथा पत्रु पगालेर डण्डी बनाउने ८ उद्योगहरुलाई मात्र अत्यधिक लाभ हुने उद्योगीको दावी छ । उद्योगीका अनुसार बाँकी २२ उद्योगलाई ठूलो नोक्सान हुनेछ ।

ठूला घरानाका स्टिल उद्योगीको प्रभावमा परेर अन्तशुल्क दर मिनाहा गर्दा सरकारले वार्षिक साढे ८ अर्ब रुपैयाँ राजस्व गुमाएको गोयनकाको तर्क छ ।

एसआर स्टिलका सञ्चालक सुरज उपे्रती अन्तःशुल्कमा सरकारको विभेदकारी र पक्षपाती निर्णयसंगै चर्को बंैक ब्याज, मागमा कटौती जस्ता कारणले उद्योग बन्द गर्नुपरेको बताउँछन् । ‘उद्योगहरु बन्द गर्नुपर्नाको मुख्य कारण अन्तशुल्क दरमा सरकारको विभेद नै हो’, उप्रेतीले भने, ‘त्यो बाहेक सरकारको गलत नीतिका कारण सिर्जित आर्थिक मन्दी पनि हो ।’

पञ्चकन्या स्टिलका महाप्रबन्धक देवेन्द्र साहुले सरकारले बिलेटबाट उत्पादन हुने गुणस्तरीय स्टिललाई प्रतिस्पर्धा गर्न नसक्ने बनाएको बताए । चालु आर्थिक वर्षको बजेट आउनु अगाडि नै विभेदकारी अन्तशुल्क दर सच्याउन माग गरे पनि ठूल घरानियाँसँग मिलेर आफूहरुको माग बेवास्ता गरेपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था भएको साहुले बताए ।

‘चुनावपछि बन्ने नयाँ सरकारले विभेदकारी निति सच्यायो भने उद्योगहरु खुल्छन् अहिलेकै जस्तो सरकार बन्यो भने बिलेट आयात गरेर चलेका २२ वटै उद्योग बन्द हुन्छन्’, साहुले भने–‘अहिलेको सरकारको नीति ठूला घरानालाई पोस्ने र गुणस्तरीय उत्पादन गर्ने उद्योगलाई बन्द गराउने देखियो ।’

कच्चा सामग्री ल्याउँदा भन्सार विन्दमै अन्तःशुल्क लिने नीति खारेज गर्नुपर्ने र तयारी वस्तु र कच्चा सामग्रीमा भन्सार शुल्क बराबर गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए ।

यो समस्याको बारेमा संसदीय समितिले स्थलगत अनुगमनपछि सबै मन्त्रालयमा ध्यानाकर्षण गराए पनि समाधान नभएको रत्ना आइरनका सञ्चालक हेमन्त अग्रवालले बताए । ‘सरकारमा रहेका सबै दलका नेता र मन्त्रीलाई समस्या अवगत गराएका हौं तर समाधानमा कसैले चासो नदिएपछि बन्द गर्नुको विकल्प देखेनौं’, अग्रवालले भने ।

बिलेट आयात गरी डण्डी बनाउने उद्योगहरुको संख्या तुलनात्मक रुपमा धेरै हुँदाहुँदै पनि सीमित उद्योगहरुको योजनालाई सहयोग पुग्ने गरी सरोकारवाला तथा उद्योगीहरुसँगको छलफल बिना ल्याइएको यो नीतिले नेपालका करिब ८० प्रतिशत डण्डी तथा वायर उद्योगहरुलाई मर्कामा परेको पञ्चकन्या स्टिलका उपमहाप्रबन्धक देवेन्द्र साहुको भनाइ छ ।

स्पञ्ज आइरन तथा बिलेटबाट छड बनाउँदा लाग्ने कच्चा पदार्थको लागत मूल्यबीचको फरक भन्सार महसुलमै प्रतिकिलो १२ देखि १३ रुपैयाँसम्म महंगो पर्ने उद्योगीको भनाइ छ ।

सरकारको पक्षपाती र गलत नीतिका कारण उद्योगहरु बन्द हुनु दुखद भएको रुपन्देही उद्योग संंघका महासचिव हरि खत्री बताउँछन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?