
२१ कात्तिक, धनगढी । गृह जिल्ला डडेल्धुराको चार दिने बसाइँपछि धनगढी झरेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेता, कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् । आइतबार साँझदेखि धनगढीस्थित निजी निवासमा बसिरहेका कांग्रेस सभापति समेत रहेका देउवाले कैलाली कांग्रेसभित्रको असन्तुष्टिलाई केन्द्रमा राखेर भेटघाटलाई तीव्र बनाएका हुन् ।
देउवाले आइतबार बेलुकीदेखि नै असन्तुष्ट नेता, कार्यकर्ता तथा बागी उम्मेदवारी दिएकालाई बोलाएर छलफल गरिरहेका छन् ।
‘प्रधानमन्त्री ज्यूले कैलालीको अगामी निर्वाचनको सम्भावित परिणामबारे चासो व्यक्त गर्नुभएको छ । उहाँले पार्टीभित्रको असन्तुष्टीले धेरै ठाउँमा समस्या पार्ने देखेपछि नेता, कार्यकर्ताहरुसँगको भेटघाटलाई तीव्रता दिनुभएको छ,’ एक नेताले अनलाइनखबरसँग भने, ‘निर्वाचनमा सशक्त रूपमा खटेर गठबन्धनलाई सफल पार्न लाग्न निर्देशन दिइरहनुभएको छ ।’
देउवाले क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा बागी उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि भेटेका छन् । भेटमा उनले उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्र्दै गठबन्धनलाई सहयोग गर्न जोशीलाई आग्रह गरेका थिए तर जोशीले भने ढिलो भइसकेको जवाफ फर्काएका छन् ।
‘प्रधानमन्त्री ज्यूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेर गठबन्धन र पार्टीलाई सहयोग गर । तिमीले स्वतन्त्र उम्मेदवारी दिनु भनेको पार्टी छोड्नु हो, पार्टी किन छोड्छौँ भन्नुभयो,’ जोशीले अनलाइनबरसँग भने, ‘मैले त्यहाँका नेता, कार्यकर्ताको भावनाअनुसार उम्मेदवारी दिएको हुँ अब फिर्ता लिन सक्दिँन् । समय निकै ढिलो भइसक्यो दाइ भनेर जवाफ फर्काएको छु ।’
जोशीलाई देउवाले पार्टीमा लामो समयदेखि पुगाएको योगदानको स्मरण गर्दै सहयोग गर्न पनि आग्रह गरेका थिए ।
तर जोशीले भने आफ्नो क्षेत्रमा स्थानीय तहको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समेत कांग्रेसलाई उम्मेदवार विहीन बनाइएकाले कार्यकर्ताको भावनाअनुसार बागी उम्मेदवारी दिएको बताएका छन् । ‘मैले यत्रो वर्ष पार्टीका कार्यकर्ताका माझमा रहेर काम गरे तर वडा सदस्यमा समेत कांग्रेसले उम्मेदवार नपाउने परस्थिति बन्यो,’ जोशीले भने, ‘मेयरमा पनि हामीले उम्मेदवार पाएनौँ, अनी कार्यकर्ताहरुले कहाँ भोट हाल्ने ? बाध्य भएर सबैको सल्लाहमा उम्मेदवारी दिएको हुँ ।’
जोशीको क्षेत्रमा प्रदेशसभा (२) मा नेकपा एकीकृत समाजवादीका अमर साउदलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ । त्यहाँ जोशीसँगै कांग्रेसका लक्ष्मण शाहीले पनि बागी उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री देउवाले पार्टीबाट निष्काशन गरिएका कैलाली–५ का स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको पक्षमा लागेका नेता, कार्यकर्ताहरुलाई समेत बोलाएर गोप्य भेटघाट गरिरहेका छन् ।
उनले पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा उभिन कार्यकर्ताहरुलाई निर्देशन दिइरहेका छन् । कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले प्रधानमन्त्री देउवाले निजी निवासमा नेता, कार्यकर्तालाई भेटेर गठबन्धन र पार्टीको पक्षमा सशक्त रुपमा खट्न निर्देशन दिइरहेको जानकारी दिए । देउवाले जिल्लाभरिकै सम्भावित चुनावी परिणामबारे चासो राख्दै कमीकमजोरी भएका ठाउँमा सुधार्न पनि निर्देशन दिएका छन् ।
आरजुले छाडेको कैलाली–५ मा कांग्रेसका डिल्लीराज पन्तसहित प्रदेशसभा (१) मा माओवादीका रमेश धामी र प्रदेशसभा (२) मा भतिजा प्रकाश देउवाको पक्षमा मत पनि पनि आग्रह गरिरहेका छन् । यो क्षेत्रमा कारवाही गरिएका कांग्रेसका तत्कालीन नेता पुष्करनाथ ओझाको स्वतन्त्र उम्मेदवारीले थपेको चुनौतीलाई चिर्न आवश्यक रणनीति बनाउन पनि जिल्लास्तरका नेताहरुसँग उनले छलफल गरेका छन् ।
कैलाली कांग्रेसले ओझाको पक्षमा लागेका पूर्व जिल्ला सचिव पूर्ण कुँवर लगायतका दर्जनौं नेता कार्यकर्तासँग स्पष्टीकरण पनि मागिसकेको छ । प्रधानमन्त्री देउवाको सचिवालयकाअनुसार उनी अबको दुई दिन धनगढीस्थित निजी निवासमै बस्नेछन् ।
२३ गते सत्तारुढ गठबन्धनले दार्चुला र बैतडीमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न धनगढीबाटै जानेछन् । उनीसँगै चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम तय भएको गठबन्धनले जनाएको छ ।
प्रतिक्रिया 4