+
+

रमेश खरेल : प्रहरीमा आर्जित जनसमर्थनलाई मतमा बदल्ने चुनौती

२९ वर्षे प्रहरी सेवा कालमा बनाएको सामाजिक छवि नै राजनीतिमा खरेलको प्रमुख पूँजी हो । उनी उपप्रधानमन्त्री, मन्त्री भइसकेका र नेपाली कांग्रेस पार्टीको निर्णायक तहमा रहेका प्रकाशमानसिंहसँग भिड्दै छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १४:३९

कुनै बेला शान्ति-सुरक्षाको स्थिति सुधार्ने जिम्मेवारी लिएर हिंडेका रमेश खरेल दुईपटक त काठमाडौं प्रहरी प्रमुख नै भए । त्यो जिम्मेवारीमा सफल मानिएका उनै खरेल अहिले काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

१० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा यसरी उनको भूगोल साँघुरिए पनि चुनौती फराकिलो छ । समाजका खराब तत्वहरू विरुद्ध राज्यको शक्ति प्रयोगमार्फत शान्ति–सुरक्षा कायम गर्नु र सार्वभौम जनताको मन जितेर उनीहरूको प्रतिनिधि बन्नु यसै पनि फरक कुरा हो ।

‘त्यही चुनौती स्वीकारेर म मतदातासामु आएको हुँ’ पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) खरेल भन्छन्, ‘बढ्दो बेथिति हेरेर बस्दाबस्दै देशै बर्बाद हुनेभयो । त्यसैले पनि अब हामी आउनुपर्छ भनेर यो बाटो हिंडेको हुँ ।’

नेपाल सुशासन पार्टी खोलेर त्यसको अध्यक्ष बनेका उनी आफ्नो राजनीतिक यात्रालाई भने ‘समाजसेवा’ भन्छन् । प्रहरी सेवामा रहँदा खरेलले खास गरेर गुण्डाहरूप्रति आक्रामक स्वभाव देखाएर आम मानिसको मन जितेका थिए । सेवा कालमा उनी खासै विवादमा आएनन् । काठमाडौं प्रहरी प्रमुखको दोस्रो कार्यकालमा ‘ब्रिफकेस नबोकी प्रहरीमा बढुवा हुन कठिन छ’ भन्ने अभिव्यक्ति दिएपछि उनी सरुवामा परेका थिए ।

२९ वर्षे प्रहरी सेवा कालमा बनाएको सामाजिक छवि नै राजनीतिमा खरेलको प्रमुख पूँजी हो । उनी उपप्रधानमन्त्री, मन्त्री भइसकेका र नेपाली कांग्रेस पार्टीको निर्णायक तहमा रहेका प्रकाशमानसिंहसँग भिड्दै छन् ।

बलियो जनाधार र पार्टी संगठन भएको नेकपा (एमाले)का किरण पौडल, नयाँ पुस्तामाझ चर्चित पुकार बम, ‘वैकल्पिक राजनीति’ भन्दाभन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा गएका पूर्वपत्रकार रवीन्द्र मिश्रलगायत पनि यही क्षेत्रमा प्रतिस्पर्धी छन् ।

प्रहरी महानिरीक्षक पदको स्पर्धामा सर्वेन्द्र खनालले उछिनेपछि संगठन छाडेका खरेल त्यसपछि सत्तासँग स्थायी असन्तुष्टको रूपमा सक्रिय छन् । त्यही क्रममा उनले पार्टी गठन गरे ।

‘म हिजो सार्वजनिक सेवामा थिएँ, फेरि समाजसेवामा आउन खोजेको हो’ उनी भन्छन्, ‘आज समग्र देश सुरक्षाको सवाल उठाउँछु भनेर आउँदा हिजो शान्ति–सुरक्षाको मामिलामा विश्वास गरेकाहरूले अविश्वास गर्ने भन्ने हुँदैन ।’

ठूलो हूल, भेला, कोणसभातिर नलागी सानो टोली लिएर खरेल आफैं मतदाताको घरदैलो पुगिरहेका छन् । भेटिएका मतदातासँग कुराकानी गर्ने र कोही नभेटिएको घरमा पर्चा छाडेर हिंड्ने उनको तरिका छ । राजनीतिक बेथितिबाट वाक्कदिक्क मतदातालाई आकर्षित गर्न उनी सुशासनको बयान गर्दै घर–घर पुगिरहेका छन् ।

उनले काठमाडौं–१ मा विकास व्यवस्थापन र शान्ति–सुरक्षाको पनि हिसाबकिताब गरेका छन् । विगतका जनप्रतिनिधिहरूतिर संकेत गर्दै ‘कमाउ धन्दा होइन, समाजसेवा गर्नेलाई मत’ भनिरहेका छन् । ‘संसदमै ल ब्रेकर धेरै भए, अब ल मेकर बनाउनुहोस्’ उनको अपील छ, ‘ल ब्रेकरहरूलाई हामी पाखा लगाइदिन्छौं ।’

गत वैशाखको स्थानीय तह निर्वाचनमा कांग्रेस वडाअध्यक्षहरूले ९ हजार ८९५, एमालेले ९ हजार ५४१, राप्रपाले १ हजार ३७६, नेकपा (माओवादी केन्द्र)ले १ हजार १५९, विवेकशील साझाले २७३ र स्वतन्त्रले १०१ मत पाएको निर्वाचन क्षेत्र हो, काठमाडौं–१ ।

स्थानीय चुनावको अंकगणितमा यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह र एमालेका किरण पौडेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस हिसाबले नयाँ पार्टी नेपाल सुशासनका खरेल धेरै चुनौतीमा छन् । यद्यपि, स्थानीय चुनाव र संघीय चुनावमा मतदाताको उम्मेदवार छान्ने मनोविज्ञान फरक हुन्छ ।

उता मिश्र, बमलगायत उम्मेदवारहरू पनि आक्रामक चुनावी अभियानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?