+
+

वातावरणको मुद्दा बोकेर चुनावी मैदानमा वामपन्थी नेता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १५:२३

यसपटक मंसिर ४ को निर्वाचनमा धादिङ क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा छ । मलेखुका तीन जना पुराना कम्युनिस्ट पृष्ठभूमिका नेता चुनावी मैदानमा छन् ।

सत्तारुढ गठबन्धनबाट राजेन्द्रप्रसाद पाण्डे, नेकपा (एमाले) बाट भूमि त्रिपाठी र यी दुवैका कमरेड उत्तम कँडेल प्रतिस्पर्धामा उत्रिएका छन् । तीनै जना लामो समय एउटै पार्टीमा आवद्ध थिए ।

पाण्डे र कँडेल समकालीन हुन् भने त्रिपाठी उनीहरू दुवैका जुनियर । वातावरण संरक्षणको मुद्दा उठाउँदै स्वतन्त्र उम्मेदवारी दिएका कँडेलले २०३३ सालमा गजुरी हाईस्कुलको स्ववियु सदस्यबाट राजनीति सुरु गरेका थिए ।

उनी २०३५ बाट तत्कालीन नेकपा (माले)मा पूर्णकालीन बनेका थिए । २०४७ सालमा माले र नेकपा (माक्र्सवादी)को एकताबाट नेकपा (एमाले) बनेको थियो । २०५२ मा सुकुम्बासी समस्या समाधान आयोगको धादिङ जिल्ला अध्यक्ष बनेका कँडेल २०५४ देखि २०५९ सम्म धादिङ जिल्ला विकास समितिको उपसभापति रहे ।

त्यसपछि भने उनी नेकपा (माओवादी)मा लागेर भूमिगत भए । २०७० सम्म माओवादीको धादिङ जिल्ला सह–इञ्चार्ज र बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य रहे ।

पञ्चायत विरोधी आन्दोलनको क्रममा पटक–पटक जेलनेल र यातना भोगेका कँडेललाई डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ मा कृषि सामग्री कम्पनीको बोर्ड अध्यक्षमा नियुक्ति दियो । २०७२ मा त्यो जिम्मेवारी सकिएपछि भने उनी पर्यावरण संरक्षणमा केन्द्रित भए ।

शिक्षण र पत्रकारिताको समेत अनुभव सँगालेका कँडेलले २०५५ देखि नै त्रिशूली लगायत नदी संरक्षणको मुद्दा उठाउँदै आएका थिए । उनले निर्वाचन आयोगबाट चुनाव चिह्न माछो पाएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय चुनावको नतिजा स्वतन्त्र उम्मेदवार कँडेलका लागि यसै पनि अनुकूल छैन । उक्त चुनावमा एमालेले ३१ हजार ३४०, माओवादी केन्द्रले २१ हजार ३०३, नेपाली कांग्रेसले १६ हजार १३१, नेकपा (एकीकृत समाजवादी)ले ६ हजार ९०९ र राप्रपाले ८१५ मत पाएको थियो । त्यस्तै, स्वतन्त्र उम्मेदवारले जम्मा ३१० मत पाएको देखिन्छ ।

कँडेल भने चार दशक लामो राजनीतिक अनुभवका साथै शिक्षक, पत्रकार र वातावरण संरक्षणकर्मीको रूपमा सक्रिय रहँदा बनाएको सम्बन्धबाट आफूले भोट पाउने बताउँछन् । उनी भन्छन्, ‘दलहरूबाट वाक्कदिक्क मतदाताले यसपटक नयाँ परीक्षण गर्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?