 
																						१३ कात्तिक, कुश्मा । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् ।
‘एक साताअघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन,’ समूहका एक सदस्य दीपेश पौडेलले भने, ‘त्यसको साटो ‘जिपलाइन’को अनुभव लियौं ।’ उनले शनिबार कुश्मामै बसेर आइतबार बिहानै मुस्ताङको यात्रा तय गर्ने बताए ।
त्यसैगरी चितवनबाट आएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान र छोरीसहित तस्वीर कैद गर्दै थिइन् । दशैंमा आउने योजना बनाए पनि झरीले योजना तिहारमा सफल भएको उनले सुनाइन् ।
पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटकहरु पनि बञ्जी, जीपलाइन लगायतको अनुभव लिन कुश्मासम्म पुग्न थालेका छन् ।
तर कुश्मालाई नै गन्तव्य बनाउने आउने पर्यटकको संख्या भने निकै कम भएको रेष्टुराँ व्यवसायी मौसम केसीले बताए । ‘कुश्मासम्म आए पनि बास बस्ने पर्यटकहरु कम हुनुहुन्छ,’ उनले भने, ‘धेरै जसो पर्यटक निजी गाडीमा बञ्जी हेर्न आउने र पोखरा फर्कनुहुन्छ यसरी बजार प्रबर्द्धन हुँदैन ।’
शनिबार मात्रै कुश्माको झोलुङुगे पुल तर्नेको संख्या दुई हजारभन्दा बढी रहेको ‘द क्लिफ’ कम्पनीले जानकारी दिएको छ । पुल तर्न मात्रै प्रतिव्यक्ति पाँच सय रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार हाल औसतमा दैनिक ६० देखि ६५ जनाले बञ्जीजम्प गर्दै आएको सञ्चालक नेत्र पराजुलीले बताए ।
‘म बिहानैदेखि खटिएको थिए, शनिबार स्काइ साइक्लिङ, स्काइचियर, स्काइक्याफे, गुलेली पिङ खेल्नेहरुको भिड थियो,’ उनले भने, ‘रिसोर्टमा बास बस्ने ‘टेन्ट’ पनि भरिभराउ थिए ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4