+
+

विश्व पौडेलको घरदैलोमा टाढैबाट जय नेपाल

अनलाइनखबर टिम अनलाइनखबर टिम
२०७९ कात्तिक २६ गते १९:५९

२६ कात्तिक, रत्ननगर (चितवन) । रत्ननगर नगरपालिका–१५, स्कुल चोकमा गाडीहरुको लस्कर छ । राष्ट्रिय निकुञ्जको सफारीका लागि प्रयोग हुने गाडीहरु लस्करै राखिएका छन् ।

गाडीमा चार तारा र रुख अंकित झण्डाहरु मात्र छैनन् । हसिया हथौडा र कलमका चिह्नका झण्डा पनि छन् । केही महिलाहरु गठबन्धनको चुनावी गीतमा छमछमी नाचिरहेका छन् । केही कार्यकर्ता अलि पर खाना खाँदैछन् ।

अरु चाहिँ आ–आफ्नै गाडीमा बसेका छन् । ‘कति धेरै गाडी !’, स्थानीय ६६ वर्षीय गोविन्दप्रसाद अधिकारीले गाडीहरुको लावालस्कर देखेर आश्चर्य जनाए ।

घर अगाडि त्यति धेरै गाडी एकैपटक उनले यसअघि देखेका थिएनन् । त्यसैले सडकतिर आएर हेरे । एउटा गाडीमा राखिएको ब्यानरमा ‘विश्वनाथ पौडेल–गठबन्धनका उम्मेदवार’ लेखिएको थियो । तर आसपास उनी कतै थिएनन् ।

‘भोट माग्न घरदैलो गरेका अरे, घरदैलोमा चाहिँ छिरेका छैनन्’, अधिकारीले थपे, ‘नयाँ मान्छे उठेको रैछ, राम्रै भन्ने सुनेको थिएँ ।’ उनले पौडेललाई नदेखेपनि विद्वान पृष्ठभूमिका नेता भनी सम्बोधन गरेको आफूले सुनेको बताए । एमालेका कार्यकर्ता पनि पर्चा बाँड्दै आए पनि अहिलेसम्म उम्मेदवार सुरेन्द्र पाण्डे चाहिँ आइनपुगेको बताए ।

कांग्रेसको पनि घरदैलोमा पनि उस्तै भयो । झण्डै डेढ घन्टासम्म कार्यकर्ता नाचगानमा बसे । अनि, चोकतिर निस्किए । उम्मेदवार पौडेललाई अधिकारीले देख्न पाएनन् । भन्छन्, ‘अहिले त जो आए पनि काम गर्न छाडिहाले । यसपालि चाहिँ विचार गर्ने हो ।’

सफारी गाडीमा बसिरहेका कांग्रेस कार्यकर्ता कृष्णप्रसाद मरहठ्ठाले चाहिँ समय थोरै भएकाले वडा नं. १३, १४, १५ र १६ को एउटै घरदैलो भएकाले धेरै गाडी देखिएको भन्दै बचाउ गरे । दुईवटा टोलका सभापतिसमेत रहेका उनले भने, ‘मास बढाउनलाई होइन, समय छोटो भएका यसो गर्नु परेको हो ।’

चितवनका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापा चाहिँ हरेक उम्मेदवारलाई दुई वटा गाडीमा मात्रै चुनावी प्रचार गर्ने अनुमति भएको बताउँछन् ।

स्कुल चोकबाट निस्किएको कार्यकर्ताको गाडीका लस्कर चोक–चोक घुमिरह्यो । पौडेल निकै बेरसम्म देखिएनन् । दिउँसो २ बजेतिर पिठुवा चोकमा कोणसभा गर्ने तयारी भए पनि उम्मेदवार पौडेल आइनपुग्दा त्यो सुरु हुनै पाएन ।

त्यहीँ भेटिएका ६० वर्षीय स्थानीयवासी लोकेन्द्र श्रेष्ठले एमाले उम्मेदवार पाण्डेले गाउँमा थाहा हुने खाल्को केही काम नगरेको बताए । यसपालि निकै सोचविचार गरेर मात्र मत दिने उनले बताए ।

७७ वर्षका पदमप्रसाद आमगाईंले चितवन १ मा कांग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पर्धा भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पनि आफूले नियालिरहेको बताए । यो क्षेत्रमा घन्टी चुनाव चिह्न लिएर रास्वपाका हरि ढकाल उम्मेदवार छन् । ढकाल पिठुवा क्षेत्रकै वासिन्दा हुन् ।

‘पहिलेकाले केही गरेनन्, केही देखेको छैन’, उनले भने, ‘कांग्रेस उम्मेदवार पनि राम्रो मान्छे भन्छन्, देखेको छैन ।’ घरदैलो टोली अगाडि बढ्यो । अझै आधा घन्टाजतिपछि कांग्रेस उम्मेदवार पौडेल बल्लतल्ल पिठुवा चोकमा देखिए ।

चोकको एक पसलमा छिरेर नमस्कार गर्दै माला लगाए । र, गाडी चढिहाले । भन्न त कांग्रेसले घरदैलो गर्ने भनेको थियो । ब्यानरमा पनि त्यही लेखिएको थियो । तर उम्मेदवार पौडेल चाहिँ मतदाताको घरको दैलोसम्म देखिएनन् ।

गाडीको पछाडि बसेर हात हल्लाउँदै नजरमा मात्रै परेर हिँडरहे । झण्डै पाँच किलोमिटरजति हिँडेपछि घरदैलो टोली मिलिजुली चोकमा अडियो । त्यहीँ गाडी रोकेर सुरु भयो कोणसभा ।

कोणसभामा पौडेलले पश्चिम चितवनको विकास भए तर पूर्वी चितवन पछि परेको सुनाए । एमाले उम्मेदवारसमेत रहेका पूर्वसांसद सुरेन्द्र पाण्डेले आफ्नो घर भएको क्षेत्रतिर मात्र विकास गरेको उनको संकेत थियो ।

टिकौली जंगलभन्दा पूर्वको विकासको जिम्मा अब आफूले लिने बताउँदै उनले आफू योजना आयोगको उपाध्यक्ष हुँदा पाण्डे एकपटक पनि आयोग नआएको बताए । बरु आफूले उपाध्यक्ष हुँदा चितवन–१ को विकासका लागि बजेट पठाएको सुनाए ।

पौडेललाई विपक्षीले चितवन–१ का लागि पौडेल ‘टुरिष्ट’ भएको आरोप लगाउँछन् । तर, उनले त्यहीँको माटोमा हुर्के बढेर बढेको तथ्य छोपेर भ्रम फैलाउन खोजिएको भन्दै यस्ता आरोपहरुको प्रतिवाद गरे ।

चितवन निर्वाचन क्षेत्र नं. १ मा ४२ वटा वडा छन् । सबैभन्दा धेरै वडा भएको निर्वाचन क्षेत्र भएकोले उम्मेदवारहरुलाई सबै ठाउँ पुग्न भ्याइनभ्याई हुने कांग्रेस कार्यकर्ताहरु सुनाउँछन् ।

एक जना कांग्रेस नेताका अनुसार पार्टीभित्र टिकटका विषयमा देखिएको किचलो र बागी व्यवस्थापनको प्रयासले पौडेललाई केही समय त्यतै व्यस्त बनायो । दुईपटकसम्म उम्मेदवारी दिएर एमालेसँग पराजित नेता राजेन्द्र बुर्लाकोटीले बागी उम्मेदवारी दिएपछि तनाव झेलेका पौडेलले उनको उम्मेदवार फिर्ता गराउन पनि राम्रै मेहनत गराउनुपर्‍यो ।

उनले बुर्लाकोटीलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासमक्ष भेटाएपछि बल्ल उनी उम्मेदवारी फिर्ता लिन तयार भएका थिए । पौडेल पार्टीको आन्तरिक किचलोमा व्यस्त हुँदा उनका प्रतिस्पर्धी एमाले उम्मेवार सुरेन्द्र पाण्डे चाहिँ उम्मेदवारी दर्ता लगत्तै घरघर हिँड्न थालिसकेका थिए ।

डा. पौडेलको उम्मेदवारी पछि पूर्वी चितवनको कांग्रेसमा देखिएको विवाद केही तहसम्म हल भएको नेताहरुको दाबी छ । तर, कांग्रेसभित्रको मनोविज्ञान त्यस्तो देखिँदैन । स्थानीय तहको टिकट वितरणदेखि संघ र प्रदेशको निर्वाचनमा देउवा पक्षीय व्यक्ति नै धेरै हाबी भएको उनीहरुको विश्लेषण छ ।

क्षेत्र नं. १ मा पर्ने रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकामा कांग्रेसका देउवा पक्षीय उम्मेदवारले टिकट पाएर जिते । सोही निर्वाचन क्षेत्रको राप्ती नगरपालिकामा देउवा पक्षकै उपमेयरले टिकट पाए र जिते । यसपालिको टिकट वितरणमा पनि यस्तै भएकमो उनीहरुको आरोप छ ।

डा. पौडेलले चाहिँ गठबन्धनको मत जोगाउँदा मात्रै पनि जित सहज हुने हिसाब देखिरहेका छन् । पार्टी भित्रको विवाद करिब समाधान भएकाले जित निकाल्न सहज भएको घरदैलोमा भेटिएका पौडेलले बताए । ‘पार्टी भित्रको विवाद मिलिसक्यो, अब समस्या छैन, गठबन्धनका नेताहरु पनि लाग्नुभएकै छ’ उनले भने, ‘अब चुनाव जित्ने निश्चित जस्तै छ ।’

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?