+
+

प्रधानमन्त्री कप क्रिकेट खेल्दै युएईविरुद्ध शृंखलाको तयारी गर्दै

‘लिग–२ शृंखलाअघि युएईसँग शृंखला खेल्नु पाउनु हाम्रो लागि राम्रो हुनेछ.’ आफ्नो खेल नभएको दिन राष्ट्रिय टिमको प्रशिक्षण गर्दै आएका नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले भने, ‘अहिले प्रधानमन्त्री कप खेल्दै युएईको खेलका लागि पनि तयारी गरिरहेका छौं । यसले फिटनेस र रिदममा रहन सहयोग पुग्छ ।’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक २० गते १४:०८

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अहिले कीर्तिपुरस्थित टीयू मैदान र मुलपानी क्रिकेट मैदानमा भइहरेको छ । १० टिमलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइएको छ ।

यही बेला नेपालले युएईसँग हुने तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखलाको लागि पनि तयारी गरिरहेको छ ।

नेपालले युएईसँग यही कात्तिक २८, ३० र मंसिर २ गते टीयू मैदानमै खेल्नेछ । युएई हालै अष्ट्रेलियामा टी-२० विश्वकप खेलेको टोली हो । गत फेब्रुअरीमा ओमान भएको टी-२० विश्वकप छनोटको निर्णायक खेलमा युएईसँगै पराजित हुँदा नेपाल भने टी-२० विश्वकप पुग्नबाट बन्चित भएको थियो ।

त्यसपछि नेपालले मार्चमा युएईमै पपुवा न्युगिनी र युएईसँग आईसीसी क्रिकेट विश्वकप लिग-२ को शृंखला खेलेको थियो । त्यसयता नेपालले युएईसँग पहिलो पटक खेल्दैछ ।

नेपालले डिसेम्बरमा नामिबिया गएर लिग–२ को शृंखला खेल्ने तालिका छ र त्यसैको तयारीस्वरुप युएईसँग खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँगको खेलबाट नामिबिया भ्रमणका लागि सहयोग पुग्ने विश्वास राखेको छ । नेपालले अर्को महिना नामिबियामा घरेलु टोली र स्कटल्याण्डसँग खेल्नेछ ।

‘हामी युएई र नेपालबीचको एकदिवशीय शृंखला आयोजना गर्न पाउँदा उत्साहित छौं । टीयू मैदानमा खेल्न हाम्रो प्रस्तावलाई इमिरेट्स क्रिकेटले स्वीकार गरेकोमा हामी खुशी छौं,’ क्यानले जारी गरेको विज्ञप्तीमा क्यानका कार्यवाहक सचिव प्रशान्त मल्ले भनेका छन् ।

भर्खरै टी-२० विश्वकप खेलेको युएई नेपालले प्रतिस्पर्धा गर्नका लागि सुहाउँदो प्रतिद्वन्द्वी भएको र आईसीसीको अर्को खेल खेल्नुअघि यसले सहयोग पुग्ने मल्लले बताएका छन् ।

अहिले दैनिक त्रिवि र मुलपानीमा प्रधानमन्त्री कपको खेल चलिहरेको छ । क्यानले अनौपचारिक रुपमै भए पनि २४ खेलाडी छनोट गरेर आन्तरिक क्याम्प सञ्चालन गरिरहेको छ । मुख्य प्रशिक्षक मनोज प्रभाकरले प्रशिक्षणमा गरिरहेका छन् । प्रधानमन्त्री कपको खेल नपरेका दिन खेलाडीहरु त्रिवि मैदान पुगेर ‘जिम सेसन’, ‘नेट सेसन’ लगायत गरिरहेका छन् ।

‘लिग–२ शृंखलाअघि युएईसँग शृंखला खेल्नु पाउनु हाम्रो लागि राम्रो हुनेछ । अहिले प्रधानमन्त्री कप खेल्दै युएईको खेलका लागि पनि तयारी गरिरहेका छौं । यसले फिटनेस र रिदममा रहन सहयोग पुग्छ,’ आफ्नो खेल नभएको दिन राष्ट्रिय टिमको प्रशिक्षण गर्दै आएका नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले भने ।

प्रधानमन्त्री कपमा सात प्रदेश टिम र तीन विभागको टिम गरी १० टिमले प्रतिस्पर्धा गरिरहेको छ । अहिले प्रशिक्षणमा दीपेन्द्रसहित पुलिस टिमका ७ खेलाडी छन् ।

पछिल्लो पटक नेपालले केन्या भ्रमण गरेको टिममा रहेका खेलाडीहरुबाट प्रशिक्षणमा केही फेरिएका छन् ।

केन्या भ्रमणमा पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेलका लागि १६ खेलाडी गएका थिए । त्यसमध्ये केही खेलाडी अहिले क्याम्पमा छैनन् ।

टी-२० अन्तर्राष्ट्रियमा कप्तान गरेका सन्दीप लामिछानेलाई नाबालिग बलात्कार अभियोग लागेपछि क्यानले उनलाई कप्तानबाट निलम्बन गरेको थियो ।

काठमाडौं जिल्ला अदालतमा सन्दीप र सरकारी पक्षको वकिलको बहससमेत सकिएको छ र उनलाई अहिले पुर्पक्षका लागि सुन्धारा कारागारमा पठाइसकेको छ ।

यस्तै केन्या गएकामध्ये देव खनाल, विवेक यादव, शाहब आलम र पवन सर्राफ अहिले प्रशिक्षणमा छैनन् । डेंगुका कारण अहिले आराम गरिरहेका सोमपाल कामीले प्रधानमन्त्री कप खेलेका छैनन् । क्यान उनी सन्चो हुने प्रतीक्षामा छ ।

त्यसबाहेक १० खेलाडीसहित अन्य खेलाडी थपेर क्यानले प्रशिक्षण गराइरहेको छ ।

भेट्रान खेलाडी शरद भेषावकर पनि प्रशिक्षणमा समावेश छन् । यस बाहेक चोटका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका स्पिनर ललितनारायण राजवंशी पनि अहिले प्रशिक्षणमा छन् । पुलिस क्लबका उनले जारी प्रधानमन्त्री कपमा पनि राम्रो खेलिरहेका छन् । लेगस्पिनर सन्दीपसमेत नहुँदा अहिले ललित राष्ट्रिय टिममा मुख्य स्पीनरको रुपमा फर्कने सम्भावना बलियो छ । आर्मीका स्पिनर सुशन भारी पनि प्रशिक्षणमा समावेश छन् ।

ललित र सुशनसहित पुलिसकै सागर ढकाल स्पिनरको रुपमा छन् । उनीहरुलाई सघाउनेमा स्पीन अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बसिर अहमद छन् । केन्यामा धेरै मौका दिए पनि पवन सर्राफले राम्रो प्रदर्शन गर्न नसकेपछि उनलाई टिममा राखिएको छैन ।

यस्तै पेस बलिङतर्फ सोमपाल फिट भएर फर्कने विश्वासमा क्यान छ । अहिले प्रशिक्षणमा करण केसी, गुल्शन झा, किशोर महतो, कमलसिंह ऐरी लगायत छन् । अविनास बोहरा भने अष्ट्रेलिया गएका छन् । उनी अहिले टिममा उपलब्ध छैनन् । यस्तै फास्ट बलिङ अलराउण्डरमा आरिफ शेख र आदिल आलम छन् ।

यस्तै ब्याटिङतर्फ ओपनिङमा तीन विकल्प छ । केन्या भ्रमण गएका आसिफ शेख र अजुन साउदसँगै कुशल भुर्तेल छन् ।

त्यसबाहेक रोहित पौडेल मुख्य ब्याटरको रुपमा छन् । पूर्व कप्तान ज्ञानेन्द्र तथा शरद र विनोद भण्डारी क्याम्पमा भएकामध्ये अनुभवी खेलाडीको रुपमा छन् ।

प्रशिक्षणमा मधेश प्रदेशका अलराउण्डर हरिशंकर साह, बागमती प्रदेशका फास्टर बलरद्वय नन्दन यादव र प्रतिश जिसी लगायत छन् ।

क्यानले सेलेक्सन कमिटी र प्रशिक्षकसँगको सल्लाहमा युएईसँगको खेलका लागि छिट्टै १४ सदस्यीय टोली घोषणा गर्ने जनाएको छ । प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गर्ने खेलाडी पनि प्रशिक्षणका लागि थपिन सक्ने क्यानले जनाएको छ । अहिले प्रशिक्षणमा पुलिस क्लबका ७, एपीएफका ६ र आर्मीका ५ खेलाडी छन् । अन्य केही प्रदेश टिमका छन् ।

यसबाहेक अहिले मुख्य चासोको रुपमा रहेको कप्तानको टुंगो पनि क्यानले टिमसँगै घोषणा गर्ने तयारी गरेको छ ।

हालका उपकप्तान तथा सन्दीप नहुँदा केन्यामा ५० ओभरको खेलमा कप्तानी गरेका रोहित पौडेलदेखि पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरी, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल अनी अनुभवी खेलाडी शरद भेषावकर कप्तानको मुख्य दाबेदार हुन् ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?