+
+
स्थलगत-सुनसरीबाट :

धनाढ्य उम्मेदवारका गरिब मतदाता

यो बस्ती भगवती चौधरीको दुहबी बजारस्थित घरबाट ६ किलोमिटर पश्चिममा छ भने विजय गच्छदारको निवासबाट तीन किलोमिटर । विजय गच्छदारले ६ पटक चुनाव जित्दा १३ पटक मन्त्री भए । चुनाव जित्न नसके पनि एमालेकी भगवती चौधरी राज्य मन्त्री भइन् । तर यहाँका मतदाताको जीवनस्तरमा भने कुनै परिवर्तन आएको छैन ।

सइन्द्र राई हरि अधिकारी सइन्द्र राई, हरि अधिकारी
२०७९ कात्तिक २० गते २०:३१

२० कात्तिक, दुहबी (सुनसरी) । ‘देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सुनसरी–३ सबभन्दा एक्सपेन्सिभ (महँगो) छ । किन र कसका कारणले भयो ?’ २०७६ माघमा बसेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य भगवती चौधरीले प्रश्न उठाएकी थिइन् ।

चौधरीले उठाएको यो विषयमा नेताहरूले निर्वाचन प्रणालीलाई दोष दिएर उम्किए । चौधरीले भने त्यसपछि पनि सुनसरी–३ को चुनाव असाध्यै महँगो बनेको सार्वजनिक अभिव्यक्ति दिइरहिन् ।

‘यति एक्सपेन्सिभ चुनाव कसका कारणले भयो ? राज्यले खोजी गर्नुपर्छ’, उनको माग थियो ।

निर्वाचन आयोगले व्यवस्था गरेको खर्च सम्बन्धी कानुनी व्यवस्थाबाट बच्न आफैंले गरेको खर्च विवरण चाहिं भगवतीले पनि लुकाउने गरेकी छन् । तर उनकोे आशय लुक्दैन, विजयकुमार गच्छदारसँग चुनाव लड्नु असाध्यै महँगो भयो ।

२०४८ देखि २०५६ सम्म सुनसरी–२ बाट चुनाव जित्दै आएका गच्छदार २०६४ मा निर्वाचन क्षेत्र पुनर्संरचनापछि ३ मा आए । २०६४ मा रेवतीरमण भण्डारीलाई हराएर चुनाव जितेका गच्छदारसँग २०७० र २०७४ मा एमालेबाट भगवतीले प्रतिस्पर्धा गरेकी थिइन् । त्यही अनुभवका आधारमा चुनाव महँगो भयो भन्दै आएकी उनले गच्छदारसँग प्रतिस्पर्धा गर्न भने छाडेकी छैनन् ।

‘सम्पूर्ण पंक्ति परिचालित भएर चुनावमा होमिएका छौं । चुनाव जित्न २२ वटा त उपसमिति बनाएका छौं’, भगवतीको चुनाव परिचालन कमिटीका संयोजक लिलम बस्नेतले भने । कांग्रेसका स्थानीय नेता विजय चौधरीका अनुसार, गच्छदारको चुनावी तयारी पनि अगाडि बढेको छ । धेरैजसो समय काठमाडौं बस्ने गच्छदार २३ असोजमा मनोनयन दर्ता गरेपछि निर्वाचन क्षेत्रमै छन् ।

मतदाताका नफेरिएका दुःख

भगवतीले भनेजस्तै सुनसरी कांग्रेसका नेताहरू पनि यो निर्वाचन क्षेत्र असाध्यै खर्चिलो बनेको स्वीकार्छन् । कांग्रेसका एक नेता, गच्छदार र भगवती चौधरी चुनावी प्रतिस्पर्धामा रहेसम्म अरू नेताले टिकट लिने हिम्मत गर्ने अवस्था समेत नरहेको बताउँछन् । ‘गच्छदार र भगवतीले जति पनि खर्च गर्छन् भन्ने स्थापित भइसकेको छ, अरू नेताहरूले दाबी कसरी गरोस्’, ती नेता भन्छन् ।

गच्छदार यो क्षेत्रबाट २०४८ यता चुनाव लड्दै आएका छन् । २०४६ सालमा बहुदल आएपछि भएका सबै चुनावमा भाग लिने र अपराजित रहनेमा कांग्रेस सभापति शेरबहादुर देउवासँग गच्छदारले समान कीर्तिमान बनाएका छन् । गच्छदार चुनावमा अत्यधिक खर्च गर्ने नेताका रूपमा समेत परिचित छन् ।

यहाँका मतदाताको जीवनस्तरमा भने कुनै परिवर्तन आएको छैन । कैयौं बस्तीमा साँझ–बिहान चलाउनै मुश्किल छ । त्यसैको एक उदाहरण हो– गढी गाउँपालिका–२, स्थित भमरी बस्ती । भमरीमा झण्डै अढाइ सय परिवार मुसहर बस्छन् ।

यो बस्ती भगवतीको दुहबी बजारस्थित घरबाट ६ किलोमिटर पश्चिम हो भने गच्छदारको निवासबाट तीन किलोमिटर । गच्छदार र भगवती दुवैको घरबाट पश्चिममा पर्ने यो बस्तीका बासिन्दाले अहिले पनि दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका छन् । ‘सडक आएको छ, तर खानेपानी छैन’, ५० वर्षीय बद्री ऋषिदेवले सुनाए ।

उनका अनुसार, २०६३ सालमै यो बस्तीमा पानी ल्याउन भनेर ट्यांकी बन्यो । पाइपलाइन पनि बिछ्याइयो । तर त्यसपछि तीन वटा चुनाव सकियो र अर्को चुनाव आइसक्दा पनि पानी आएको छैन । ‘ठाउँठाउँको पाइप पनि निकालेर उनीहरूकै (गच्छदार निकट स्थानीय नेताहरू) मान्छेले लगिसके’, बद्रीले सुनाए ।

यो बस्तीको सबैभन्दा ठूलो माग हो, नोकरी । ‘चुनाव आएको बेला नेताहरू गाउँ आउँछन्, चिन्ता नगर्नु नोकरी मिल्छ भन्छन्’ अर्का स्थानीय कमलेश ऋषिदेवले भने । गएको चुनावमा एमालेकी भगवती चौधरीले यो बस्तीबाट सात युवाको नाम टिपेर लगेका थिए । रोजगारी मिल्छ भनेपछि कमलेशकै सल्लाहमा बस्तीका धेरैजसोले एमालेलाई भोट हाले । एमाले उम्मेदवार आशनारायण चौधरीले गाउँपालिका अध्यक्ष जित्नुमा उनीहरूको भोटले पनि काम गर्‍यो । तर नाम टिपेर लगेकाहरूले जागिर नपाएपछि कमलेशकै आश मरिसक्यो । ‘कति कांग्रेसलाई भोट हाल्नु भनेर पार्टी फेरेको, त्यो पनि काम लागेन’, कमलेशले भने ।

रोजगारीको मुख्य चिन्ता हुनुमा भने यो बस्तीका कसैसँग आफ्नो जमिन नहुनु हो । ‘घर बनाउने जग्गा त आफ्नो छैन, उब्जनी गर्नलाई जमिन कहाँ हुनु’, महेन्द्र मुसहर भन्छन् । उनका अनुसार, पुस्तौंदेखि यो बस्ती ऐलानीमा बस्दै आएको छ ।

धेरैपटक भूमि दिने भनेर फारम भर्नेहरू गाउँ आए । ‘अस्ति पनि फारम भरेर लगेका छन्’ ५५ वर्षीय मंगलीदेवीले सुनाइन् । तर जग्गा पाउनेमा उनलाई विश्वास छैन । नेताहरूले भोट पाउनलाई मात्रै नाम टिपेको भन्ने उनको बुझाइ छ ।

हुन पनि यो बस्ती नजिकैका विजय गच्छदारले ६ पटक चुनाव जित्दा १३ पटक मन्त्री भए । चुनाव जित्न नसके पनि एमालेकी भगवती चौधरी राज्य मन्त्री भइन् । तर यो मुसहर बस्तीका एक जनाले पनि राम्रो रोजगारी पाउन सकेका छैनन् । बस्तीमै पढेका भनेर चिनिएका राजेश ऋषिदेवले १० वर्ष अगाडि गाउँकै कुन्ती प्राविमा पढाउने अवसर पाएका थिए । ‘हाम्रा लागि बोलिदिने कोही हुन्नन्, अहिले कसैसँग पनि स्थायी रोजगारी छैन’, राजेशले दुःख सुनाए ।

दुहबीस्थित एमाले नेता भगवती चौधरीको घर ।

तर उनले निरन्तरता पाउन सकेनन् । कक्षा–१२ सम्म पढेका राजेश स्कुल पढाउने जागिर छोडेर रोजगारीका लागि मलेशिया गए । खाडी मुलुक जान सक्नु पनि यो बस्तीका निम्ति ठूलै उपलब्धि हो । ‘मैले पनि जेठो छोरोलाई मलेशिया पठाएको छु’ बस्तीका अगुवा सीताराम मुसहरले भने ।

उनको चाहना भने छोराहरूलाई राम्रो पढाएर सरकारी जागिरे बनाउने थियो । तर सीतारामको त्यो सपना पूरा हुनसकेको छैन । कान्छा छोरा राजेश (२१) ले तीन पटक सशस्त्र प्रहरीमा भर्ना हुन निवेदन दिइसके । तर नाम निकाल्न सकेका छैनन् । सीतारामले जेठो अजयलाई कक्षा–१० सम्म र कान्छो राजेशलाई कक्षा–१२ सम्म पढाएका छन् । यो बस्तीका धेरै बालबालिकाले त सावाँ अक्षर नै छिचोल्दैनन् ।

‘बाजे–बराजुले जस्तै हामीले पनि अरूकै काम गरेर जिन्दगी चलाउँदैछौं, छोराहरूले पनि त्यस्तै गर्नुपर्ने हो कि !’ सीतारामको मनमा डर छ । तर बस्तीका किशोरकिशोरी अहिले पनि माछा मार्ने, बोरा बोक्ने, आली बाँध्ने गरेरै दिन कटाइरहेका छन् । ‘मधेश आन्दोलन भयो । नोकरी मिल्ला, दुःख हट्ला भनेर लडियो’ बद्री ऋषिदेव भन्छन्, ‘बस्तीको दुःख बस्तीमै रह्यो, नेताहरूले झुट बोले ।’

किनिन्छ मत !

यो बस्तीको गरिबी र अशिक्षाको लाभ भने हरेक चुनावमा उम्मेदवारहरूले सजिलै उठाउने गरेको देखिन्छ । ‘यहाँका मान्छेलाई यसो चारो फाल्दिए हुन्छ भन्ने ठान्छन्, फेरि हाम्रा मान्छेहरू पनि बिक्री भइहाल्छन्’, महेन्द्र ऋषिदेव भन्छन् । उनका अनुसार, बस्तीका अलिक बोल्नेलाई समातेर चुनावको अघिल्लो दिन उम्मेदवारका मान्छेले पैसा दिन्छन्, त्यसै आधारमा भोट जान्छ ।

गएको चुनावमा भने यो बस्ती पनि गच्छदार र भगवती समूहमा बाँडिएकोे थियो । गच्छदारका तर्फबाट सीताराम र भगवतीको तर्फबाट कमलेशले बस्तीमा प्रतिनिधित्व गरे । उनीहरूले नै नेताबाट पैसा बुझे र खानपानमा खर्च गरे । ‘चुनाव अगाडि त मलाई भेट्छन् । माथिको कुरा हो ।

यसपटक सघाउनु भन्छन्’ सीतारामले अनलाइनखबरसँग भने, ‘यति पैसा खुवाउनु, पिउनु भन्छन् । केटाहरूलाई दारु, मासु खाने पैसा दिन्छन् ।’ तर नेताहरूले यो बस्ती पनि फुटाएको उनको भनाइ छ । उनका अनुसार, गढी गाउँपालिकामा मात्रै १२ बस्ती मुसहर छन् । ‘हामी जस्तै दुःख पाउने थारूहरू पनि छन्, उनीहरूलाई पनि दारु (रक्सी) मै किनिहाल्छन्’, उनी भन्छन् ।

एमालेतिर लागेका कमलेश पनि चुनावको अघिल्लो रात मात्रै बस्तीमा कसको पक्षमा कति मत खस्छ भन्ने टुंगो लाग्ने बताउँछन् । ‘गच्छदारले ३० वर्षदेखि यस्तै गर्दै आएका हुन्’, उनी भन्छन् ।

दुहबी नगरपालिका–७ का वडाध्यक्ष रहेका विजय चौधरी भने गच्छदारले चुनाव जित्न मत किनिरहनुपर्ने अवस्था नरहेको तर्क गर्छन् । ‘गिरिजाप्रसाद कोइरालासँग नजिक भएर काम गरेको नेता हो, यहाँको सडक हेर्नुहोस्, पुल हेर्नुहोेस्’ कांग्रेसबाट वडाध्यक्ष जितेका उनी भन्छन्, ‘चुनाव जित्ने भनेको विकास निर्माणको कामले हो । धेरै विकास भयो भनेर त मिडियामै आएको छ नि !’

मैदानमा फेरि गच्छदार–चौधरी

२०७४ पछि गढी र बर्जु गाउँपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिकाको ६ देखि १५ सम्म र इनरुवाको ७ नम्बर वडा पर्ने यो क्षेत्रमा गच्छदार सातौं पटक चुनावी प्रतिस्पर्धामा छन् । यसपटक गच्छदारलाई कांग्रेससँगै सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।

तेस्रोपटक चुनावी मैदानमा रहेकी भगवतीलाई भने जनता समाजवादी पार्टी (जसपा) को समर्थन छ । २०७० र २०७४ मा गच्छदारसँगै पराजित भगवती यसपटक जसरी पनि जित्नैपर्ने दबावमा छिन् । प्रचारप्रसारको समय सुरु नहुँदै हिंसा भड्काउने गरी उत्तेजक अभिव्यक्ति दिएकाले यो पटक जितका निम्ति आवश्यक खर्च गर्न भगवती पछि नपर्ने अनुमान लगाउन सकिन्छ ।

त्यसै पनि फरवार्ड लघुवित्तकी अध्यक्ष भगवतीलाई सुनसरी एमालेले धनी नेताका रूपमा हेर्ने गरेको छ । उनी नेतृत्वको यो लघुवित्तको ४० जिल्लामा १६० वटा कार्यालय छन् । ८४ करोड चुक्ता पूँजी देखाइएको यो लघुवित्तकै पृष्ठभूमिमा उनले राजनीति गर्दै आएकी छन् ।

२०६४ सालमा समानुपातिक सांसद हुँदै झलनाथ खनाल नेतृत्वको सरकारमा (२०६८ मा) भगवती वन तथा भूसंरक्षण राज्यमन्त्री भएकी थिइन् । २०६४ सालमा भएको दुर्घटनामा ज्यान गुमाएका पति दिनेशको नाममा प्रतिष्ठान खोलेर पनि गतिविधि गर्दै आएकी छिन् ।

गएको वर्ष कांग्रेस उपसभापतिमा पराजित भएकाले गच्छदार पनि यो चुनाव जित्नैपर्ने दबावमा छन् । उनी निकट नेताहरू भने यसपटक गठबन्धनकै साथ रहेकाले धेरै अप्ठ्यारो नरहेको बताउँछन् ।

विगतका चुनावमा गच्छदार जुनसुकै पार्टीबाट उठे पनि जितेको इतिहास भएकाले जनताको साथ यसपटक पनि रहने उनीहरूको विश्वास छ । २०४८ देखि २०५६ सम्म कांग्रेस, २०६४ मा मधेशी जनअधिकार फोरम, २०७० मा फोरम लोकतान्त्रिक र २०७४ मा फेरि कांग्रेसबाट गच्छदारले चुनाव जितेका थिए । फोरम हुँदा उनको चुनाव चिह्न हातले समातेको मसाल र फोरम लोकतान्त्रिक हुँदा दुई हाते नमस्कार थियो ।

दुहबीस्थित कांग्रेस नेता विजय गच्छदारको घर ।

कुनैबेला कांग्रेस नेतृत्वकै दावेदारका रूपमा एकेजीबी (अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार) भित्र पर्ने गच्छदार चुनाव जितेको भन्दा दोब्बर बढी पटक मन्त्री भएका छन् । २०४८ मा सञ्चार राज्यमन्त्री भएका गच्छदार २०६५ पछि पाँच पटक त उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भए ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गृहमन्त्री बनेका गच्छदार सधैं रोजाइका मन्त्रालय भौतिक पूर्वाधार, पर्यटन, जलस्रोत र यातायातमा दोहोरिइरहे । २०६२/६३ सालको जनआन्दोलन अगाडि कांग्रेस सहभागी भएको हरेक सरकारमा मन्त्री रहेका उनी २०६४ को चुनावपछि उपेन्द्र यादव नेतृत्वको फोरम र पछि आफ्नै नेतृत्वको फोरम लोकतान्त्रिकबाट सरकारमा सहभागी भए ।

तर बालुवाटार जग्गा हिनामिना मुद्दामा २०७६ माघमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि भने उनी मन्त्री हुनबाट रोकिए । ९ करोड ६९ लाख बिगोसहित भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनी सांसद पदबाट समेत निलम्बित भए । आफूविरुद्धको भ्रष्टाचार मुद्दालाई केपी ओलीको प्रतिशोध भएकाले चुनाव जितेर देखाउने भन्दै गच्छदार निकट नेताहरूले अहिले मत मागिरहेका छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?