+
+

गोविन्दराज जोशी : आफूलाई केन्द्रमा रोक्ने पौडेललाई जिल्लामै रोक्ने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते १२:४२

नेपाली कांग्रेसका नेताद्वय रामचन्द्र पौडेल र गोविन्दराज जोशीको पाँचदशक पुरानो सम्बन्ध कहिल्यै सहज भएन ।

२०२७ सालमा भद्रगोल जेलमा पौडेल र जोशी एक महिनाजति एउटै खाटमा सुते । २०३६ मा पोखरा र २०४२ मा गोरखा जेलमा पनि नौ-नौ महिना सँगै बसे । दमौली जेलमा पनि केही समय सँगै बिताए ।

खुला संसारमा भने दुई नेताबीच कहिल्यै मिल्ती भएन । पाँच दशक लामो सहयात्रामा कृतघ्न सम्बन्धमा बसे । यो क्रमले यो चुनावसम्म पनि निरन्तरता पाएको छ ।

पौडेल र जोशीको टकरावले जिल्लामा कांग्रेसको जनाधार खस्किंदै गएकोमा तनहुँका कांग्रेस दुवैसँग निराश छन् । अब दुवै नेताले विश्राम नलिए ससम्मान बिदाइ समेत नहुने उनीहरू बताउँछन् ।

तनहुँको रूपाकोटमा जन्मिएका ७३ वषर्ीय जोशी २०२४ सालमा गण्डकी विद्यार्थी मञ्चबाट राजनीतिमा आएका हुन् । त्रिभुवन मावि तनहुँको संस्थापक प्रधानाध्यापक उनी ६ वर्षसम्म स्वयंसेवी रहे । उनले आदिकवि भानुभक्त क्याम्पसमा पनि दुई वर्ष स्वयंसेवी शिक्षण गरे ।

१२ वर्षको वकालती पेशामा उनी तनहुँ बार एशोसिएसनको अध्यक्ष र पश्चिमाञ्चल बारको उपाध्यक्ष पनि भए ।

राजनीतिक, सामाजिक र कानुनी कामको बलमा उनले मतदातासँग बलियो सम्बन्ध बनाए । २०४८ मा तनहुँ-२ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका जोशीले २०५१ मा तनहुँ-१ बाट विजयलाई निरन्तरता दिए । पौडेलले आफूलाई सधैं प्रतिकूल निर्वाचन क्षेत्रमा पठाउने गरेको उनको आरोप छ ।

जोशीले कार्यकारी जिम्मेवारीका पनि धेरै अवसर पाए । २०४८ देखि २०५१ सम्म शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्री बने । २०५५ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री भए । गृहपछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाए ।

२०५६ मा तनहुँ-१ बाट निर्वाचित जोशी कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा जलस्रोत मन्त्री भए । भट्टराईपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गृहमन्त्री भए । केही समयपछि मन्त्रिपरिषद् हेरफेर हुँदा स्थानीय विकासमन्त्री भए ।

२०५७ मा पोखरामा भएको कांग्रेसको १०औं महाधिवेशनबाट जोशी सहमहामन्त्री भए । भ्रष्टाचार मुद्दा लागेपछि भने उनी कांग्रेसबाट पाखा लाग्दै अहिले पार्टी सदस्यताविहीन छन् । र, उनको एकमात्र उद्देश्य तनहुँमा रामचन्द्र पौडेललाई हराउने ।

जोशीले यसबीचमा राजनीतिमा पुनस्र्थापित हुन गरेका हरेक प्रयास असफल भए । पौडेलविरुद्ध २०७४ मा तनहुँ-१ मा बागी उम्मेदवार बनेपछि त उनीसँग कांग्रेसको साधारण सदस्य पनि रहेन ।

चुनावी अंकगणित

२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एमाले)का किसान श्रेष्ठसँग कांग्रेसका वरिष्ठ नेता पौडेल करिब ७ हजार मतको फरकले हारे । २०४८ यता लगातार विजय हासिल गर्दै आएका पौडेलको त्यही नै पहिलो पराजय थियो । र, त्यसमा जोशीको ठूलो भूमिका थियो ।

यसपटक पौडेललाई सजिलो बनाउन नेकपा (एकीकृत समाजवादी)का श्रेष्ठलाई सत्ता गठबन्धनले बारा-४ पठाएको छ । र पनि जोशीले उम्मेदवारी दिएर पौडेललाई हैरान बनाइरहेका छन् ।

गत स्थानीय तह चुनावको नतिजा भने उनी अनुकूल छैन । तनहुँ-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ । कांग्रेसले ३३ हजार १०६, एमालेले २२ हजार २१०, नेकपा (माओवादी केन्द्र)ले ८ हजार ४७४ र नेकपा (एकीकृत समाजवादी)ले ८९२ मत पाएको छ ।

भ्रष्टाचार मुद्दा खेपिरहेका जोशी भने कांग्रेसका बागी उम्मेदवार छन् र उनको उद्देश्य पनि रामचन्द्र पौडेललाई हराउनमा केन्द्रित छ। अघिल्लो चुनावमा पौडेलविरुद्ध उठेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

त्यसपछि नेकपा (एमाले)का उम्मेदवार किसान श्रेष्ठलाई सघाएका उनी पौडेललाई हराउन सफल भएका थिए । त्यसबापत कांग्रेसको अनुशासन समितिले पाँच वर्ष पार्टी सदस्यसमेत नरहने गरी गरेको कारबाही फुकुवा भएको छैन ।

पटक-पटक मन्त्री बनेका जोशीले ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसमा दोषी ठहर गरेको विशेषको फैसलाविरुद्ध जोशी सर्वोच्च अदालत गए । यो मुद्दाको अझै किनारा लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?