+
+

दोलखामा नयाँ अनुहारबीचको प्रतिस्पर्धा

नवराज शिवाकोटी नवराज शिवाकोटी
२०७९ कात्तिक १५ गते १९:४४

१५ कात्तिक, दोलखा । मंसिर ४ मा हुने चुनावका लागि दोलखाबाट प्रतिनिधि सभामा ७ स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । यीमध्ये कोही पनि अहिलेसम्म सांसद चुनिएका छैनन्, त्यसैले दोलखाबाट प्रतिनिधिसभामा जो निर्वाचित भए पनि नयाँ अनुहार हुनेछन् ।

दोलखामा नेकपा एमालेबाट बालकृष्ण शिवाकोटी र सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की उम्मेदवार छन् । राप्रपाका सहायक महामन्त्री विजय खड्का पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् ।

दोलखाको चुनावी इतिहास एमालेको पक्षमा छ । २०५१ सालको मध्यावधि चुनावमा दोलखा–१ मा र २०६४ को संविधान सभा चुनावमा दोलखाका दुवै क्षेत्रमा एमालेले हार व्यहोरेको थियो । त्यसबाहेकका चुनावमा भने दोलखामा एमाले विजयी हुँदै आएको छ ।

पार्टीको संगठन र निर्वाचित सांसदले जिल्लाको विकासमा गरेको योगदानको आधारमा यसपटक पनि एमाले नै विजयी हुने एमालेका जिल्ला सचिव हिरा थोकर बताउँछन् ।

तर नेपाली कांग्रेसले भने एमालेका नेताहरुले जिल्लाका लागि केही नगरेको आरोप लगाएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव रञ्जितकुमार पाठकले एमालेले पटक–पटक चुनाव जितेर पनि दोलखाको विकासमा ठोस योगदान दिन नसकेको बताए ।

नेताहरु मन्त्री बने पनि जिल्लाको विकासमा काम नगरेका कारण यसपटक स्थानीय चुनावमा एमाले पराजित भएको उनको दावी छ । ‘एमालेबाट आजित भएका दोलखालीले स्थानीय तह निर्वाचनमा सात वटामा पालिकामा गठबन्धनलाई जिताई एमालेलाई दुई पालिकामा सीमित गरिदिएका छन्’, उनले भने ।

शिवाकोटीलाई चिठ्ठा !

२०७४ अघिका चुनावमा प्रतिनिधि सभामा २ क्षेत्र रहेको दोलखामा आनन्दप्रसाद पोखरेलले २०५१ को मध्यावधि र २०६४ को संविधान सभा बाहेकका चुनाव जिते । उनी एक पटक पर्यटन मन्त्रीसमेत भए ।

२०७० सालमा पहिलोपटक चुनाव लडेका पार्वत गुरुङले २०७४ सालमा दोलखा एक क्षेत्र मात्र हुँदा पनि टिकट पाएर चुनाव जिते ।

२०७४ सालमा पोखरेलले चुनाव लड्ने अवसर पाएनन् । एमाले अध्यक्ष केपी शर्मा ओली निटक मानिने यी दुबै नेता यसपटक दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । दुई नेताबीच एकले अर्कालाई उम्मेदवार नस्वीकार्ने देखिएपछि ओलीले युवा व्यवसायी शिवाकोटीलाई टिकट दिएको दोलखाका एमाले नेताहरु बताउँछन् ।

जलविद्युत, केबलकारलगायतका व्यवसाय सञ्चालन गरिरहेका शिवाकोटीले पनि ओलीसँग व्यक्तिगत सम्बन्ध बनाएका छन् ।

अवसर नपाएका कार्की

दोलखाका गंगा कार्की र रितबहादुर खड्का तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धमा सँगै भूमिगत भएका थिए ।

२०५९ साल असारमा रौतहटमा सुरक्षाफौजले गरेको कारबाहीमा खड्काको मृत्यु भयो । पार्टी शान्ति प्रक्रियामा आएपछि रितबहादुरकी बहिनी देवी खड्का र भाइ विशाल खड्काले माओवादी केन्द्रबाट पटक पटक अवसर पाए ।

२०६४ को संविधान सभा चुनाव जितेकी देवी २०६८ सालमा मन्त्री बनिन् । २०७० सालको दोस्रो संविधानसभा चुनावमा देवीका भाइ विशालले प्रतिस्पर्धा गरेका थिए । २०७४ मा वाम गठबन्धन हुँदा प्रतिनिधि सभामा एमालेले पायो र गुरुङ निर्वाचित भए । देवीका भाइ विशालले प्रदेश सभा १ बाट चुनाव जिते । र उनी बागमती प्रदेशमा मन्त्री भइसकेका छन् ।

तर रितबहादुरसँगै सशस्त्र युद्धमा सामेल भएका कार्कीलाई यो पटक अवसर दिएर माओवादी केन्द्रले न्याय गरेको माओवादीका नेताहरु बताउँछन् । कार्की खड्का परिवारका ज्वाइँसमेत हुन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुलबहादुर बुढाथोकी कार्कीले टिकट पाएपछि पुराना र पार्टीमा निस्कृय भइसकेका कार्यकर्ताहरु फेरि सकृय हुन थालेको बताउँछन् ।

रामेछाप र दोलखा भागबण्डा

सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट गर्दा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले रामेछाप एउटाले र दोलखा एउटाले लिने सहमति गरे ।

तर कुन जिल्ला कसले लिने भन्ने टुंगो भने उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिनअघि मात्र स्थानीय पार्टी कमिटीले टुंग्याएको थियो । माओवादीले दोलखा आफ्नो भागमा पाएपछि कार्कीलाई उम्मेदवार बनाएको हो ।

यस्तो छ स्थानीय तहको मत

दोलखाका ९ स्थानीय तहमध्ये नेपाली कांग्रेस र माओवादीले समान ३ वटा पालिका प्रमुख जितेका छन् । एमालेले २ तथा एकीकृत समाजवादीले १ स्थानीय तहको नेतृत्व जितेका छन् ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा दोलखामा नेकपा एमाले अगाडि छ । एमालेका वडाध्यक्षका उम्मेदवारले ३९ हजार ५० मत पाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवारले ३३ हजार ४३९, माओवादी केन्द्रका उम्मेदवारले १७ हजार ३७५ र एकीकृत समाजवादीले ३ हजार १५१ मत पाएका थिए । सत्तारुढ गठबन्धनमा रहेका यी दलले पाएको मत जोड्दा ५३ हजार ९६५ मत हुन्छ । जुन एमालेको भन्दा १४ हजार ९१५ बढी हो ।

४ मंसिरमा हुने निर्वाचनमा दोलखाबाट प्रतिनिधिसभामा एक जना र बागमती प्रदेशसभामा दुई जना निर्वाचित हुनेछन् । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा एक्लै उम्मेदवार खडा गरेको छ ।

सत्तारुढ गठबन्धनबाट भने प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र प्रदेशसभाका दुवै क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवार छन् । नेकपा एकीकृत समाजवादीले प्रदेशसभाको एक सिट दावी गरे पनि अन्तिममा पाएन ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भीम दाहाल केन्द्रमा गठबन्धन भएकाले जिल्लाका गठबन्धनका उम्मेदवारलाई जिताउन सक्दो सहयोग गर्ने बताउँछन् ।

‘देशका अरु ठाउँमा हाम्रा उम्मेदवारलाई कांग्रेस र माओवादीको समर्थन र सहयोग छ,’ दाहाल भन्छन्, ‘त्यसैले दोलखामा समाजवादीको भोट गठबन्धन बाहेक अन्त जाँदैन ।’

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बुढाथोकी गठबन्धनका उम्मेदवार निर्वाचित हुने आधार नै गठबन्धनको मत रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?