+
+
धनुषा-४ :

पहिले दलको प्रचारक, अहिले आफैं स्वतन्त्र उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते २०:३६

२२ कात्तिक, जनकपुरधाम । पाँच/छ जना युवाको समूह पर्चा बोकेर घरदैलो गर्दै थिए । यो समूहको पछाडि टोलका युवा र वृद्धहरु पनि जोडिदै गए । झोला बोकेका एक युवक भने हात जोड्दै मत मागिरहेका थिए ।

‘हम कलाकार कृष्णकुमार महतो । धनुषा ४ से प्रतिनिधि सभा सदस्यके स्वतन्त्र उम्मेदवार । कैंची छाप से । सबदिन दलके देखली । अब जनताके दलदलसे बाहर अनलेल स्वतन्त्रके जितबियौ,’ नम्र स्वरमा उनले भने ।

जनकपुरधाममा सामाजिक सञ्जाल चलाउने र टिभी हेर्ने धेरैले उनलाई चिन्छन् । त्यसैले उनलाई प्रत्यक्ष भेट्न पाउँदा कतिपय मतदाता खुशी देखिन्थे ।

हास्य कलाकारको रुपमा मधेश क्षेत्रमा चर्चित २७ वर्षीय कृष्णले अप्रत्याशित रुपमा प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराए । धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित चित्रपुरका बासिन्दा हुन् कृष्ण ।

रेडियोग्राफी पढेका कृष्ण जनकपुरको अप्पन टिभीको हास्यव्यंग्य कार्यक्रम ‘रोचकघोचक’बाट कलाकारिता अघि बढाए । अहिलेसम्म उनले ‘दुई रुपैयाँ, फाटेको जुत्ता, पासवर्ड र रुदानेमा अभिनय गरिसकेका छन् । थुप्रै मञ्च तथा सडक नाटकमा पनि अभिनय गरेका छन् ।

कृष्ण गरिब परिवारका हुन् । उनी १२ वर्ष छँदा बुबा असर्फी महतोको मृत्यु भयो । चार छोराछोरीमध्ये कृष्ण जेठा हुन् । आमासँगै ज्याला मजदुरीमा हिँडेर पनि उनले पढाइ अगाडि बढाउँदै लगे । भाइबहिनीलाई पनि पढाए । विद्यालयदेखि नै अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ, वक्तृत्वकला, नाटकलगायतमा भाग लिएर थुप्रै पटक पुरस्कार जित्न सफल भए । उनले आर्थिक उपार्जनका लागि कलाकारिता रोजे र छोटो समयमा आफूलाई चिनाए ।

कृष्ण २०७४ को चुनावमा दुई महिनासम्म नेताहरूको प्रचार प्रसारमा सडक नाटक गर्दै हिँडेका थिए । त्यतिबेला नेताले गरेको वाचा पूरा नगरेको कृष्ण बताउँछन् । पछिल्ला चार वर्ष उनले नेता तथा जनप्रतिनिधिको कामलाई नजिकबाट नियाले ।

उनीहरुको कार्यशैलीबाट दिक्क भए । मधेशमा मुख्यमन्त्री र मन्त्री सहभागी कार्यक्रममा कृष्णले हास्यव्यंग्य शैलीमा उनीहरुको आलोचना गर्थे । पछि राजनीतिभित्रको विकृति सफा गर्न आफैं आउनुपर्छ भन्ने लागेको कृष्ण बताउँछन् ।

‘चुनाव जितेर गएपछि पाँच वर्षसम्म जनतालाई अनुहार देखाउँदैनन् । जनताको समस्या र भावना बुझेर काम गर्नुभन्दा आफ्ना, आसेपासे र पार्टीको मुख्य कार्यकर्ताको लाभको लागि केन्द्रित हुन्छन् । जनतासँग गरेका वाचा बिर्सिन्छन्’ कृष्णले भने ।

उनी अघि भन्छन्, ‘त्यसैले जनतालाई जागरुक गराउन तथा समाज रुपान्तरण गर्न चुनावमा उत्रेको हुँ । अप्रत्यासित रुपमा जनसमर्थन जुटिरहेको छ । खासगरी युवाहरु दल छाडेर मेरो पक्षमा खुलिरहेका छन् । राजनीतिबाट आजित मतदाताको राम्रो माया पाइरहेको छु ।’

यस क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेकपा एमालेका सचिव रघुवीर महासेठ र जसपाबाट महाजन यादव उम्मेदवार छन् । जसमा मुख्य प्रतिस्पर्धी महेन्द्र र रघुवीर देखिन्छन् । तर कृष्णको उम्मेदवारी, उनको अत्यधिक चर्चा र युवाहरुको झुकावले महेन्द्र र रघुवीर तनावमा छन् ।

कृष्णले मुख्य दलका नेताप्रतिको वितृष्णा र पुराना अनुहारका विकल्प खोजिरहेका मतदाताको मत तान्ने अड्कल भइरहेको छ । रघुवीरले कृष्णलाई उम्मेदवारी .फिर्ता लिन दबाव र प्रलोभन समेत दिएको तर आफूले नछाड्ने अडान लिएको कृष्ण बताउँछन् ।

महेन्द्र, रघुवीर र महाजन २०७४ को चुनावका प्रतिस्पर्धी हुन् । एमालेका महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्दी महेन्द्रले १९ हजार ९९१ मत र महाजनले १९ हजार ६६२ मत पाएका थिए ।

आर्थिक हैसियत राम्रो भएका र प्रचार प्रसारमा धेरै खर्च गरिरहेका उम्मेदवारका बीचमा कृष्णले एउटा अटो रिक्सा भाडामा गरेर घरदैलोमा पुगिरहेका छन् । घरको आर्थिक अवस्थाका कारण पनि कृष्णले चुनावमा धेरै खर्च गर्न सक्ने अवस्था छैन ।

साथीहरु र शुभचिन्तकले दिएको आर्थिक सहयोगबाट अटोरिक्सा भाडामा लिएको र प्रचार सामग्रीको व्यवस्था गरेको उनी बताउँछन् । दुई सयभन्दा बढी साथी, शुभचिन्तकले स्वेच्छाले खाजा प्रचारप्रसारमा सहयोग गरेको कृष्ण बताउँछन् ।

त्यस्तै १४ जनाको कलाकारको टिमले सडक नाटक प्रदर्शन गर्दै उनको पक्षमा मत मागिरहेको छ ।

‘अब पैसा र पावरले मात्र उम्मेदवारले चुनाव जित्न सक्दैन । चुनावमा आएर करोडौ खर्चिने र जितेर गएपछि जनतालाई बिर्सिने । जनताले यी कुरा बुझ्न थालेका छन् । अब त्यस्ता बेइमानहरुलाई मत नदिने मुडमा धेरै मतदाता छन् । यो कुरा काठमाडौं र धरानका जनताले देखाइदिएका छन्’ उनले भने ।

अब जनताले उम्मेदवारको व्यक्तित्व, क्षमता, भिजन हेरेर मत दिने कृष्णको बुझाइ छ ।

बहिनी म्यादी प्रहरीमा

कृष्ण प्रतिनिधिसभाको उम्मेदवार बनेर मत माग्न घरदैलो गरिरहँदा उनकी कान्छी बहिनी गौरीकुमारी महतो भने चुनवाको सुरक्षाका लागि खटिएकी छन् । गौरी म्यादी प्रहरीमा भर्ना भएकी हुन् ।

उनी अहिले महोत्तरीको बर्दिबास नगरपालिकाको चोलिखा प्रहरी चौकीमार्फत चुनाव सुरक्षामा खटिएकी छन् । घरको आर्थिक अवस्था कमजोर रहेकै कारण बहिनी म्यादी प्रहरीमा भर्ना भएको कृष्ण बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?