+
+

गठबन्धनको बलमा प्रदेशबाट संघमा उक्लने चाहना

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १५:२३

२०१३ जेठमा धादिङको गजुरीमा जन्मिएका राजेन्द्रप्रसाद पाण्डे पनि विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।

पञ्चायती व्यवस्था विरुद्ध काठमाडौंको सरस्वती क्याम्पसमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दा पहिलो पटक २०३२ सालमा समातिए । जेलमा भएको झापा काण्डका राजबन्दीहरूसँगको भेटले उनलाई कम्युनिस्ट आन्दोलनबाट दायाँ–बायाँ हुन नसक्ने बनायो ।

साढे ४ वर्ष जेल र एक वर्ष भूमिगत जीवन बिताएका पाण्डेसँग १० वर्ष शिक्षक बनेको अनुभव छ । ग्रामीण विकास विषयमा स्नातकोत्तर उनी २०३६, २०३८ र २०४२ सालमा शिक्षक आन्दोलनको नेतृत्वमा थिए । उनी २०५० सालमा नेकपा (एमाले)को वागमती अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य निर्वाचित भए ।

२०४३ मा धादिङ जिल्ला पञ्चायत सभापतिको जनपक्षीय उम्मेदवार बनेका पाण्डे पराजित भएका थिए । त्यो बेला सुरु भएको उनको चुनावी यात्रा अझै जारी छ । यसपटक उनी धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

२०४८, २०५१, २०५६ र २०७० मा धादिङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पाण्डे २०६४ को चुनावमा भने पराजित भएर संविधानसभामा पुग्न पाएनन् । चार पटक प्रतिनिधिसभा सदस्य भएका उनी एकपटक स्थानीय विकास मन्त्री पनि भए ।

२०७४ को निर्वाचनमा भने उनी मुख्यमन्त्री बन्ने उद्देश्यले धादिङ–१ (क) बाट उठेर प्रदेश सभामा उठेर जिते पनि । तर, एमालेको बहुमत भएको वागमती प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुटका डोरमणि पौडेललाई मुख्यमन्त्री बनाए ।

एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी) रोजेर पार्टीको केन्द्रीय उपाध्यक्ष र वागमती प्रदेशको मुख्यमन्त्री बनेका पाण्डे पुनः संघीय संसद उक्लने तारतम्य मिलाउन व्यस्त छन् ।

गत वैशाखमा भएको स्थानीय चुनावमा धादिङ–१ मा दलगत रूपमा वडाअध्यक्षहरूले पाएको मतमा एमाले अगाडि छ । एमालेले ३१ हजार ३४०, माओवादी केन्द्रले २१ हजार ३०३, नेपाली कांग्रेसले १६ हजार १३१, एकीकृत समाजवादीले ६ हजार ९०९, राप्रपाले ८१५ र स्वतन्त्र उम्मेदवारले ३१० मत पाएका छन् ।

यो मतभार अनुसार, सत्ता गठबन्धन बलियो देखिन्छ । यो आधारमा हेर्दा पाण्डे गठबन्धनको ४४ हजार ३४३ र भूमिप्रसाद त्रिपाठी ३१ हजार ३४० मतको जगमा उभिएको देखिन्छ ।

फेरि, यही क्षेत्रको प्रदेश सभा (क) मा एमालेका पुराना नेता नेत्र पौडेल बागी उम्मेदवार बनेका छन् । पार्टीभित्रको विवादले एमाले पंक्ति एकीकृत रूपमा चुनावी मैदानमा उत्रन सकेको छैन ।

यो अवस्थाले गठबन्धनका पाण्डेको लागि अनुकूलता थपेको छ । दशकौंदेखि लगातार एउटै दल वा नेतालाई भोट दिंदै आएका मतदाताले विकल्प रोज्न सक्ने जोखिम भने पाण्डे र त्रिपाठी दुवैलाई छ ।

पुराना वामपन्थी नेता उत्तम कँडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका कमेडियन हिमेश पन्तले काट्ने मतले पनि धादिङ–१ को आगामी चुनावको परिणामलाई धेरथोर प्रभावित पार्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?