+
+
Shares

५ असारदेखि काठमाडौं महानगरले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले असार ५ देखि २६ गतेसम्म हरेक शुक्रबार र शनिबार विभिन्न स्थानमा ‘टोलटोलमा फिल्म महोत्सव’ आयोजना गर्ने भएको छ ।
  • असार ५ गते खुलामञ्चमा उद्घाटन हुने महोत्सवको दोस्रो दिनको कार्यक्रम सवारीमुक्त असन क्षेत्रमा सञ्चालन गरिने महानगरले जनाएको छ ।
  • युनेस्कोबाट फिल्मको रचनात्मक सहरको मान्यता पाएको महानगरले चलचित्र उद्योगको विकास र स्थानीय संस्कृतिको प्रवर्द्धनका लागि यो कार्यक्रम गर्न लागेको हो ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल, पार्क, डबली तथा चोकहरूमा ‘टोलटोलमा फिल्म महोत्सव’ आयोजना गर्ने भएको छ । महानगरले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सवको संकेत चिन्ह सार्वजनिक गरेको हो ।

महानगरका अनुसार महोत्सवको उद्घाटन असार ५ गते खुलामञ्चमा हुनेछ भने असार ६ गतेको कार्यक्रम भेहिकल फ्री असन क्षेत्रमा सञ्चालन गरिनेछ । नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान दिने तथा रचनात्मक उद्योगलाई समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ ।

महोत्सवअन्तर्गत लघु चलचित्र तथा चलचित्र प्रदर्शन, कला र रचनात्मक उद्योगसम्बन्धी संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम, स्थानीय खानाका परिकारको प्रदर्शनीलगायत गतिविधि सञ्चालन हुनेछन्। चलचित्र प्रदर्शनका लागि एलईडी स्क्रिन, साउण्ड सिस्टम तथा क्युरेटरको व्यवस्था महानगरको सम्पदा तथा पर्यटन विभागले गर्नेछ भने व्यवस्थापन स्थानीय युवाहरूका संस्थाले गर्नेछन् ।

महानगरले यो कार्यक्रमलाई आगामी दिनमा अन्तर्राष्ट्रिय फिल्म महोत्सवसँग जोडेर विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिकाले युनेस्कोबाट सन् २०२३ मा फिल्मको रचनात्मक सहरको मान्यता प्राप्त गरेको थियो । फिल्म विधाबाट सदस्यता प्राप्त गरेपछि महानगरले चलचित्र तथा रचनात्मक उद्योग प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम अघि बढाउँदै आएको जनाएको छ ।

महानगरका अनुसार फिल्म क्षेत्रमार्फत स्थानीय संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवद्र्धन, रोजगारी सिर्जना, अनुसन्धान, छात्रवृत्ति, पूर्वाधार विकास, चलचित्र शिक्षा तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसर विस्तार गरिनेछ। साथै चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिटलगायत कार्यक्रममार्फत निर्माता, लगानीकर्ता र वितरकबीच सञ्जाल निर्माण गरिने लक्ष्य राखिएको छ ।

महानगरका प्रवक्ता नविन मानन्धरले जारी गरेको विज्ञप्तिमा टोलटोलमा फिल्म महोत्सव महानगरको रचनात्मक सहर यात्राको प्रारम्भिक कदम भएको उल्लेख गर्दै यसको सफलताका लागि सञ्चारमाध्यम, चलचित्रकर्मी तथा सरोकारवालाको सहयोग अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?