+
+
ब्लग :

अन्धोपन निवारणको लागि मधुमेह शिक्षा

दिपककुमार साह/जुनू श्रेष्ठ दिपककुमार साह/जुनू श्रेष्ठ
२०७९ कात्तिक २८ गते १३:५५
फाइल तस्वीर

‘विश्व मधुमेह दिवस २०२२: सुरक्षाका लागि शिक्षा’ नारा दिई यस वर्ष पनि नोभेम्बर महिनाको १४ तारिख (आजै) का दिन विश्वभर विश्व मधुमेह दिवस मनाइँदैछ।

विश्वमा बढ्दै गएको मधुमेह भएका व्यक्तिको सङ्ख्यालाई मध्यनजर गरी जनचेतना फैलाउने उद्देश्यले सन् १९९१ देखि विश्व स्वास्थ्य संगठन र इन्टरनेशनल डाइबेटिज फेडेरेसनले संयुक्त रूपमा यो दिवस मनाउन सुरुवात गरेको हो। मधुमेह रोगको भविष्यमा हुनसक्ने जटिलता निवारण गर्न आजै यससम्बन्धी शिक्षा प्रदान गर्न जरुरी छ भन्ने विषयलाई यस वर्षको नाराले उजागर गर्न खोजेको छ।

मधुमेह एक नसर्ने रोग हो जसमा रगतमा (ग्लुकोज) चिनीको मात्रा सामान्य भन्दा बढी अवस्थामा हुने गर्दछ। यो रोग लागेपछि सामान्यत: जीवनभर रहिरहन्छ। मधुमेह पूरा निको नहुने रोग भए पनि ठिक प्रकारको खानपान र व्यवहारबाट रगतमा चिनीको मात्रालाई ठिक र सन्तुलित राख्न सकिन्छ।

दिपककुमार साह र जुनू श्रेष्ठ

पछिल्लो अनुसन्धानको आधारमा विश्वमा ५० करोडभन्दा बढी मानिस मधुमेह रोगबाट ग्रसित छन्। यसमध्ये आधाभन्दा बढी मानिसमा यसको अझै निदान भइनसकेको अनुसन्धानले देखाउँछ। जसले गर्दा यी मानिसलाई मधुमेह रोगको जटिलताको उच्च जोखिम हुने गर्दछ।

नेपालमा शहरी क्षेत्रमा बसोबास गर्ने ४० वर्षभन्दा माथिका मानिसहरूमा १९ प्रतिशतमा मधुमेह रोग लागेको र ग्रामीण क्षेत्रमा बसोबास गर्ने सोही उमेरका मानिसहरूमा २.५ प्रतिशतमा लागेको अनुसन्धानले देखाएको छ।

रगतमा चिनीको मात्रा अनियन्त्रित रूपमा धेरै समयसम्म बढ्नाले शरीरका विभिन्न प्रणाली तथा अङ्गमा यसले गम्भीर क्षति पुर्‍याउँदछ। यसका प्रमुख जटिलताहरूमा हृदयघात, स्ट्रोक, मिर्गौलामा समस्या, अन्धोपना तथा नसामा क्षति हुन्। सन् २०२१ मा मधुमेह रोग विश्वव्यापी मृत्युको प्रमुख कारक मध्ये रहेको थियो। २०३० सम्ममा लगभग १४ करोडले वृद्धि हुने प्रक्षेपण गरिएको छ।

रगतमा चिनीको मात्रा निरन्तर रूपमा बढी हुँदा आँखाका पर्दाको स-साना रगतका नलीहरूमा यसले असर गर्दछ। नलीहरू कमजोर भई फुट्छन् र पर्दामा रक्तश्राव हुन्छ जसले गर्दा आँखाको दृष्टि-पर्दा सुन्निन्छ।

यसै विषयलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व स्वास्थ्य सम्मेलनमा मधुमेह सम्बन्धी पाँच वटा लक्ष्यहरू पारित गरेको छ भने नेपाललगायत सम्पूर्ण सदस्य राष्ट्रहरूले ती लक्ष्यहरूलाई सन् २०३० सम्म हासिल गर्ने प्रतिबद्धता जारी गरेका छन्।

मधुमेहले आँखामा डाइबेटिक रेटिनोप्याथी भन्ने रोग गराउँछ। रगतमा चिनीको मात्रा निरन्तर रूपमा बढी हुँदा आँखाका पर्दाको स-साना रगतका नलीहरूमा यसले असर गर्दछ। नलीहरू कमजोर भई फुट्छन् र पर्दामा रक्तश्राव हुन्छ जसले गर्दा आँखाको दृष्टि–पर्दा सुन्निन्छ। यसरी रक्तश्राव र पर्दा सुन्निने लामो समयसम्म हुँदै जाँदा पनि उपचार नभएमा आँखाको दृष्टिमा कमि आउने अर्थात् आँखा धमिलो हुन्छ र अन्तत: पर्दा नै फाटी अन्धोपन हुन सक्दछ।

नेपालमा मधुमेह भएका एक तिहाइ मानिसमा आँखाको पर्दामा कुनै न कुनै किसिमको असर भएको देखिन्छ। धेरै जस्तो अवस्थामा यसको निदान ढिलो हुने गर्दछ। पर्दामा असर भइसकेको र दृष्टिमा कमी आएपछि मात्रै धेरै जसो मानिस स्वास्थ्य संस्थामा पुग्ने गर्दछन्।

सुरुवाती चरणमा नै यसको निदान भई उपचार हुनसके भविष्यमा हुनसक्ने दृष्टिमा कमी र अन्धोपनलाई निवारण गर्न सकिन्छ। यसको लागि मधुमेह भएका व्यक्तिहरूले नियमित रूपमा आँखाको विस्तृत परीक्षण गर्नुपर्दछ। विस्तृत परीक्षण भन्नाले चश्माको मात्र जाँच नभई आँखाको नानी फुलाई पर्दाको परीक्षण गराउनुपर्दछ।

मधुमेह भएका व्यक्तिहरूमा रगतमा चिनीको मात्रा सन्तुलित राख्न स्व-हेरचाह धेरै महत्वपूर्ण हुन्छ। यसका लागि मधुमेह रोगको बारेमा शिक्षा महत्वपूर्ण सहायक हो। यस रोगको सफल प्रवर्धन, निवारण र रोकथामका लागि हरेक व्यक्तिमा मधुमेह रोगको शिक्षामा निरन्तर पहुँच हुन जरुरी छ।

साह नेपाल दृष्टि विशेषज्ञ संघका महासचिव हुन् भने श्रेष्ठ एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेशमा पोलिसी एण्ड एड्भोकेसी म्यानेजरका रूपमा कार्यरत छिन् । लेखकद्वय दृष्टि विशेषज्ञ तथा जनस्वास्थ्य विज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?