+
+

महालक्ष्मी उपाध्याय डिना : पराजयको ह्याट्रिकमाथि जितको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १०:२५

नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिना चौथो पटक मकवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्दैछिन् । यसपटक गठबन्धनको बलमा चुनाव जित्नेमा उनी ढुक्क देखिन्छिन् । यसअघि उनी २०४८, २०५१ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-२ बाट पराजित भएकी थिइन् ।

पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट अनुमोदित हुन निर्वाचनमा उठेको उनी बताउँछिन् । ‘समानुपातिकबाट सहजै सांसद हुने निश्चित थियो’ उनी भन्छिन्, ‘तर म जनताबाटै अनुमोदित भएर काम गर्न चाहन्छु ।’

२०२१ सालमा चितवनमा जन्मिएकी डिनाको परिवार नै राजनीतिक थियो । उनी जन्मिंदा हजुरबुवा उदयनाथ अधिकारी देशद्रोहको मुद्दामा चितवनको जेलमा थिए । प्रजातन्त्र पुनर्स्थापनाको संघर्षमा लाग्दा पटक-पटक गरेर १२ वर्ष जेल बसेका अधिकारी नेपाली कांग्रेसको चितवन जिल्ला सभापति पनि थिए ।

डिनाका बुवा, दाइ, दिदी सबै कांग्रेसको राजनीतिमा संलग्न थिए । उनी पनि जन्मजात कांग्रेस बनिन् । २०३९ मा काठमाडौं, बागबजारको पद्मकन्या क्याम्पसमा भर्ना भएपछि उनी खुलेरै नेविसंघको राजनीतिमा लागिन् । २०४२ को सत्याग्रह आन्दोलनका क्रममा शैलजा आचार्यसँगै ७ महिना जेल परिन् ।

२०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी डिना त्यसपछि २०४७ देखि २०५७ सालसम्म नेपाल महिला संघ, मकवानपुर सभापति रहिन् ।

२०५९ सालमा पार्टी विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य भइन् । एकीकृत कांग्रेस पार्टीको चौधौं महाधिवेशनबाट उनी सह-महामन्त्रीमा विजयी भइन् । २०६४ र २०७० सालको संविधानसभामा उनी समानुपातिकतर्फबाट सभासद रहिन् । २०६४ मा उनी जलस्रोत राज्यमन्त्री पनि भइन् ।

प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो आमनिर्वाचन (२०४८) मा नै डिनाले मकवानपुर-२ मा टिकट पाएर नेकपा (एमाले)का विरोध खतिवडासँग पराजित भइन् । २०५१ र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनै खतिवडासँग हारिन् ।

गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा मकवानपुर-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेकपा (एमाले) अगाडि छ । एमालेले ३८ हजार ५६, कांग्रेसले ३४ हजार ७२, नेकपा (माओवादी केन्द्र)ले १६ हजार ५६२ र नेकपा (एकीकृत समाजवादी)ले ३ हजार २८३ मत पाएका छन् । कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलहरूको मत एमालेको भन्दा निकै बढी हुन्छ ।

सहमतिअनुसारै गठबन्धनको भोट साझा उम्मेदवारमा गए डिनाले चौथो प्रयासमा मकवानपुरबाट पहिलो जित निकाल्न सक्ने देखिन्छ । त्यसकारण, गठबन्धनको मत जोगाउनु उनका लागि चुनौती र मौका दुवै भएको छ ।

डिनाको लागि अर्को अनुकूलता के छ भने एमालेको असन्तुष्ट समूहलाई रिझाएर आफ्नो मत बढाउने । उनका मुख्य प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापा छन् । उनी एमालेको समर्थनमा सूर्य चुनाव चिहृन लिएर उठेका छन् । यसमा मकवानपुर एमाले खुशी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?