+
+
प्रोफाइल :

विनोद ढकाल : निरन्तरको हारपछि जितको स्वाद चाख्ने चाहना

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १८:३९

मोरङमा पार्टी राजनीतिमा सफलता हात पार्दै आएका नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालले आम निर्वाचनमा भने सफलता चाख्न पाएका छैनन् । २०७३ मा पार्टीको मोरङ जिल्ला अध्यक्ष निर्वाचित भएका ढकाल गत वर्ष चितवनमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भए, हाल उनी एमालेको मोरङ जिल्ला इन्चार्ज छन् ।

तर २०६५ सालको संविधानसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासँग पराजित भएका उनी २०७४ सालमा विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसकै भीम पराजुलीसँग पराजित भए । पराजुली २३ हजार ३१ मत ल्याएर विजयी हुँदा ढकालले १७ हजार ३२१ मत पाएका थिए ।

४ मंसिरमा हुने चुनावी नतिजाले उनको आगामी राजनीतिक यात्राको भविष्य निर्धारण गर्नेछ । ५४ वर्षअघि भोजपुरमा जन्मिएका विनोद शिक्षक विष्णुप्रसाद ढकालका सात छोरी र तीन छोरामध्ये कान्छो हुन् ।

२०४१ सालमा भोजपुरको प्याउलीस्थित शारदा माविबाट एसएलसी उत्तीर्ण भएपछि मोरङ झरेका उनी २०४२ सालदेखि विराटनगरको राजनीतिमा निरन्तर सक्रिय छन् । उनी २०४२ सालदेखि २०४५ सम्म अनेरास्ववियुको विराटनगर नगर कमिटी अध्यक्ष बने ।

२०४७ सालमा अनेरास्ववियुको मोरङ जिल्ला अध्यक्ष भएका उनले दुई कार्यकाल काम गरे र केन्द्रीय कमिटीको उपाध्यक्ष पनि बने । विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलको अध्यक्ष ढकालले २०४८ सालमा विराटनगर ल क्याम्पसबाट बीएल र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको विरोध गरेका कारण उनी ६ महिना जेल पनि परे । २०६५ को संविधानसभा उपनिर्वाचनमा पराजित भएका उनी २०६६ सालमा एमाले मोरङ अध्यक्ष निर्वाचित भए । तत्कालीन मोरङ–७ बाट कांग्रेस नेता डा. शेखर कोइराला १२ हजार ७१ मतसहित विजयी हुँदा चौथो भएका ढकालले ६ हजार ३५ मत पाएका थिए ।

ढकाल मोरङ–६ बाट उम्मेदवार हुन चाहन्थे, तर अघिल्लो पटक निर्वाचित लालबाबु पण्डितले क्षेत्र नछाडेपछि ढकाल मोरङ–४ बाट उम्मेदवार बनेका हुन् । १ लाख १० हजार ९३ मतदाता रहेको क्षेत्र नम्बर ४ थारू बहुल क्षेत्र हो । यहाँ सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी उम्मेदवार छन् । मोदीले २०७४ सालको निर्वाचनमा कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए ।

मोरङ ४ मा ग्रामथान र कटहरी गाउँपालिकाको सबै वडा, विराटनगर महानगरपालिकाको वडा नं १, २, ३, ८, १०, १९, बेलबारी नगरपालिकाको वडा नं ५, ६ र ७ पर्छन् । यो निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरूले पाएको मत अनुसार एमाले अगाडि छ ।

एमालेले २५ हजार ७३० र कांग्रेसले २१ हजार ८९४ मत पाएको थियो । माओवादी केन्द्रले ९ हजार ९९०, राप्रपाले ४ हजार ६७४, जसपाले ३ हजार ११२ र एकीकृत समाजवादीले १ हजार २५५ मत पाएका थिए ।

स्थानीय तहको निर्वाचनमा पार्टी बलियो देखिएका कारण चुनाव जित्ने ढकालको विश्वास छ । काम गर्ने भिजन र पार्टी संगठन बलियो भएका कारण चुनाव जित्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?