+
+

धनुषा ४ को प्रदेशसभामा पूर्व सहयात्रीबीच प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते ११:५५

२१ कात्तिक, जनकपुरधाम । प्रदेशसभा तर्फ धनुषा क्षेत्र नं. ४ (२) मा ५ स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

ती १२ मध्येमा पनि दुई पूर्व सहयात्री सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका शत्रुधन महतो र नेकपा एमालेका हरिनारायण महतोबीच प्रतिस्पर्धा छ । जनता समाजवादी पार्टी नेपालबाट चन्देश्वर महतो उम्मेदवार छन् ।

जनमत पार्टीबाट सत्यनारायण सिंह, जनता प्रगतिशील पार्टी नेपालबाट शोभा कार्की, राप्रपा नेपालबाट बासुदेव सुवेदी र राप्रपाबाट कपलेश्वर महतो उम्मेदवार छन् । यस्तै जसपाबाट विद्रोह गरी रामनरेश सिंहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

धनुषा ४ को प्रतिनिधि सभामा एमाले र जसपाबीच चुनावी तालमेल नहुँदा उनीहरुले मित्रवत् प्रतिस्पर्धा गरिरहेका छन् ।

सांगठनिक रुपमा यस क्षेत्रका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका शत्रुधन र एमालेका हरिनारायण हुन् । शत्रुधन एमाले विभाजन अघि सोही पार्टीबाट यस क्षेत्रबाट लगातार तीनपटक विजयी भएका थिए । दुईपटक संविधानसभा सदस्य र एकपटक प्रदेश सभा सदस्य बने उनी । अहिले उनी मधेश सरकारका बहालवाला उद्योग, वन तथा पर्यटनमन्त्री छन् ।

तीनपटक उनलाई जिताउन हरिनारायणको भूमिका रह्यो । हरिनारायण पनि मिथिला नगरपालिकाका पूर्वमेयर हुन् । हरिनारायणलाई मेयर जिताउन पनि शत्रुधनको ठूलो भूमिका थियो । शत्रुधन र हरिनारायण एमालेका धनुषा जिल्ला अध्यक्ष रहिसकेका छन् ।

शत्रुधन अहिले नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य छन् भने हरिनारायण एमालेका केन्द्रीय सदस्य । एमाले विभाजनका कारण यसपटक दुबैजना फरक दलबाट उम्मेदवार हुँदा प्रतिस्पर्धा रोचक बनेको छ । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा शत्रुधनले कांग्रेसका बासुलाल महतोलाई पराजित गरेका थिए ।

यस प्रदेशसभा क्षेत्रमा २२ वटा वडा पर्छन्, जसमा १६ वटा वडा गठबन्धन घटक दल कांग्रेस, एकीकृत समाजवादीसहितका दलले जितेका छन् । अन्य वडामा एमालेले जितेको छ ।

यो क्षेत्रमा कांग्रेस र एमालेको बलियो पकड छ । गत स्थानीय तहको निर्वाचन परिणाम अनुसार कांग्रेस पहिलो र एमाले दोस्रो शक्ति हो । तेस्रोमा नेकपा एकीकृत समाजवादी, त्यसपछि क्रमशः माओवादी र जसपा लगायत दल छन् ।

यस क्षेत्रमा पटक–पटक जितेर शिक्षा, स्वास्थ्य, सडक, सिंचाइ, खानेपानी लगायत सबै क्षेत्रमा गरेको विकास एवं जनताबीचमा रहेको राम्रो सम्बन्धले अत्यधिक मतले चुनाव जित्नेमा शत्रुधन ढुक्क छन् । एमालेबाट पूर्वसहयात्री एक्लो प्रतिस्पर्धामा आएपछि आफूलाई जित निकाल्न सजिलो भएको उनको दावी छ ।

‘मुद्दाको आधारमा हामी चुनावमा छौं । मधेशको सबभन्दा ठूलो समस्या नागरिकता हो । जुन मुद्दा हाम्रो छ । गठबन्धनको फराकिलो मत छँदैछ । २२ मध्ये १६ वटा गत स्थानीय चुनावमा गठबन्धनले जितेको छ । जनताको सुखदुःखमा म साथ छ । यो आधारहरुले म जित्नेमा ढुक्क छु’, शत्रुधनले भने ।

शत्रुधनले भने जसरी उनको जित भने कांग्रेको मतमा नै निर्णायक हुने सम्भावना छ । तर, शत्रुधन लगातार यस क्षेत्रबाट तीनपटक जितेकाले उनको विकल्पको आवाज कांग्रेस भित्र उठिरहेको छ । त्यसैले हरिनारायण त्यस्तो मत आफ्नो पक्षमा पार्ने अभियानमा छन् ।

एमालेको बलियो संगठन, लगातार एमालेबाट जितेर १५ वर्ष पूर्वसहकर्मी शत्रुधनको परीक्षण भइसकेकाले विकल्पमा आफूलाई निर्वाचित गराउने हरिनारायाणको विश्वास छ ।

‘म पनि ४० वर्षदेखि जनताको बीचमा छु । एमाले यस क्षेत्रमा बलियो छ । जनताले अवसरवादीलाई चिन्छन् । पटकपटक जित्दा समेत राम्रो विकास गरेनन् । जनता यसपटक चिनेर विकल्पमा मलाई जिताउनु हुन्छ भन्नेमा विश्वस्त छु’, हरिनारायणले भने ।

मिथिला नगरपालिकामा एक कार्यकाल उनको पनि परीक्षण भइसकेको छ । कांग्रेसले पनि हरिनारायणप्रति त्यति सन्तुष्ट देखिँदैनन् । यो अवसरको लाभ तेस्रो नम्बरमा देखिने जसपा उम्मेदवार चन्देश्वर महतो उठाउन चाहन्छन् । शत्रुधन र हरिनारायण जनतामा परीक्षण भइसकेकाले विकल्पमा आफूलाई जनताले जिताउने चन्देश्वरको विश्वास छ । स्वतन्त्रबाट व्यक्तित्वको हिसाबले रामनरेश सिंह लोकप्रिय नेता मानिन्छन् । उनले पनि राम्रो मत तान्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?