+
+

मतदाताले मन पराएसम्म चुनाव लड्छु : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते ९:२४
Photo Credit : U.p. Lamichhane

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार तीन वटा चुनाव जितिसकेका उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । बिहीबार बिहान काठमाडौंको बुद्धनगरमा घरदैलो कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै सिंहले भने, ‘यहाँका मतदाताले मलाई मन पराएसम्म चुनाव लड्छु, जनताले चाहँदाचाहँदै मैदान छोड्न त भएन नि ।’

गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका १० जोगीकुटीस्थित सुवर्ण पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर घरदैलो कार्यक्रम सुरु गरेका उनले काठमाडौं क्षेत्र नम्बर १ का मतदाताको माया पाइरहेको र फेरि पनि पाउने विश्वास व्यक्त गरे ।

उनले काठमाडौं क्षेत्र नम्बर १ मा विकास गरेको दाबीसमेत गरे । व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फर्काएर १५ स्थानमा पार्क, सामुदायिक भवन र व्यायामशाला बनाइसकेको भन्दै उनले ज्येष्ठ नागरिकको सुविधाका लागि एउटा सुविधासम्पन्न भवन बनिरहेको जानकारी पनि दिए ।

खानेपानीको समस्या समाधानका लागि आफूले पहल गरिरहेको उनले बताए । प्रकाशमानले भने, ‘घरदैलो गर्दा धेरै जनताले पानीको समस्या भयो भन्नु भएको छ, मैले त्यसैलाई आगामी कार्यभार ठानेर काम गर्नेछु ।’

युवालाई र अनुभवीको टिमसहित चुनावमा होमिएको बताउँदै उनले फेरि पनि चुनाव जित्ने दाबी प्रस्तुत गरे । उनले भने, ‘मतदान भनेको भविष्यको भलाइका लागि हो। पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला ।’

त्यसअघि गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताएका थिए ।

गणेशमान सिंहले वामपन्थीहरुलाई साथमा लिएर २०४६ सालको जनआन्दोलन सफल बनाएको भन्दै प्रकाशमानले अहिले पनि त्यो कार्यगत एकता उत्तिकै सान्दर्भिक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?