+
+
उम्मेदवार चिनौं :

रेञ्जरोभरबाट ओर्लिएर टुकटुके चढेका विनोद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते ११:१५
अटो चढ्दै गर्दा विनोद चौधरी

२१ कात्तिक, काठमाडौं । नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरीले यसपटक समानुपातिक सांसद बन्न चाहेनन् । अघिल्लो पटक नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बनेका उनी यसपालि नेपाली कांग्रेसबाट टिकट लिएर नवलपरासी–१ बाट निर्वाचन लड्दै छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका ६७ वर्षीय चौधरी अहिले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी दौडधुप गरिरहेका छन् । यो दौडधुपमा उनले आफ्नो ‘फेवरेट’ रेञ्ज रोभर भने प्रयोग गरिरहेका छैनन् । सधैं सुट–बुटमा सजिने चौधरी कहिले पैदलै, कहिले तीनपांग्रे टुकटुके त कहिले कार्यकर्ताको मोटरसाइकलको पछाडि बसेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । किसानको खेतमा गएर ट्रयाक्टर पनि चलाइरहेका छन् ।

चौधरीको उद्योग ग्राम र उनले बनाएको शाश्वत धाम पनि यही क्षेत्रमा पर्छ । विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोर्ब्स म्यागजिनका अनुसार चौधरी ग्रुप र सीजी कर्प ग्लोबलका अध्यक्ष रहेका चौधरीको १.५ बिलियन डलर (१ खर्ब ९८ अर्ब रुपैयाँ) सम्पत्ति छ ।

उनी मातहत १६० कम्पनी छन्, १२३ वटा ब्रान्ड चौधरीको व्यवसायमा जोडिएका छन् । ५ वटै महाद्वीपका २७ देशमा चौधरी ग्रुपको उपस्थिति छ । चाउचाउको विश्व बजारमा चौधरीको वाइ–वाइ ब्रान्डको २.६ प्रतिशत हिस्सा छ ।

उद्योग, व्यापार, पर्यटन, शिक्षा, मनोरञ्जन, वित्त, सञ्चार र निर्माण क्षेत्रमा लगानी गरेका चौधरीले नवलपरासीमा शाश्वत धाम पनि बनाएका छन् । उनले आत्मकथा, राजनीतिसँग जम्काभेट र उद्यमीका आँखा शीर्षकका किताबहरू पनि प्रकाशित गरेका छन् ।

पञ्चायतकालमा रानी ऐश्वर्य, अधिराजकुमार धीरेन्द्र शाह र सूर्यबहादुर थापासँग निकट सम्बन्ध बनाएका चौधरी २०४६ पछि नेकपा (एमाले)सँग नजिकिएका थिए । तर, २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसमा प्रवेश गरे । त्योसँगै उनी मधेशीको कोटामा समानुपातिक सांसद र कांग्रेसको चौधौं महाधिवेशनबाट मधेशी कोटाबाटै केन्द्रीय सदस्य चुनिए ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतअनुसार चौधरीले नवलपरासी–१ मा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

उक्त निर्वाचनमा यो क्षेत्रमा एमालेले २६ हजार ७७९ मत पाएको थियो । त्रिपाठीको नेपाल प्रगतिशील पार्टीले ४ हजार ६८१ र जनता समाजवादी पार्टीले ३ हजार ५३९ मत पाएका छन् ।

त्यस्तै, कांग्रेसले ३० हजार ३४२, माओवादी केन्द्रले ५ हजार ३४७, एकीकृत समाजवादीले १ हजार १४१ र राष्ट्रिय जनमोर्चाले २६० मत पाएको थियो । यसअनुसार नवलपरासी–१ मा सत्ता गठबन्धनसँग ३७ हजार ७२ मत छ । यो आँकडा चौधरीको लागि अनुकूल देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?