
काठमाडौं । निर्देशक प्रदीप भट्टराई र महसञ्चार एकअर्काका पर्यायजस्तै हुन् । एकबिना अर्को अधुरो हुन आउँछ । महसञ्चारकै गोरेटोमा प्रदीपले फिल्म निर्देशनको करिअर बनाए ।
महजोडी र प्रदीपको पछिल्लो सहकार्य फिल्म ‘महापुरुष’ अहिले हलमा चलिरहेको छ । सकारात्मक प्रतिक्रिया मात्र होइन, फिल्मले बक्स अफिसमा पैसा पनि छापिरहेको छ । हरिवंशदेखि निर्देशक भट्टराईसम्म फिल्मको पोस्ट-रिलिज प्रचारप्रसारमा व्यस्त छन् । प्रदीप र महजोडीबीच सुरुवातदेखि नै एकखालको आत्मीय सम्बन्ध छ जुन उनीहरुले महापुरुष प्रचारको क्रममा पनि मिडियासामु खुलस्त पारे ।
निर्देशक भट्टराईले त काठमाडौंमा आफूले घर बनाउन लागेको र त्यहाँ हुने पूजाकोठामा भगवानसँगै महजोडीको फोटो राख्ने बताएर त्यो सम्बन्ध कति हार्दिक छ भन्ने कुराको पुष्टि गरेका छन् ।
उनी भन्छन्, ‘मेरो आफ्नो नाममा बस्ने घर छैन । छिट्टै म बनाउँछु । त्यो घरमा एउटा पूजाकोठा हुन्छ र भगवानसँगै महजोडीको पनि फोटो हुन्छ । त्यो स्थानमा हुनुहुन्छ दाइहरु मेरो लागि ।’
उनी अघि भन्छन्, ‘साँच्चिकै उहाँहरुले मेरो लागि जति गर्नुभएको छ । अरु कसैले पनि गरेको छैन । सिकाउने र कर्म दिने कामहरु पनि गर्नुभएको छ उहाँहरुले ।’
प्रदीपको यस्तो कुरा सुनेर छेउमा उभिएका अभिनेता हरिवंश समेत भावुक सुनिए । ‘त्यो श्रेय उहाँले हामीलाई जसरी दिनुभएको छ । त्यो उहाँको महानता हो । पूजाकोठामा फोटो राख्न हामी लायकका हौं या होइनौं तर जीवन यसमै गुजार्यौं । प्रदीप भट्टराई एउटा नक्षत्र हो नेपाली चलचित्रको लागि ।’
उक्त कुराकानीमा हरिवंशले प्रदीपसँग अर्को नयाँ फिल्ममा सहकार्य गर्न लागेकोतर्फ संकेत गरे । हरिवंश अहिले फिल्मको सिलसिलामा अमेरिकामा पुगेका छन् भने प्रदीप मोफसल भ्रमणमा ।
महापुरुष शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।
प्रतिक्रिया 4