+
+

नेपालको मूल्यवृद्धिदर ६.३ र आर्थिक वृद्धिदर ५.८ प्रतिशत : विश्व बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते २०:३६

१४ कात्तिक, काठमाडौँ । विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन सोमबार सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ५.८ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा ५.१ र सन् २०२४ मा ४.९ प्रतिशतले जीडीपी वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।

यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो साता ‘वर्ल्ड इकनोमिक आउटलुक : काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

विश्व बैंकले आन्तरिक माग बढेका कारण अर्थतन्त्रको रिकभरीसँगै आर्थिक वृद्धिलाई प्ररित गरेको छ । देश आन्तरिक माग पूरा गर्न मुख्यतया आयातमा निर्भर रहेकाले रिकभरीसँगै आयातमा पनि वृद्धि भएको विश्व बैंकले जनाएको छ ।
तर, विदेशी मुद्राको आर्जन भने बढ्न सकेको छैन । मार्च २०२२देखि मात्रै विदेशी मुद्रा आर्जनले गति लिन थालेको विश्व बैंकले जनाएको छ ।

‘सेवा निर्यात आम्दानी पनि सुस्त गतिमा बढिरहेको छ । पर्यटन महामारीपूर्वको स्तरभन्दा तल छ, किनभने धेरै चिनियाँ पर्यटकहरू अझै फर्केका छैनन्,विश्व बैंकले भनेको छ ।

सन् २०२२ को मुद्रास्फीतिदर ६.३ प्रतिशत रहने आकलन विश्व बैंकको छ । सन् २०२३ मा ५.५ र सन् २०२४ मा ५.३ प्रतिशत मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ । चालु आव २०७९/८० को बजेटमार्फत सरकारले मूल्य वृद्धिलाई ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

विश्व बैंकका अनुसार अपेक्षितभन्दा बढी मूल्यवृद्धिले घरायसी उपभोक्ताको क्रय शक्ति घटाउने अवस्था छ । बढ्दो मुद्रास्फीति र कृषि उत्पादनमा हुने जोखिमका कारण अर्थतन्त्रको ‘वेलफेयर रिकभरी’ (कल्याण्कारी पुनर्उत्थान) अनिश्चित छ ।

कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यसवर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने आकलन पनि विश्व बैंकको छ । सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १०.२ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५.९ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२३ मा भने यी क्षेत्रको वृद्धिदर क्रमशः २, ८.९ र ५.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

सन् २०२२ मा वस्तु तथा सेवाको निर्यात ३५ प्रतिशतले र आयात १५ प्रतिशत बढ्ने अनुमान छ । सन् २०२३ र २०२४ मा भने निर्यात क्रमशः २०.२३ र १८.०४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । आगामी दुई वर्षको आयात वृद्धिदर भने ३.९ प्रतिशत र ४.१ प्रतिशत रहने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?