+
+

रामशरणलाई तेस्रो हारबाट जोगिने चुनौती

विकास मरहट्टा विकास मरहट्टा
२०७९ कात्तिक २३ गते १२:०९

२०१८ सालमा गोरखाको घलाङमा जन्मिएका रामशरण बस्नेत ८ कक्षामा पढ्दा नै नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशन -बर्मा समूह)को सदस्य भएका थिए । २०३९ सालसम्म आइपुग्दा नेपाल राष्ट्रिय स्वतन्त्र होटल मजदूर युनियनको अध्यक्ष भएका बस्नेत २०४२/४३ सालमा काठमाडौंको पिपुल्स कलेजमा अनेरास्ववियूको सह-सचिवमा निर्वाचित भए । त्यसपछि अनेरास्ववियूको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बने ।्

२०४६ सालको आन्दोलनमा घाइते भएका बस्नेत २०४९ मा गोरखाको नारेश्वर गाविस अध्यक्ष भए । २०५२ सालमा नेकपा (एमाले)को जिल्ला कमिटी सचिवालय सदस्य निर्वाचित बस्नेत त्यसपछि जिल्ला कमिटी उपसचिव, सल्लाहकार समिति अध्यक्ष हुँदै दुई पटक जिल्ला कमिटी अध्यक्ष भए । अहिले उनी पार्टीको केन्द्रीय सदस्य छन् ।

२०५६ र २०७० मा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका बस्नेत दुबै चुनावमा पराजित भएका थिए । २०५६ मा नेपाली कांग्रेसका चिरञ्जीवि वाग्लेसँग पराजित भएका उनी २०७० सालमा नेकपा माओवादी केन्द्रका डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । यसपटक पुन: उम्मेदवार बनेका उनलाई लगातार तेस्रो हारबाट जोगिने चुनौती छ ।

प्रतिनिधिसभामा अहिलेसम्म चुनिन नसके पनि बस्नेत २०७४ सालको आमनिर्वाचनमा गोरखा-१ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी गण्डकी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री समेत बने । मन्त्री भएको मौकामा सडक नै नपुगेको ठाउँमा दरौंदी नदीमा पक्की पुल बनाउन ठेक्का लगाएको भन्दै आलोचित भएका थिए ।

तिनै बस्नेत यसपटक गोरखा-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । २०७४ को प्रदेश सभा चुनावमा वाम गठबन्धनको बलमा उनले पराजित गरेका नेपाली कांग्रेसका राजेन्द्र बजगाईं अहिले उनको प्रतिस्पर्धी छन् । यसपटक बस्नेत अघिल्लो जित जोगाउने प्रयासमा छन् भने सत्ता गठबन्धनका उम्मेदवार बजगाईं पराजयको बदला लिने दाउमा ।

‘गठबन्धन सरकार बनेको डेढ वर्ष पुग्न लागिसक्यो, जनताले राहत र नयाँपन महसुस गर्न पाएका छैनन्’ बस्नेत भन्छन्, ‘हाम्रो कार्यकालमा त जिल्लाको भौतिक संरचना विकासमा कुनै कमि राखेनौं । जनताले त्यसको मूल्यांकन गर्नेछन् । यो नै मेरो जितको आधार हो ।’

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको अंकगणित भने बस्नेतको लागि प्रतिकूल छ । उक्त चुनावमा गोरखा-१ मा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले २७ हजार ८४, माओवादी केन्ऽले २५ हजार ४७२, एमालेले १४ हजार ५६६ र जसपाले २ हजार ७५४ मत प्राप्त गरेका थिए ।

यसरी नेपाली कांग्रेसका बजगाईं स्थानीय निर्वाचनमा गठबन्धनले पाएको ५५ हजार ३१० मतसहित अखडामा आउँदा बस्नेतको केवल १४ हजार ५६६ मतको आधार देखिन्छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?