+
+
उम्मेदवार प्रोफाइल :

प्रणय राणा : हेभिवेटसँग प्रतिस्पर्धामा द्वन्द्व व्यवस्थापनविज्ञ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १०:३७

डा. प्रणयशमशेर राणा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । काठमाडौंमै जन्मे-हुर्केका उनी २०५८ सालमा सैनिक महाविद्यालयबाट कक्षा १२ सकेपछि नेपाली सेनामा भर्ती भएका थिए ।

माओवादी द्वन्द्वको समयमा राणा सेनाको १० नम्बर बाहिनी विशेष फौजमा थिए । अग्रपंक्तिमा खट्ने फौजमा सामेल उनी अर्घाखाँची, रोल्पा, जाजरकोट, कपिलवस्तु, नवलपरासीलगायत ठाउँमा भएका ठूल्ठूला भिडन्तमा परे ।

‘अहिले पनि हातखुट्टामा चोटका दागहरू छन्’ उनी भन्छन्, ‘भाग्यवश, योभन्दा बढी केही भएन ।’

त्यसपछि उनले सेना छाडेर द्वन्द्व व्यवस्थापनविज्ञ बन्ने बाटो रोजे । उनी अध्ययनका लागि राजिनामा गरेर अमेरिकाको सेन्टर अफ डिजिज् कन्ट्रोल (सीडीसी) पुगे ।
सीडीसीको अध्ययनलाई विश्वभरका मुलुकले महत्वपूर्ण मान्छन् । प्रतीकार्यको तयारी त्यसमै आधारित हुन्छ । त्यस्तो महत्वपूर्ण ठाउँमा काम पाएका राणा कोरोना महामारीका बेला नेपाल फर्किए ।

‘फेसबुक र समाचारहरूमा हरेक दिन आˆनो देश कोभिडले आक्रान्त भएको देख्थें’ राणा सम्झन्छन्, ‘अनि अमेरिका बसिराख्न मन मानेन ।’

सीडीसीको कामले उनलाई अन्तर्राष्ट्रिय दातृ निकायहरूमा चिनाएको थियो । त्यसैले स्वदेश फर्केर सहयोग जुटाउन सक्छु भन्ने आँट भयो ।

नेपाल आएपछि उनले विभिन्न संस्थासँग जोडिएर सातवटै प्रदेशमा मास्क, पीपीई, भेन्टिलेटर, अक्सिजन सिलिण्डर वितरण गर्ने अभियान चलाए । त्यसबेला पैसा माग्दा पारदर्शितामा प्रश्न उठ्ला भनेर सामान नै मगाएको उनी बताउँछन् ।

कोरोनाको डेल्टा भेरियन्ट फैलिएर नेपालमा दैनिक २०० जनासम्मको ज्यान गइरहेको बेला उनले कोभिड कन्सल्टेन्सी चलाए । ‘प्रहरी, सेना र देश-विदेशका डाक्टरहरूको भाइबर ग्रुप बनाएर समस्यामा परेका जो कोहीलाई परामर्श दिने व्यवस्था गरें’, उनी भन्छन् ।

सीडीसीमा काम गर्दै स्नातकोत्तर सकेपछि उनले तत्कालीन राष्ट्रपति बाराक ओबामाले थालेको ‘ओबामा केयर’ र ‘शरणार्थी पुनर्वास कार्यक्रम’ मा पनि काम गर्न पाएका थिए । त्यही आधारमा उनले पुनर्वास परिमार्जनको विषयमा विद्यावारिधि गरे ।

नेपाल फर्किएपछि डा. राणाले नीति निर्माण तहमा योग्य मानिसको कमी देखे । ‘वागमती प्रदेशमा पाँच वर्षमा जम्मा ४५ वटा नीति बन्नु त्यसको एउटा उदाहरण हो’ उनी भन्छन्, ‘यो कारण पनि म संसदमा जान चाहेको हुँ ।’

उनी पढाइ र नीति निर्माणमा बाहिर गरेको कामको अनुभवलाई नेपालमा उपयोग गर्न चाहन्छन् ।

‘भर्खरै गरेको एउटा अनुसन्धानमा र्‍यान्डम स्याम्पलिङ गरेर हेर्दा काठमाडौंका अधिकांश फार्मेसीमा लाइसेन्स नभएका फार्मेसिस्ट बस्ने गरेको देखियो’ डा. राणा भन्छन्, ‘उता स्वास्थ्य बीमाले सानो रोग र ठूलो रोग छुट्याएकै छैन । ठूलो रोगको उपचारमा १५-२० लाख खर्च लाग्छ । यस्ता नीतिगत विषयहरूमा आवाज उठाउन चाहन्छु ।’

चुनावी अंकगणित

गत स्थानीय निर्वाचनमा काठमाडौं-५ मा नेकपा (एमाले)का वडाअध्यक्षले १९ हजार २२९, नेपाली कांग्रेसले १४ हजार ५३२, राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)ले २ हजार ७३९, नेकपा (एकीकृत समाजवादी)ले १ हजार ५५३ र नेकपा (माओवादी केन्द्र) ले १ हजार १३९ मत पाएका छन् ।

एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठेका छन् । चुनावी चालका अनुभवी उनले २ हजार ७३९ मत भएको राप्रपालाई आफ्नो समर्थक बनाइसकेका छन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन् । अघिल्लो स्थानीय तह चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा हारे पनि राम्रो मत पाएकी रञ्जु दर्शना पनि यसपटक यही क्षेत्रबाट प्रतिनिधिसभामा उठेकी छन् ।

यस हिसाबले हेर्दा डा. राणाको सांसद बन्ने सपना पूरा हुन त्यति सहज देखिंदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?