 
																			‘हेभिवेट’ उम्मेदवारहरूका कारण काठमाडौं-२ हरेकजसो निर्वाचनमा चर्चित रहने गर्छ ।
माधवकुमार नेपालले पनि पराजय व्यहोरेको काठमाडौं-२ मा यसपटक २७ वर्षीया अधिवक्ता सोविता गौतमको उम्मेदवारी चर्चामा छ । उनी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेकी हुन् । गौतम टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता पनि हुन् ।
तार्किक र राम्रो वक्ता गौतम मतदाताको घर-घर पुगिरहेकी छन् । सामाजिक सञ्जालमा पनि उनले मनग्गे ठाउँ पाइरहेकी छन् ।
मतदातालाई उनले सांसदमा निर्वाचित भए पाँच वर्षमा व्यावहारिक-व्यावसायिक शिक्षा, स्वास्थ्य, रोजगारी, जलवायु परिवर्तन र कृषि प्रवर्द्धनको मुद्दामा बलियो पैरवी गर्ने बताइरहेकी छन् । उनको प्रतिबद्धता पत्रमा पनि त्यही उल्लेख छ ।
स्थापित दलहरूले ल्याएको लोकतन्त्र कागजमै सीमित रहेको बताउँछिन् गौतम । उनी भन्छिन्, ‘हरियो पासपोर्ट बोकेर जब हामी विदेश जान्छौं, त्यहाँ झेल्नुपर्ने विभेदले हाम्रो स्तर जनाउँछ, हामी कहाँ छौं भनेर ।’
अब जनताले आगामी ८० वर्षको भविष्य हेरेर योजना बनाउन सक्ने युवालाई जिताउनुपर्ने उनको तर्क छ । यसपटक मतदाताले नयाँ पुस्ता रोज्ने उनले बताइन् ।
८२ हजार मतदाता रहेको काठमाडौं-२ मा दलहरूका १९ र १० स्वतन्त्र गरेर २९ जना उम्मेदवार छन् ।
नेकपा (माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा एमालेका वागमती प्रदेश कमिटीका सदस्य, शिक्षण पेशा छाडेर २०७४ मा वागमती प्रदेश सभा सदस्यमा निर्वाचित मणिराम फुँयाल, राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)की कुन्ती पोखरेललगायत काठमाडौं-२ मा भिड्दै छन् ।
चुनावी अंकगणित
यो क्षेत्रमा काठमाडौं महानगरको ९ र ३२ वडा, कागेश्वरी मनहरा नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८ र ९ अनि सिंगो शंखरापुर नगरपालिका पर्छन् ।
२०७४ को आम निर्वाचनमा यो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार बनेका नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारी मतको अन्तरले विजयी भएका थिए । उनले २७ हजार ३६६ र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकप्रकाश कुइँकेलले १४ हजार ९०३ मत पाएका थिए ।
यो क्षेत्रका मतदाताले मौसम अनुसारका उम्मेदवारलाई सोही अनुसार व्यवहार गर्ने गरेका छन् । २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा एमालेका उम्मेदवारलाई १० हजार मतको अन्तरले विजयी बनाएका काठमाडौं-२ का मतदाताले २०७१ को उपनिर्वाचनमा त्यही एमालेलाई ५ हजार मतको फरक पारेर हराए ।
गत स्थानीय चुनावमा यो क्षेत्रमा वडाअध्यक्षहरूले पाएको मतमा दलगत रूपमा एमाले अगाडि छ । उक्त चुनावमा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२९, नेकपा -एकीकृत समाजवादी)ले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र नेकपा -माओवादी केन्द्र)ले ३ हजार १३१ मत पाएका छन् ।
यो पटक भने अर्कै माहोल-मूड रहेको सोविता गौतमको भनाइ छ । ‘घरदैलो कार्यक्रममा मैले युवा र नयाँप्रति नै मतदाताको चासो रहेको पाइरहेकी छु’, बालेन्द्र शाहको उदय गराउने शहरमा आशावादी बनेर संसदीय उम्मेदवार बनेकी सोविताले भनिन्।
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4