+
+

युएईविरुद्धको शृंखला नामिबिया जानुअघि अवसरः प्रशिक्षक प्रभाकर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक २७ गते १७:४४

२७ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरणले युएईसँगको आसन्न तीन एकदिवशीय खेलको शृंखला नाभिविया भ्रमणअघि तयारीको उच्च अवसर भएको बताएका छन् ।

सोमबारदेखि सुरु हुने एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअघिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक प्रभाकरले विश्वकप खेलेर फर्किएको युएई टिमसँग खेल्न पाउनु लिग टू को शृंखला खेलिरहेको नेपाली टिमका लागि फाइदाजनक रहेको बताए ।

उनले भने, ‘युएईविरुद्ध हामीले पहिला पनि खेलेका छौं । उनीहरु अनुभवी छन् । हामीलाई नामिविया भ्रमणअघि तयारी गर्ने राम्रो अवसर मिलेको छ ।’

प्रशिक्षक प्रभाकरले आफ्नो टिम हरेक दिन सुधार हुँदै गएकोमा खुसी व्यक्त गरेका छन् । युएईसँग खेल्ने अवसर र चुनौति दुवै रहेको उनको भनाई छ । ‘युएईसँग घरेलु मैद्यानमा खेल्नु चुनौति र अवसर दुवै हो । हामीसँग युवा खेलाडीको बाहुल्यता छ । हरेक दिन सुधार हुँदै गइरहेको छ । राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको छु,’ प्रभाकरले पत्रकार सम्मेलनमा भने ।

युएईका प्रशिक्षक रोविन सिंहले विश्वकपमा सुपर १२ मा पुग्न नसके पनि आफ्नो टिमको प्रदर्शनबाट पूर्ण सन्तुष्टि व्यक्त गरे । युवा र अनुभवी खेलाडीको मिश्रित टिमले नेपालसँगको शृंखलाबाट अनुभव दिने उनले बताए । ‘हामी के गर्ने त्यसमा आत्मविश्वासी छु । आशा छ हाम्रो टिमले राम्रो प्रदर्शन गर्नेछ,’ उनले भने ।

युएई टिमको नेतृत्व सिपी रिजवनले नै गर्नेछन् । युएईले उनकै कप्तानीले हालै विश्वकप खेलेको थियो । टिममा रोहन मुस्तफाले पुनरागमन गरेका छन् । चिराग सुरी, कार्तिक मेरियाप्पनलगायतका खेलाडी भने यो टिममा छैनन् ।

युएई कप्तान रिजवनले नेपालमा आएर खेल्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘नेपालसँग हामीले पहिला पनि यहाँ खेलेका छौं । नेपालमा क्रिकेट क्रेज भेरै छ । समर्थकको हौसला पनि राम्रो छ ।’ उनले नवनियुक्त नेपाली कप्तान रोहितकुमार पौडेलको पनि प्रशंशा गरे ।

नेपाल क्रिकेट संघ क्यानका जनरल म्यानेजर विनोद दासले नेपाल र युएईबीचको खेलर्ला आईसीसीले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता दिएको बताए । ‘लिग टू जानुअघि हामी अभ्यास म्याचको खोजीमा थियौं । यस शृंखला लिग टु का लागि राम्रो तयारी हुनेछ,’ उनले भने ।

नेपालका् राष्ट्रिय टिमले युएईसँग त्रिवि मैदानमा तीन एकदिवशीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्नेछ । नेपालले पहिलो खेल कात्तिक २८ गते, दोस्रो खेल ३० गते र तेस्रो खेल मंसिर २ गते खेलिनेछ । शृंखलाका लागि युएई टिम शनिबार राती नै नेपाल आइसकेको छ ।

कप्तान सन्दीप लामिछानेलाई फौजदारी अभियोग लागेपछि नेपाल क्रिकेट संघले यो शृंखलादेखि नेपालको कप्तानका रुपमा रोहित कुमार पौडेललाई नियुक्त गरेको छ । आधिकारिक कप्तानका रुपमा रोहितको यो पहिलो शृंखला हुनेछ । यसअघि केन्या भ्रमणका क्रममा एकदिवशीय शृंखलामा उनले कप्तानी गरेका थिए ।

नेपाली कप्तान रोहितले घरेलु वातावरण र दर्शकको साथले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेका छन् । ‘भर्खरै पीएम कप सकिएको छ । सबै खेलाडीहरु लयमा छन् र हामी यो शृंखलाका लागि तयार छौं,’ पत्रकार सम्मेलनमा रोहितले भने, ‘सबैलाई थाहा छ हामीसँग स्ट्राइक बलरको कमी छ । यसो हुँदा अरु बलरले जिम्मेबारी लिनेछन् । नामिविया जानु अघि योृ हाम्रो लागि राम्रो अवसर हो ।’

कप्तान रोहितले नयाँ जिम्मेवारीलाई चुनौतिका रुपमा भन्दा अवसरका रुपमा लिएको बताए । ‘दवावभन्दा पनि दायित्व थपिएको छ । आफैंलाई प्रमाणित गर्ने अवसर हो ।युएईजस्तो टिमविरुद्ध हाम्रो टिम पनि सन्तुलित छ ।’

नेपालले युएईसँग झण्डै चार वर्षपछि दुईदेशीय शृंखला खेल्न लागेको हो । यसअघि २०१९ जनवरी÷ फेब्रुअरीमा नेपालले युएईमा गएर तीन एकदिवशीय अन्तर्राष्ट्रिय र तीन टी–२० अन्तर्राष्ट्रिय खेलको शृेंखला खेलेको थियो ।

सिक्सर सिरिज नाम दिइएको यो शृंखलामा हरेक खेलको म्यान अफ द म्याचले २० हजार तथा म्यान अफ द सिरिजले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्रिवि मैदानमा गएर नेपाल र युएईबीचको खेल हेर्ने दर्शकका लागि टिकटको मूल्य २०० निर्धारण गरिएको छ ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?