+
+

काठमाडौंका विद्यालयमा डिजिटल सिकाइका लागि सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १९:०९

१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले डिजिटल शिक्षण सिकाइ गर्न सम्झौता गरेको छ । शुक्रबार सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एण्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ ।

महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा राष्ट्रिय सभा गृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । वियोन्ड गुगलको नेपाल र दक्षिण एशियाली साझेदार संस्था हो ।

आउँदो २ बर्षका लागि भएको सम्झौताबमोजिम वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिम लगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ ।

यसअन्तर्गत सामुदायिक विद्यालयहरुमा शिक्षण र सिकाइका लागि शिक्षकहरुको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाइ व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन् ।

कोड क्लब गठन गरेर कक्षा २ देखि कक्षा १२ सम्मका बिद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर गुगल वर्कप्लेस फर एजुकेसनमार्फत यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । यसमा हरेक विद्यालयमा वेभ साइट चलाउन र सामग्री व्यवस्थापन गर्न एक जना प्रतिनिधिलाई तालिम दिइनेछ ।

यसरी काम गर्दा साइबर सुरक्षा सुनिश्चित गर्ने, गुगलको चिल्ड्रेन अनलाइन प्राइभेसी प्रोटेक्सन नियमअन्तर्गत मेल जारी गर्ने काम वियोन्डले गर्नेछ ।

एकैपटक ५० हजार विद्यार्थीलाई डिजिटल पहुँच

काठमाडौँ महानगरमा भएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५० हजार विद्यार्थीहरुको पहुँचमा एकैपटक डिजिटल साक्षरताको पहुँच पुर्‍याउने सम्झौताको लक्ष्य भएको महानगरले जनाएको छ ।

सम्झौतापछि महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले डिजिटल साक्षरताविना शिक्षालाई प्रतिस्पर्धी बनाउन नसकिने बताउँदै प्रतिस्पर्धी शैक्षिक स्तरबिना बजारमा आवश्यक जनशक्तिको योग्यता नपुग्ने बताइन् । वियोन्डका प्रमुख कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार वियोण्डमा अहिले ६ हजार ५ सय शिक्षकहरुको सञ्जाल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?