+
+

सुदूरपश्चिममा एमालेको प्रतिबद्धता : ५० हजारलाई रोजगारी, एक परिवार एक रोजगार

जनक विष्ट जनक विष्ट
२०७९ कात्तिक २३ गते १८:०३

२३ कात्तिक, धनगढी । नेकपा एमालेले ४ मंसिरको चुनावका लागि सुदूरपश्चिममा २७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार धनगढीमा गरेको कार्यक्रममा प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो ।

प्रतिबद्धता पत्रमा पाँच वर्षमा प्रदेशमा ५० हजार जनालाई रोजगारी दिने उल्लेख गरेको छ । मेक इन सुदूरपश्चिम अभियान अन्तर्गत एक गाउँ एक उत्पादन र एक परिवार एक रोजगार, भागबण्डामा होइन, प्राथमिकतामा योजना तर्जुको नीति अवलम्बन गर्ने एमालेको घोषणा छ । स्वस्थ नागरिक सबल प्रदेश अन्तर्गत अस्पतालहरुलाई विशिष्टकृत रुपमा विकास गर्ने पनि एमालेको प्रतिवद्धता छ ।

आत्मनिर्भर प्रदेश निर्माण गर्न राजश्व संकलन र स्रोत व्यवस्थापन, प्रदेशलाई पूर्ण साक्षर बनाउदै उद्यमशील शिक्षित युवा तयार गर्ने, सबै परिवारलाई मासिक १० हजार लिटरसम्म निःशुल्क पानी उपलब्ध गराइने प्रतिबद्धता गरिएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व वृद्धि, उत्पादनको भण्डारण, प्रशोधन र बजारीकरण, वन जंगलको संरक्षण तथा व्यवस्थापन, आवास विहीनलाई आवास सुविधा, दिगो यातायात पूर्वाधार निर्माण, वर्षायाममा ५० युनिट र हिउँदमा ३० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने, सरल र सहज रुपमा सार्वजनिक सेवा प्रवाह गर्ने, सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार अन्तर्गत श्रमिकको ज्याला २५ हजार पुर्‍याउने पनि प्रतिबद्धता गरिएको छ ।

आम सञ्चार तथा सूचना प्रविधिको विकास अन्तरगत इनटरनेट सुविधा निःशुल्क गर्ने, एक पालिका एक खेल मैदान निर्माण गर्ने, प्रदेश प्रहरीलाई प्रदेश मातहत ल्याउन आवश्यक नीतिगत र कानूनी व्यवस्था गर्दै प्रभावकारी सुरक्षा मिलाउने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।

एमालले प्रदेशमा ३० र संघमा १० सिट जित्छ : भट्ट

एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अगामी निर्वाचनमा सुदूरपश्चिममा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् । भट्टले अगामी निर्वाचनमा एमालेले सुदूरपश्चिममा प्रतिनिधिसभाका १० र प्रदेशसभाका ३० सिट जित्ने दाबी गरेका हुन् ।

चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता भटट्ले अगामी निर्वाचन वर्ग संघर्षको अर्को रुपमा लिएर चुनावमा होमिएको बताउदै सुदूरपश्चिममा बढी भन्दा बढि ठाउँमा जित्ने बताए ।

‘हामीले पूरै जित्ने लक्ष्य राख्छौं तर हाम्रो सम्भाव्यता के देखिन्छ भने प्रतिनिधिसभामा १० र प्रदेशसभामा बहुमत ३० सम्म ल्याउँछौं भन्ने हाम्रो लक्ष्य छ,’ भट्टले भने, ‘भोलि हाम्रो बहुमत आएन भने गठबन्धन भएमा त्यसले नित्याउने अस्थिरता यहाँको विकासमा अवरोध पुर्‍याउने देखिन्छ । जनताको आकर्षण पनि एमालेतिर देखेको छु ।’

सुदूरपश्चिममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?