+
+

आफ्नै कामले चिनिन चाहन्छु : मानुषी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते ९:३१

१७ कात्तिक, काठमाडौं । मानुषी यमी भट्टराई सत्ता गठबन्धनका तर्फबाट काठमाडौं–७ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन् । भोट माग्न जाँदा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी भनेर धेरैले चिन्ने र सोही रूपमा परिचित हुनुपर्ने बाध्यता उनको छ । आफ्नै कामबाट परिचित हुने उनको चाहना छ । सत्ता गठबन्धनमा रहेका दलको सबै मत आफूलाई आउने र निर्वाचित हुने उनको आशा छ । मानुषीसँग गरिएको छोटो कुराकानी :

मतदाताका अपेक्षा र सुझाव कस्तो पाउनुभएको छ ?

हाम्रो उम्मेदवारीलाई लिएर मतदाता निकै उत्साही हुनुहुन्छ । मतदाताका जिज्ञासा र सुझाव सुन्दा दल–विशेषको भन्दा सबैका साझा मुद्दा उठाउनुभएको छ । नयाँ राजनीतिक संस्कार स्थापित गरिदिनुहोला भन्ने सुझाव पाएकी छु । चुनाव जितेर गएपछि पाँच वर्ष गायब भइदिने प्रवृत्ति नपछ्याउनुहोला भन्ने आग्रह गर्नुभएको छ । अरूभन्दा फरक कार्यशैली अपनाउन सुझाव आएको छ ।

मतदाताहरूले दैनिक रूपमा भोगिरहेका समस्या पनि राख्नुभएको छ । राष्ट्रिय राजनीतिमा पनि उहाँहरूको उत्तिकै चासो छ, अर्थतन्त्रका विषयमा पनि मतदाता धेरै जानकार हुनुहुन्छ भन्ने अनुभूति गर्न पाइएको छ । हामीले पनि काम गर्ने हो, कुरा मात्र गर्ने होइन भनेका छौं ।

तपाईंले सोचेको र मतदाताले सुनाएको समस्यामा के फरक रहेछ ?

सडक साँघुरो भएको, खानेपानी अपर्याप्त भएको, अव्यवस्थित तारबार गरिएको आदि दैनिक समस्याका रूपमा आएका छन् । धुलो–धुवाँको विषय पनि छ । यस्ता विषयमा स्थानीय सरकार र प्रदेश सरकारबाट समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाइएको छ । अव्यवस्थित शहरीकरणकै विषयमा धेरैको चासो छ ।

शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउनुपर्नेछ, शैक्षिक बेरोजगारको विषय पनि छ । साना घरेलु उद्योगका नीतिगत तहमा रहेका कठिनाइको विषय पनि उठेका छन् । यसका लागि संघीय संसदबाट कानुन बनाउने हाम्रो प्रतिबद्धता छ ।

स्थानीय नेवार समुदायको भाषा, संस्कृति संरक्षणको विषय पनि आएको छ । म आफैं वडा नम्बर १८ को बासिन्दा हुँ । आधुनिकतासँगै पुराना सभ्यता र संस्कृतिको  संरक्षण गर्नुपर्नेछ । भाषा आन्दोलनको थलो पनि हो काठमाडौं–७ । यो अभियानमा म विगतदेखि नै सक्रिय छु । रानीपोखरी, काष्ठमण्डपको मौलिकता संरक्षण, खुलामञ्च खुला राखौं भन्ने अभियान, गुठीको संरक्षणका विषयमा म आफैं पनि पहिलेदेखि नै हिंडिरहेकी हुँ ।

मतदाताले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने नेता पनि खोजिरहेका देखिन्छन् । यसको विश्वासिलो आधार दिन सक्नुहुन्छ ?

जनताले संसदमा गर्व गर्नलायक सांसद नै खोजेका छन् । अर्थात् आफूले जेका निम्ति चुनेको हो त्यही काम गर्ने पात्र खोजिरहेका छन् । संघीय सांसदले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । त्यस्ता मञ्चमा नेपालको गर्विलो उपस्थिति जनाउन सक्ने पात्र खोजिनु स्वाभाविक र आवश्यक छ । विषयवस्तु र ज्ञान भएको पात्रले यस्ता फोरमहरूको सदुपयोग गरुन् र त्यो पात्र आफ्नो जनप्रतिनिधि होस् भन्ने काठमाडौं–७ का जनताको आकांक्षा म पूरा गर्ने भरपुर प्रयत्न गर्छु ।

मतदाता र जनप्रतिनिधिका बीचमा जुन दूरी छ, त्यसलाई तोड्ने मेरो संकल्प छ । जनप्रतिनिधि मतदाताको बीचमा नियमित रूपमा जाने वातावरण बनाउँछु । युवासँग सांसद, महिलासँग सांसद, जनसमुदायसँग सांसदको कार्यक्रम बनाएर नियमित रूपमा मतदातासँग रहने मेरो प्रतिबद्धता छ ।

तर चुनाव जित्न भोट त चाहियो, त्यसमा आफ्नो प्रमुख चुनौती के देख्नुहुन्छ ?

चुनाव अगाडिको मेरो चुनौती सबै मतदाताकहाँ पुग्न सक्नु हो । हात मिलाउन पाउनुपर्‍यो, कुराकानी गर्न पाउनुपर्‍यो भन्ने मतदाताको अपेक्षा छ । मेरो निर्वाचन क्षेत्रमा ६० हजार मतदाता छन्, सबैको घर–घर पुग्न चाहन्छु तर, समय कति पुग्छ भन्ने डर छ ।

अरू प्रतिस्पर्धाका विषय हुन्, लोकतन्त्रमा यो स्वाभाविक हो । तर, हामी गठबन्धनमा छौं । आफ्नो दल र गठबन्धनमा रहेका नेता/कार्यकर्ता र मतदाता एकढिक्का भएर सँगै साथमा छौं । यसभन्दा बाहिरका मतदातासँग भेटघाट गर्नुपर्नेछ ।

नागार्जुन–१ मा सत्ता गठबन्धनको कार्यालय उद्घाटनका क्रममा नेताहरूले आन्तरिक एकतामा जोड दिनुभएको थियो, यसमा केही आशंका छ र ?

हामीले गठबन्धनको कार्यालय उद्घाटनमा के सन्देश प्रवाह गर्ने भन्ने सन्दर्भमा आन्तरिक एकताको कुरा गरेको हो । एकरूपतामा एउटै सन्देश प्रवाह गरेर दायित्व सबैले सम्झिएका र सम्झाएका हौं ।

भोट ट्रान्सफर हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?

यसमा हामी ढुक्क छौं । नेकपा एमालेबाट निम्तिएको प्रतिगमनले हामीहरूको गठबन्धन बनेको हो । प्रतिगमन विरुद्ध लोकतन्त्रको रक्षाको निम्ति गठबन्धन बनेको हुँदा गठबन्धनमा रहेका नेता/कार्यकर्ताले प्रतिगमनको नेतृत्वकर्ताको गठबन्धन रोज्दैनन् भन्नेमा निर्धक्क छौं ।

अझ एमालेकै कतिपय कार्यकर्ता जो नेतृत्वको प्रतिगमनको विरोधमा हुनुहुन्छ उहाँहरू नेतृत्वलाई सच्याउन पनि तटस्थ बस्ने वा हामीलाई भोट दिन आउनुहुन्छ । यसकारण प्रतिबद्ध रूपमा गठबन्धनलाई गठबन्धनको भोट आउँछ, सबैको भोटले लोकप्रिय मत पाइन्छ भन्नेमा विश्वस्त छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?