+
+
स्थलगत झापा– १ :

विश्व–अग्निको एउटै नियति : आफ्नैसँग डर

एमालेभित्रको मत सजिलै तान्न सक्छौं भन्ने जुन कफिन्डेन्स झापा १ का कांग्रेस नेता कार्यकर्तामा छ, त्यो विश्वास आफ्नै मत जोगाउँछौं भन्नेमा चाहिं छैन । ठ्याक्कै यही अवस्था एमालेमा पनि छ । त्यसैले विश्व र अग्निको चुनावी परिणाम पार्टीभित्रको मत कति जोगाउन सक्छन् भन्नेमा भर पर्छ ।

बिनु सुवेदी बिनु सुवेदी
२०७९ कात्तिक २० गते १९:३३

२० कात्तिक, धुलाबारी (झापा) । झापामा कांग्रेस मात्रै होइन, गैरकांग्रेस वृत्तमा पनि एउटा भनाइ चर्चित छ, नेताहरु कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्मा दिनभर आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन्छन्, रात परेपछि एकअर्काको निर्वाचन क्षेत्रमा जान्छन् । यो भनाइ उनीहरु एक अर्काको निर्वाचन क्षेत्रमा आपसमा सघाउन र एकअर्कालाई बलियो बनाउन यसो गर्छन् भन्ने सन्दर्भमा आएको हैन । बरु निर्वाचनमा एकअर्कालाई कसरी पराजित गर्ने भन्ने प्रसंगमा झापाभित्र यो भनाइ चर्चित भएको हो ।

यसपालि पनि निर्वाचन क्षेत्र जोडिएको झापा १ र ३ मा नेपाली कांग्रेसबाट उनै विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौला उम्मेदवार छन् । २०५१ को उपनिर्वाचनपछि झापा ३ मा निरन्तर चुनाव लडिरहेका सिटौला क्षेत्र नम्बर ३ मा यसपटक मलाई अन्तिम भोट दिनुस् भनेर भोट माग्दै गर्दा झापा १ मा विश्वप्रकाश शर्मा हारको ह्याट्रिक टार्न चाहन्छन् ।

सांगठनिक उपस्थिति र गत स्थानीय तहको मतलाई आधार मान्ने हो भने शर्मालाई उनको क्षेत्रमा अहिले पनि कठिन छ । स्थानीय निर्वाचनमा झापा क्षेत्र नम्बर १ का १५ वडामध्ये ३ वटाको अध्यक्ष मात्रै कांग्रेसले जितेको छ । त्यसमाथि निर्वाचनका बेला मेचीनगर नगरपालिका प्रमुखको उम्मेदवार बनाउनका लागि सिटौला र शर्माका बीचमा जुन रस्साकस्सी चल्यो, त्यसले उनलाई अप्ठ्यारोमा पार्नसक्ने आकलन कांग्रेसकै नेताहरु गर्छन् ।

यद्यपि यसपालि सकेसम्म एकअर्कालाई सघाउने र नसके पनि नबिगार्ने भन्नेमा दुई नेताबीच समझदारी बनेको झापा कांग्रेसका एक नेताले बताए । ‘अहिले विश्वप्रकाश र कृष्ण दाइका बीचमा एकअर्कालाई अप्ठ्यारो नपार्ने सहमति भएको छ’ कांग्रेसका जिल्लास्तरीय एक नेताले भने, ‘विश्व दाइकै प्रस्तावमा झापा कांग्रेसका कार्यवाहक सभापति पनि केशव पाण्डे हुनुभएको छ ।’ कांग्रेसका झापा सभापति देउमान थेबेले झापा ४ बाट प्रतिस्पर्धा गरिरहेकाले पाण्डेलाई कार्यवाहक सभापति बनाइएको हो ।

यसअघि सिटौला पक्षले यिनै पाण्डेलाई मेचीनगर नगरपालिका प्रमुखका लागि टिकट दिँदा महामन्त्री शर्माले पाण्डेको टिकट खोसेर क्षेत्रीय सभापति इन्द्र बुढाथोकीलाई दिएका थिए । गठबन्धनको निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका बुढाथोकी पनि झापामा यसपालिको कांग्रेस विगत वर्षहरुको तुलनामा एकताबद्ध रहेको दाबी गर्छन् । ‘यसपटकको कांग्रेस पहिलेको जस्तो छैन, हामी एकताबद्ध भएर चुनावमा लागेका छौं’ बुढाथोकीले भने, ‘विश्व दाइको व्यक्तित्व पनि पहिलेभन्दा फरक छ, उहाँले चुनाव जितेर गए देशको प्रधानमन्त्री नै बन्न सक्ने हैसियत राख्नुहुन्छ, उहाँ सरकारमा हुँदा झापा १ लाई नै फाइदा हुने हो ।’

स्थानीय कार्यकर्तामा भने अझै पनि संशय बाँकी छ । उम्मेदवार विश्वप्रकाश शर्माको चुनावी यात्रामा हिंडिरहेका एक कार्यकर्ताले भने, ‘माथि कुरा मिलाए त भनेकै छन्, पहिले पनि धोका भएकै हो । यसपालि पनि धोका हुन के बेर छ र ? त्यही भएर अहिले हामीले अलि बढी मिहिनेत गर्नुपर्छ ।’

मेचीनगर नगरपालिकाका पूर्वमेयर समेत रहेका प्रदेश समिति सदस्य विमल आचार्यको दाबी भने कार्यकर्ताहरुको शंका भन्दा फरक छ । पार्टीको अस्तित्व जोगाउन पनि यसपालि कांग्रेसले जित्नुपर्ने र त्यसका लागि एकजुट हुनुपर्ने बताए । ‘झापा जिल्लाभरिमै कांग्रेसका सिनियर नेताहरु सकिंदै गएका बेला विश्व दाइ उदाउनुभएको छ’ आचार्यले भने, ‘एउटा–एउटा नेताभन्दा पनि अहिले सबैले पार्टीलाई सर्वोपरि मान्न जरुरी छ, राजनीतिक अस्तित्वका लागि पनि एकजुट भएर अघि बढ्नुपर्छ ।’

तर बाहिरबाट हेर्दा जे देखिन्छ त्यही नहुन पनि सक्छ भन्ने डर स्थानीय नेता–कार्यकर्तामा छ । यद्यपि कांग्रेसले झापा १ मा रविन कोइराला भन्दा अग्नि खरेललाई कमजोर प्रतिस्पर्धी मानेको छ । क्षेत्रबाट सर्वसम्मत सिफारिस भएका रविन कोइरालाको नाम काटेर टिकट लिएका खरेलसँग एमालेकै कार्यकर्ता रुष्ट भएको बुझाइ कांग्रेसको छ । त्यसैले एमालेको धेरै मत कांग्रेसलाई आउन सक्ने कांग्रेसका नेता–कार्यकर्ताहरुको भनाइ छ । एमाले भित्रको रुष्ट मत तान्ने कन्फिडेन्ट कांग्रेसभित्र जति छ, आफ्नो मत जोगाउन सकिन्छ भन्ने विश्वास भने उसँग छैन ।

रविन–अग्नि रस्साकस्सी

ठ्याक्कै यही अवस्था छ, नेकपा एमालेभित्र पनि । ७० को संविधानसभा निर्वाचनमा शर्मालाई नै पराजित गरेका, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राम कार्कीका लागि सिट छोडेका रविन कोइराला झापा १ का जनताका माझमा लोकप्रिय मानिन्छन् । वडा अध्यक्षदेखि मेचीनगर नगरपालिकाको प्रमुख हुँदा होस् या सांसद नरहेका बेला पनि स्थानीय बासिन्दाको गाह्रोसाह्रोमा स्थानीयस्तरमै बसेर काम गरेर होस्, कोइरालाले बनाएको छवि महामन्त्री शर्माका लागि चुनौतीपूर्ण हुन्थ्यो ।

रविन कोइराला

क्षेत्रीय कमिटीले सर्वसम्मत सिफारिस गरेपछि टिकट पाउनेमा ढुक्कै कोइराला टिकटबारे थप परामर्श गर्न काठमाडौं पनि गएनन् । खरेलले पनि झापा २ बाट चुनाव लड्न लामो तयारी गरेका थिए । चैत २०७७ मा महान्यायाधिवक्ताबाट राजीनामा दिएर झापा २ मै केन्द्रित भएका थिए । देवराज घिमिरेले पनि यही क्षेत्रबाट लड्न चाहे पनि ओलीले दुवैलाई छाड्न सकेनन् र सर्वसम्मत सिफारिस भएका कोइरालालाई भने प्रदेशसभामा झारिदिए । देवराजले क्षेत्र नम्बर २ मा टिकट पाउँदा अग्नि १ मा पुगे ।

‘रविन कमरेडलाई पहिले जिल्ला इन्चार्जबाट झारेर सहइन्चार्ज बनाइयो, इन्चार्ज अग्नि कमरेडलाई दिइयो’ एमालेका एक स्थानीय नेता भन्छन्, ‘अहिले हामीले रविन कमरेडका लागि भोट माग्न सुरु गरिसकेका थियौं, फेरि रविन कमरेडलाई नै पीडित बनाएर अग्नि खरेललाई ल्याइयो, यसले पार्टीमा अप्ठ्यारो त पारिहाल्छ नि ।’ १० बुँदे पक्षधर रहेका कोइराला ओलीको पक्षमा कहिल्यै पनि लागेनन् । त्यसैको बदला लिन पनि ओलीले कोइरालाको ठाउँमा खरेललाई व्यवस्थापन गरेको बुझाइ एमालेभित्रकै असन्तुष्टहरुको छ ।

यद्यपि झापा ५ निवार्चन परिचालन समितिका संयोजक विष्णु प्रसाईं भने रविन कोइरालालाई प्रदेशमन्त्री बनाउने गरी उम्मेदवार बनाएकाले असन्तुष्टिको सम्बोधन हुने बताउँछन् । ‘उहाँ संघीय सांसद हुँदा मन्त्री नहुन पनि सक्नुहुन्थ्यो, हामीले प्रदेशमा मन्त्री ग्यारेन्टी गरेर उम्मेदवार बनाएका छौं, प्रदेश मन्त्री भए यही क्षेत्रको विकास हुने हो’ प्रसाईंले भने, ‘त्यसैले अलिअलि असन्तुष्टि छ भने पनि त्यो हल हुन्छ, चुनाव हामीले जित्ने हो ।’

एमालेका क्षेत्रीय संयोजक टीकाराम मँग्राती पनि रविनभन्दा सिनियर नेतालाई उम्मेदवार बनाएर अध्यक्ष ओलीले झापा १ माथि न्याय गरेको तर्क गर्छन् । ‘पहिले हामीले नै एकल सिफारिस गरेका हौं, तर अध्यक्ष कमरेडले उहाँभन्दा उत्तम विकल्प पठाइदिनुभयो’ मँग्रातीले भने, ‘त्यसैले यसपटक पनि विश्वप्रकाश शर्मालाई पराजित गर्न एमालेलाई अप्ठ्यारो पर्दैन, हामी सजिलै जित्छौं ।’

तर उम्मेदवार छनोटमा पार्टीले विवेक नपुर्याएको भन्दै भोट हाल्नै जान्नौं भन्नेदेखि चुनाव प्रचार प्रसारमा नहिंड्ने एमालेका नेता–कार्यकर्ता झापा १ मा थुप्रै भेटिए, जसको असर स्वयम् एमालेलाई नै पर्छ ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?