+
+

११ हजार कर्मचारी हटाउँदै मेटा कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १३:३४
मेटा कम्पनीका सिइओ मार्क जुकरबर्ग

२५ कात्तिक, काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीको आम्दानी धरासायी बन्दै गएको पछिल्लो रिपोर्टसँगै मेटाले हजारौँ कर्मचारीलाई हटाउने भएको हो । यो सँगै मेटा कम्पनीका १३ प्रतिशत कर्मचारी कटौतीमा पर्नेछन् ।

फेसबुक कम्पनीमा अनावश्यक संख्या कर्मचारीसँग भद्दा र अप्रभावकारी बनेसँगै मेटाले कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । खर्च घटाउनका लागि हजारौँ कर्मचारी कटौती गर्ने निर्णय गरेको फेसबुकले आफ्नो अर्बौ डलर लगानीको मेटाभर्स परियोजनालाई भने उच्च प्राथमिकतामा राखेको छ ।

मेटाभर्सलाई कम्पनीले उच्च प्राथमिकतायुक्त वृद्धि क्षेत्रको रुपमा लिएको छ । मेटाले आफ्नो मेटाभर्स परियोजनामा यो वर्षमात्रै १० अर्ब डलरभन्दा धेरै लगानी गरेको छ ।
हाल मेटा कम्पनीमा कार्यरत कर्मचारीको संख्या ८७ हजार ३१४ रहेको छ ।

बुधबार एक वक्तव्य सार्वजनिक गर्दै मेटा कम्पनीका सिईओ मार्क जुकरबर्गले कोभिड महामारीमा अनलाइन क्रियाकलापमा वृद्धि जारी रहने र महामारी अन्त्यपश्चात् पनि त्यो अझै वृद्धि हुने अनुमानका आधारमा मेटाले महामारीको सुरुवातमा अत्यधिक लगानी गरको बताएका छन् । तर आफूले अपेक्षा गरे अनुसार नभएको भन्दै जुकरबर्गले अनलाइन व्यापार महामारी अगाडिकै अवस्थामा फर्किनुका साथै विश्वव्यापी रुपमा आर्थिक सुस्तता, बढ्दो प्रतिस्पर्धा र विज्ञापनमा कमीले कम्पनीको आम्दानीमा उल्लेख्य कमी ल्याएको जुकरबर्गको भनाई छ ।

यो विषयमा आफू गलत साबित भएको र त्यसको जिम्मेवारी पनि आफूले लिने उनले बताएका छन् । पछिल्लो त्रैमासिक रिपोर्ट अनुसार मेटाको मुनाफा घटेर ४ अर्ब ४० करोडमा झरेको छ । त्यो भनेको गतवर्षको सोही अवधिको तुलना ५२ प्रतिशतले कम हो ।

फेसबुकले गर्न लागेको कर्मचारी कटौती यो वर्षको प्रविधि क्षेत्रको सबैभन्दा ठूलो जनशक्ति कटौतीको हो । साथै मेटा अर्थात् फेसबुकको १८ वर्षे इतिहासमा कर्मचारी कटौती भएको यो पहिलो पटक हो ।

स्मरण रहोस् गत हप्ता ट्वीटरले आफ्ना आधा कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । योसँगै ट्वीटरका साढे ७ हजार कर्मचारीले जागिरबाट हात धुनुपर्नेछ । दैनिक ४० लाख डलर घाटा व्यहोरिरहेको कम्पनीका लागि कर्मचारी कटौतीको विकल्प नभएको ट्वीटरका नयाँ मालिक एलन मस्कले बताएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?