+
+

पैसा र चामल बाँडेको भन्दै म्याग्दीका २ उम्मेदवारसँग स्पष्टीकरण माग

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १७:०६

१४ कात्तिक, बेनी । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता उल्लंघन गरेको भन्दै दुई जना उमेदवारलाई स्पष्टीकरण सोधेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उमेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख)का उमेदवार यामबहादुर गर्बुजालाई स्पष्टीकरण सोधेको हो ।

अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लवलाई चन्दा र सर्वसाधारणलाई चामल वितरण गरेको उजुरी परेपछि श्रेष्ठ र गर्बुजालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको जानकारी दिए ।

श्रेष्ठ र गर्बुजाले चन्दा दिएको रसिदको फोटोकपी र चामल वितरण गरेको भिडियो तथा अडियो लगायत प्रमाण सहित नेपाली कांग्रेस म्याग्दीका उपसभापति समेत रहेका कर्णबहादुर भण्डारी (केवी)ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

निर्वाचन आचार संहिता लागु भइसकेपछि श्रेष्ठले युवा क्लवलाई १० हजार रुपैयाँ चन्दा दिएको रसिदको फोटोकपी सहित उजुरी परेको छ ।

श्रेष्ठ र गर्बुजाले मतदातालाई प्रभावित बनाउन मालिका गाउँपालिका–३ इग्रे, लामखोरिया र श्यामगराका बासिन्दालाई चामल वितरण गरेको पनि उजुरीमा उल्लेख छ । चामल वितरण गरेको विषयमा सञ्चार माध्यमहरुमा समाचार समेत सार्वजनिक भएको थियो ।

पहिलो पटक आचार संहिता उल्लङ्घनको उजुरी परेपछि अनुगमन समितिको बैठक बसेर चन्दा र चामल वितरण गरेको हो होइन ?, के कारणले वितरण गरिएको हो भन्ने विषयमा लिखित स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको अनुगमन अधिकृत रानाभाटले बताए ।

निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सी लगायत कुनै पनि वस्तु वितरण गर्न पाइदैन । मतदाता प्रभावित बनाउन खोज्ने उमेदवार र दललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेर उम्मेदवारी खारेज गर्ने सम्मको कारबाही गर्न सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?