+
+

इजलासमा सन्दीपको बयान : कसैको उक्साहटमा अभियोग लगाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १९:३२

१५ कात्तिक, काठमाडौं । बलात्कारको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोग झुटो भएको बताएका छन् । उजुरीकर्ता किशोरीले कसैको उक्साहटमा आफूमाथि अभियोग लगाएको उनको दाबी छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा बलात्कार मुद्धामा अभियोगपत्र दायर गरेको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंमा सन्दीपको बयान सकिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको बयानका क्रममा सन्दीपले आफ्नो बचाउ गरेका छन् । सन्दीप पक्षका वकिल मुरारी सापकोटा भन्छन्, ‘बदनियतका साथ कसैको उक्साहटमा जबर्जस्तीकरणीको अभियोग लगाइएको छ भनेर बयान गर्नुभएको छ ।’

उनले आफ्नो इन्कारी बयानलाई पुष्टि हुने प्रमाणका रुपमा पीडित युवतीको जन्मदर्ताको विषय समेत उठाएका छन् । ‘नागरिकतालाई प्रमाण मान्ने कि जन्मदर्तालाई भन्ने विषयवस्तु नै मुख्य विषयवस्तु छ’, भन्छन्, ‘स्वास्थ्य परीक्षणका क्रममा बताएको केस हिस्ट्री र प्रहरीमा दिएको बयान फरक देखिएको छ ।’

सन्दीपमाथि ५ भदौमा काठमाडौंको एक होटलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

त्यो बेला विदेशमा रहेका सन्दीप २० असोजमा स्वदेश फर्किएलगत्तै पक्राउ परेका थिए । उनको मुद्दामा थुनछेक बहस भोलि बुधबारदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?