+
+

नामिबिया जानुअघि परीक्षण गर्दै नेपाली क्रिकेट टिम

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक २९ गते १०:१८

२९ कात्तिक, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार रोहित कुमार पौडेलले युएई विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा कप्तानी डेब्यु गरे ।

तर घरेलु मैदान र केही हजार घरेलु समर्थकको अगाडि नेपालले सुखद नतिजा ल्याउन सकेन ।

तीन खेलको शृखंलाको पहिलो खेलमा नेपाल युएईसँग ८४ रनको फराकिलो अन्तरले पराजित भयो । जितपछि युएईले शृंखलामा अग्रता बनायो ।

रोहित मात्र होइन युएईका सीपी रिजवानले पनि ओडीआईमा कप्तानी डेब्यु यसै खेलबाट गरे । उनले अष्ट्रेलियामा भर्खरै सम्पन्न टी-२० विश्वकपमा युएईको कप्तानी गरेका थिए ।

तर डेब्युमा रोहितको प्रदर्शन बिर्सनलायक रह्यो । रोहित १ रनमै आउट भए । युएईका कप्तान रिजवान पनि २ रनमै आउट भए । तर उनको टिमले खेल जित्यो ।

नामिबियाको लागि तयारी

रोहितको ओडीआई कप्तानी डेब्युमा व्यक्तिगत र टिमको प्रदर्शन दुवै सुखद भएन । उनले पावर प्ले मै सुरुवाती ३ विकेट झर्नु हारको मुख्य कारण रहेको प्रतिक्रिया दिए । ४ विकेट गइसकेपछि अर्जुन र दीपेन्द्रको साझेदारीले नेपालको आशा देखाए पनि उनीहरु आउट भएपछि नेपालको जित्ने सम्भावना टाढिएको थियो ।

यस्तै पावर प्लेमा पनि नेपालले युएईको विकेट झार्न सकेन । टस जितेर फिल्डिङ रोजेको नेपालले पावर प्लेलाई कन्डिसन अनुसार सही प्रयोग गर्न नसकेको रोहितको भनाइ थियो ।

रोहित पौडेल ।

ब्याटिङ अर्डरमा परिवर्तन गर्नु, कुशललाई सातौं नम्बरमा पठाउनु, आरिफलाई बेञ्जमा राख्नु, ललितलाई एक्लो स्पीनर खेलाउनु सबै प्रयोग भएको उनले बताए ।

नामिबियामा अर्को महिला लिग टु खेल्नुअघि राम्रो कम्बिनेसन मिलाउनका लागि युएई विरुद्धको तीन खेलमा सबैलाई अवसर दिएर हेर्ने नेपालको रणनीति रहेको रोहितले बताए ।

युएईका कप्तान रिजावन भने कप्तानको रुपमा ओडीआईमा पहिलो जितपछि खुशी देखिए । नेपालको समर्थक अगाडि खेल्नु पाउँदा उनी झन् खुशी थिए । आफ्नो टिमको ब्याटिङको प्रशंसा गर्दै उनले ब्याटिङको यही लय अर्को खेलमा पनि कायम राख्नुपर्नेमा जोड दिए । युएईका प्रशिक्षक रोविन सिंहले चाँडै विकेट लिन सक्नु फाइदा भएको बताए ।

डेब्युमा आयनको स्पीन जादु

खेलमा कूल तीन अर्धशतक बने । नेपालका फ्यान फेभरेट रोहन मुस्ताफाले युएई टिममा पुनरागमन गर्दै अर्धशतक प्रहार गरे ।

नेपालको तर्फबाट ओडीआईमा डेब्यु गरेका विकेटकिपर ब्याटर अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । युएईले दिएको २६४ रनको लक्ष्य पूरा गर्न पर्याप्त भएन । दीपेन्द्रको ५४ र अर्जुनको ५१ रन मद्दतमा नेपालले ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

खेलको असली नायक भने युएईका युवा स्पीनर आयन अफ्जल खान बने । उनले १० ओभरमा ४ मेडन राख्दै जम्मा १२ रन खर्चेर ४ विकेट लिए । अष्ट्रेलियामा टी-२० विश्वकप खेल्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाएर आएको उनले पनि यही खेलबाटै ओडीआईमा डेब्यु गरे । आफ्नो स्पीनबाट नेपाली ब्याटिङ धराशयी पारे ।

म्यान अफ दि म्याच आयनले डेब्युमा ४ विकेट लिँदा खुशी लागेको बताए । उनले ५ विकेट लिने लक्ष्य पूरा हुन नसकेको र अर्को खेलमा प्रयास गर्ने बताए ।

आयनले नेपालका आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कप्तान रोहितदेखि यसै खेलबाट पुनरागमन गरेका कुशल भुर्तेलको पनि विकेट लिए । नेपालका चार राम्रा ब्याटरको विकेट लिएका उनी डेब्युमै म्यान अफ द म्याच बने ।

आयनले मंगलबार आफ्नो १७औं जन्मदिन मनाउँदैछन् र उनले आफ्नो जन्मिदनअघि राम्रो उपहार समेत पाए । आयनसँगै ३४ वर्षिय पेस बलर हज्रत बिलाले पनि युएईका लागि डेब्यु गरे ।

नेपालका लागि अर्जुनसँगै अलराउण्डर हरि शंकर शाहले डेब्यु गरे । तर हरिशंकरले डेब्युमा ८ रन मात्र बनाउन सके भने बलिङमा ५ ओभरमा २६ रन खर्चे तर विकेट लिन सकेनन् ।

यसै खेलबाट नेपालको टिममा पुनरागमन गरेका कुशल भुर्तेल सातौं नम्बरमा ब्याटिङ गर्दै ६ रन बनाएर आउट भए । स्पीनर ललित राजवंशीले पनि पुनरागमन गरे । ललितले बलिङमा १० ओभरमा १ मेडन राख्दै ३६ रन खर्चिए भने विकेट लिन सकेनन् । ब्याटिङमा ६ रनमा अविजित रहे ।

यस्तै पुनरागमन गर्ने अर्का खेलाडी गुलशन झाको लागि भने राम्रो रह्यो । उनले बलिङमा ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । उनले युएईका शीर्ष ब्याटरलाई एकै ओभरमा आउट गरेका थिए । ब्याटिङमा नेपालले पूरै ओभर खेल्नुमा गुलशनकै ऐमिका रह्यो । ३४ बल खेल्दै १९ रनमा अविजित रहेका उनले १ चौका र १ छक्का प्रहार गरे । नेपाली इनिङ्समा उनी छक्का प्रहार गर्ने एक्लो खेलाडी रह्यो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?