+
+

चुच्चे नक्सा देखाएर मत माग्ने ओलीको संकेत

ओलीले दार्चुलाबाटै प्रचारप्रसार अभियान सुरु गर्नुको दुई सन्देश, राष्ट्रियता र विकास रहेको घोषणा नै गरे । लिम्पियाधुरा सहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेको प्रसंगबाट सम्बोधन थालेका ओलीले २० मिनेटको सम्बोधनमा चार पटक त लिम्पियाधुरा, लिपुलेक र कालापानीको प्रसंग निकाले ।

सइन्द्र राई सइन्द्र राई
२०७९ कात्तिक १८ गते २१:१२
दार्चुलाको सदरमुकाम खलंगामा चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्वीर : रासस

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात वर्ष अगाडिको भारतीय नाकाबन्दी सम्झेर मतदान गर्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले प्रचार प्रसारको समय दिएको भोलिपल्टै दार्चुलाबाट राष्ट्रिय अभियान थालेका ओलीले सुदूरपश्चिमको कञ्चनपुरको सभामा नाकाबन्दी सम्झिएका हुन् ।

‘..नाकाबन्दीले यहाँको चुलो बल्न नसक्दा चुप लाग्ने मान्छेहरू अहिले फार्तिफुर्ती गर्ने ?’, भारतीय हस्तक्षेपविरुद्ध सत्तारुढ गठबन्धनका नेताहरू बोल्न नसक्ने आरोप ओलीले लगाए । ओलीले त्यो बेलाको नाकाबन्दीलाई तीन वर्ष अगाडि जारी भएको नेपालको नयाँ नक्सासँग जोडेका छन् ।

‘गुमेको भूभाग समेतको हामीले नक्सा बनायौं । संविधान संशोधन गर्‍यौं । भारतसँग पत्राचार गर्‍यौं, हाम्रो भूभाग फिर्ता गर भनेर’ ओलीले सभाबाटै सरकारसँग सोधे, ‘त्यो कुरा कहाँ पुग्यो ? त्यो बोल्न सक्नु हुन्छ कि हुन्न ?’

लगत्तै, ओलीले सत्तारुढ गठबन्धनले नयाँ नक्सामा समेटिएको भूमि फिर्ता गराउन नसक्ने निष्कर्ष सुनाए । ‘उहाँहरुबाट पार लाग्दैन । उताका सँग भेट हुनासाथ उनका पुच्छर यस्तो (हात हल्लाउँदै) हुन्छ, लख्र्याक लुख्रुक ।’

ओलीले आफू नेतृत्वको सरकारले गरेका केही राम्रा काम र सुदूरपश्चिम प्रदेशको समस्याबारे समेत संक्षेपमा बोले । तर सम्बोधनको प्राथमिकतामा भने नयाँ नक्सालाई राखे । प्रचार अभियानको थालनी दार्चुलाबाट गर्नुले पनि यो चुनावमा एमाले नयाँ नक्साको एजेण्डा लिएर जान चाहेको अनुमान लगाउन सकिन्छ ।

पहिलोपटक सदरमुकाम खलंगा आएको स्मरण गर्दै ओलीले दार्चुलाबाटै प्रचारप्रसार अभियान सुरु गर्नुको दुई सन्देश, राष्ट्रियता र विकास रहेको घोषणा नै गरे । लिम्पियाधुरा सहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेको प्रसंगबाट सम्बोधन थालेका ओलीले खलंगामा २० मिनेट जति सम्बोधन गरे । तर यो छोटो सम्बोधनमा चार पटक त ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको प्रसंग निकाले ।

दार्चुला सदरमुकाम खलंगामा आयोजित नेकपा एमालेको चुनावी अभियानका सहभागी । तस्वीर : रासस

‘६० वर्ष भयो कालापानी, लिपुलेक र लिम्पियाधुरा गुमाएको । अब फिर्ता हुनुपर्छ’ ओलीले प्रचार अभियान उद्घाटन गर्दै भने, ‘यो राष्ट्रिय अभिभारा हो, यो राष्ट्रिय अभियान हो ।’ ओलीले पूर्व सांसद प्रेमसिंह धामीदेखि केही दिन अगाडि भारतीय कम्पनीले सडक बनाउँदा ढुंगा लागेर ज्यान गुमाएकी बालिका समेत सम्झिए ।

हेलिकप्टरबाट दार्चुला पुगेका ओलीले यसपछि बैतडीको पाटन र साँझ कञ्चनपुरको महेन्द्रनगरमा सम्बोधन गरे । यी तीन वटै जिल्ला नेपालको पश्चिम सीमाना महाकाली नदीसँग जोडिएका छन् । तीनै सभामा ओलीले भारतसँगको सीमा समस्या, नयाँ नक्सा र राष्ट्रियताका विषयमा एमालेले लिएको अडानबारे बोलेका थिए ।

नरम घोषणापत्र, चर्को अभिव्यक्ति

प्रचार अभियानमा ओलीले नयाँ नक्साबारे चर्को अभिव्यक्ति दिए पनि एमालेको घोषणापत्रमा भने सन्तुलित प्रतिबद्धता गरिएको छ । ओलीले भनेजस्तो भूमि फिर्ता ल्याउने ग्यारेन्टी घोषणापत्रमा छैन ।

१५ कात्तिकमा जारी घोषणापत्रको पाँच ठाउँमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको प्रसंग छ । तर प्रशासनिक–राजनीतिक नक्सामा राखिएको भूमि फिर्ताबारे प्रष्ट कुरा गरिएको छैन । बरु सर्वदलीय सहमतिमा संविधानको अनुसूचीमा समावेश गर्न सफल भएको गौरव छ ।

‘सूदूरपश्चिम प्रदेशको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको आफ्नो भूभाग समेटेर नयाँ प्रशासनिक–राजनीतिक नक्सा प्रकाशित गरिएको’, घोषणापत्रमा लेखिएको छ, ‘चुच्चे नक्साको नाममा चर्चित नेपालको नक्सालाई संसदले सर्वसम्मत रुपमा संविधानको अनुसूची ३ संशोधन गरी निशान छापमा समावेश गरिएको ।’

तर ओलीले शुक्रबार सुदूरपश्चिमका तीनवटै सभामा भारतविरुद्ध चर्को अभिव्यक्ति दिएका छन् । ‘यति विशाल भारत छ, यति (औलाले देखाउँदै) सीमाना सार्छ । यो सुहाउँदैन’, खलंगाबाट ओलीले भने, ‘नेपाली जनताले यसलाई थिचोमिचोका रुपमा बुझ्छन् । त्यो कुरा भारतले गर्नु हुँदैन ।’

एक इन्च पनि भूमि मिच्न नदिने ओलीले चेतावनी दिए । ‘एक इन्च जमिन पनि मिच्न दिने छैन । मिचिएको भए फिर्ता ल्याउँछ’, सभामा ओलीले प्रतिबद्धता गरे, ‘संसदले सर्वसम्मतिले पास गरेको छ । र, त्यो कुरा तपाईंहरुसँग आज फेरि ग्यारेन्टी गर्न चाहन्छु ।’ ओलीले दार्चुला र धार्चुला जोड्ने पक्की पुल बनाउने प्रतिबद्धता पनि गरे । त्यसमा भारतीय पक्षले चित्त दुखाउन नहुने उनको अभिव्यक्ति थियो ।

चुच्चे नक्सा जारी गरेको गौरव र भारतीय हस्तक्षेप नस्वीकारेको पृष्ठभूमि जोड्दै ओलीले एमालेका निम्ति मत मागेका छन् । महेन्द्रनगरको सभामा ओलीले बोल्दाबोल्दै एक सहभागीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयलसँग बालुवाटारमा भएको भेटबारे प्रश्न उठाएका थिए । ओलीले सभाबाटै त्यो भेटको भने बचाऊ गरे ।

‘भेट्नु ठूलो कुरा होइन । राति गएर लुकेर उनको निवासमा भेटेको होइन । मैले त खुलेआम भेटेको छु’, ओलीको प्रष्टोक्ति थियो, ‘कुन चाहिँ नेताले भेटेको छैन, गोप्य राख्छन् ।’

नयाँ नक्सालाई चुनावी एजेण्डा बनाउने प्रष्ट सन्देश दिएका ओलीले आगामी सरकार आफ्नै नेतृत्वमा बनाउन एमालेलाई मत मागे । त्यसका लागि सभाबाटै ओलीले ‘मंसिर ४, ओली सरकार’ को नारालाई जोड दिए । कतिसम्म भने पाटनमा सहभागी सानो स्वरमा मात्रै ‘ओली सरकार’ भन्ने आवाज आएपछि ओलीले अरुसँग पनि नारा लगाउन आग्रह गरे ।

अहिलेको सरकारलाई कठपुतलीको संज्ञा दिएका ओलीले एमाले नेतृत्वमा सरकार बने मात्रै देश बन्ने दावी गरे । टालाटुली बटुली, कति राम्री कठपुतली’ ओलीको भनाइ थियो, ‘यो कठपुतली हो । यस्ताबाट सरकार चल्दैन । देश चल्दैन, बन्दैन ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?